News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।
- अमेरिकाले घरेलु मैदान र युवा प्रतिभाको साथ समूह चरण पार गर्ने लक्ष्य राखेको छ।
- टर्कीले २००२ पछि पहिलोपटक विश्वकप खेल्दै समूहमा अप्रत्याशित चुनौती बन्न सक्छ।
२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ लाई विश्वकप २०२६ को सन्तुलित र अप्रत्याशित नतिजा आउन सक्ने समूहका रूपमा हेरिएको छ ।
उत्तर अमेरिका, दक्षिण अमेरिका, ओसिनिया र युरोपका चार फरक शैलीका टोली एउटै समूहमा हुँदा प्रतिस्पर्धा झन् रोचक बन्ने देखिन्छ ।
घरेलु समर्थकको साथ पाएको अमेरिका, अनुशासित खेल प्रदर्शन गर्ने पाराग्वे, शारीरिक रूपमा बलियो अस्ट्रेलिया र रणनीतिक रूपमा परिपक्व टर्की बीचको भिडन्तले समूहलाई खुला बनाएको छ ।
समूह ‘डी’ मा रहेका टिमहरू कस्ता छन् हेरौं ।
अमेरिका
आयोजक राष्ट्रमध्ये एक भएकाले अमेरिकाले स्वतः विश्वकपमा स्थान बनाएको हो । घरेलु मैदान र ठूलो समर्थक आधार यसको प्रमुख शक्ति हो ।
पछिल्ला वर्षमा युवा प्रतिभाको विकास र युरोपेली लिगमा खेल्ने खेलाडीहरूको उपस्थितिले टोलीलाई बलियो बनाएको छ । आक्रामक र तीव्र खेल शैली यसको विशेषता हो ।
पहिलो संस्करणको विश्वकपमै तेस्रो भएको अमेरिकाले त्यसयता भने त्यो स्तरसम्म पुग्न सकेको छैन । यसपटक पनि अमेरिकाको लक्ष्य समूह चरण पार गर्दै अगाडि बढ्ने हुनेछ ।
उत्कृष्ट नतिजा– तेस्रो स्थान (१९३०), अन्तिम सहभागिता– २०२२
पाराग्वे
दक्षिण अमेरिकी छनोटबाट कठिन प्रतिस्पर्धा पार गर्दै पाराग्वेले विश्वकपमा स्थान बनाएको हो । पाराग्वेले १६ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गर्दै छ ।
अनुशासित र रक्षात्मक रूपमा बलियो खेल यसको पहिचान हो । टोलीमा अनुभवी खेलाडीको उपस्थिति भए पनि आक्रमणमा स्थिरता खोजिरहेको देखिन्छ ।
यद्यपी कठिन समूहमा अंक लिन सक्ने क्षमता पाराग्वेसँग छ । सन् २०१० मा क्वाटरफाइनलसम्म पुगेको पाराग्वे सोही किसिमको नतिजाको खोजीमा हुनेछ ।
उत्कृष्ट नतिजा– क्वार्टरफाइनल (२०१०), अन्तिम सहभागिता– २०१०
अस्ट्रेलिया
ओसिनिया/एसियाली क्षेत्रको छनोट पार गर्दै अस्ट्रेलियाले लगातार विश्वकप यात्रा कायम राखेको हो । शारीरिक रूपमा बलियो र निरन्तर दबाब दिने खेल यसको मुख्य विशेषता हो ।
ठूलो प्रतियोगिताको अनुभवले टोलीलाई आत्मविश्वासी बनाएको छ । समूहमा अपसेट गर्न सक्ने क्षमता अस्ट्रेलियासँग सधैं रहने गर्छ ।
उत्कृष्ट नतिजा– अन्तिम १६ (२००६, २०२२), अन्तिम सहभागिता– २०२२
टर्की
युरोपेली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै टर्कीले विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् १९५४ मा पहिलोपटक विश्वकप खेलेको टर्कीले त्यसपछि सिधै सन् २००२ मा खेलेको थियो ।
२००२ को विश्वकपमा तेस्रो भएको टर्कीले त्यसयता पहिलोपटक खेल्दैछ । समग्रमा टर्कीको तेस्रो विश्वकप भएपनि टर्की ‘अन्डरडग’ टिमका रूपमा रहन्छ ।
आक्रामक सोच, युवा ऊर्जा र भावनात्मक खेल यसको विशेषता हो । टोलीमा प्रतिभाशाली खेलाडीहरूको उपस्थिति छ, जसले कुनै पनि खेलको नतिजा बदल्न सक्छ ।
निरन्तरता कायम गर्न सके टर्की समूहको प्रमुख चुनौती बन्न सक्छ ।
उत्कृष्ट नतिजा– तेस्रो स्थान (२००२), अन्तिम सहभागिता– २००२
प्रतिक्रिया 4