१ जेठ, धनगढी । कैलालीमा नेपाली कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयविरुद्ध उभिएको छ ।
जिल्ला सभापति नारायणदत्त भट्टसहितका नेताहरूले क्रियाशिल सदस्यता अद्यावधिक गर्ने कुरा औचित्यहीन रहेको भन्दै त्यसको विपक्षमा उभिएका छन् ।
सदस्यता अद्यावधिक अभियानका क्रममा केन्द्रीय कार्यसमितिले जगतप्रसाद जोशीलाई कैलाली खटाएको छ । उनले शुक्रबार कैलालीका नेतासँग छलफल गर्न बैठक बोलाएका थिए । तर, सभापति भट्टसहितका नेताले छलफल अस्वीकार गरे ।
त्यसपछि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडालको अध्यक्षतामा बैठक बस्न नेताहरू दिउँसो पार्टी कार्यालय पुगेका थिए । तर, पार्टी सभापति भट्टको निर्देशनमा कार्यालय सचिव प्रयागराज जोशी पार्टी कार्यालय नै बन्द गरेर हिँडेका छन् ।
सभापति गगन थापाको पक्षमा खुलेका नेताहरूले जिल्ला सभापति भट्टको निर्देशनमा कार्यालयमा तालाबन्दी गरिएको आरोप लगाएका छन् । पार्टी कार्यालय बन्द गरिएपछि क्षेत्रीय सभापतिको अध्यक्षतामा धनगढीको एक होटलमा बैठक बसेको छ ।
‘पार्टी कार्यालय जिल्ला सभापतिको मात्रै बिर्ता हो र ? सभापतिबाहेकले त्यहाँ बैठक बस्न नपाउने, प्रवेश नै नपाउने हो ?,’ क्षेत्रीय सभापति पडालले भने, ‘यो सभापतिको अराजकता र गैरजिम्मेवारी हो ।’
कार्यालय नखुलेपछि उनको अध्यक्षतामा बाहिरै बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै नेता तथा तल्लो कार्यसमितिसँग समन्वय गर्ने निर्णय गरेको छ । ‘सदस्यता अद्यावधिक गर्ने विषयमा वडा समितिहरूले समय पर्याप्त भएन भनेका छन्,’ पडालले भने, ‘त्यसैले आजको बैठकले तल्ला कार्यसमिति र नेताहरूसँग समन्वय र परामर्श गर्ने निर्णय गरेको छ ।’
जिल्ला सभापति भट्टले भने, आफूले पार्टी कार्यालय बन्द गर्न कुनै पनि निर्देशन नदिएको बताउँदै कार्यालय सचिव बाहिर भएकाले नखुलेको हुनसक्ने बताए ।
‘पार्टी कार्यालय मेरो व्यक्तिगत सम्पत्ति होइन । त्यो सबैको साझा हो । एक दिन बन्द गरेर समस्याको समाधान हुन्छ र ?,’ भट्टले भने, ‘कार्यालय खोल्ने, बन्द गर्ने काम सभापति पनि होइन होला । खोल्ने मान्छे बाहिर गएर भएको हुनसक्छ । आज बन्द भएपनि सोमबार खोल्नुपर्ला नी ।’
१५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेकाले अहिले त्यसको औचित्य नभएको उनले बताए । सभापति थापा महामन्त्री भएका बेला अनलाइनमार्फत क्रियाशील सदस्यता भर्ने काम भइसकेको बताउँदै उनले अहिले ‘अद्यावधिक गर्नैपर्ने कारण के हो ?’ भन्दै प्रतिप्रश्न गरे ।
‘त्यसैले सदस्यता अद्यावधिकको औचित्य छैन । १५औँ महाधिवेशनका लागि यसअघि नै नवीकरण भइसकेको छ । फेरि अद्यावधिक गर्नैपर्ने समस्या के आइलाग्यो ?’, उनले भने ।
२६ वैशाखमा धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेलाई जिम्मेवारीबाट बाहिर राख्ने चेतावनी दिएका थिए । तर, कैलालीका सभापति भट्ट नै अद्यावधिकको विपक्षमा उभिएका छन् ।
स्रोतकाअनुसार सभापति भट्टसहित सुदूरपश्चिमका देउवा पक्षीय नेताहरूले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कुरा औचित्यहीन भएको भन्दै त्यसविरुद्ध सामूहिक निर्णय गरेका थिए । कैलाली सभापति भट्टले सोही निर्णयअनुसार अद्यावधिक नगर्ने नीति लिएको नेताहरू बताउँछन् ।
प्रतिक्रिया 4