News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले चैत ११ गते निलम्बन गरेको अखिल नेपाल फुटबल संघको निलम्बन १ जेठमा फुकुवा गरेको छ।
- सरकार, फिफा र एन्फाबीच छलफलपछि निलम्बन फुकुवा गरिएको हो जसले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बचाएको छ।
- निलम्बनका कारण रोकिएका प्रतियोगिता एन्फाले छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथि निलम्बन फुकुवा गरेको छ । ‘अर्ली इलेक्सन’ गर्न तम्सिएपछि चैत ११ गते राखेपले एन्फालाई निलम्बन गरेको थियो ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेप सदस्य सचिव रामचरित्र मेहता र एन्फा महासचिव किरण राईसहितको टोलीको छलफलपछि राखेप निलम्बन फुकुवा गर्न तयार भएको हो । सदस्य सचिव मेहताले नेपाली फुटबलको हितका लागि सरकारले फुकुवा गर्ने निर्णय गरेको बताए ।
राखेपले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियन फुटबल महासंघ (एएफसी) र एन्फासँग निलम्बनका विषयमा भर्चुअल छलफल गरेको थियो । उक्त छलफलमा ठोस निर्णय हुन नसकेपछि राखेपले भौतिक रूपमै संयुक्त बैठक डाक्न एन्फालाई प्रस्ताव गरेको थियो ।
तर, निलम्बन फुकुवा गरेपछि मात्रै बैठक राख्ने अडान एन्फाले लिएपछि राखेप उक्त निर्णयमा पुगेको हो । यसले फिफाबाट नेपाल प्रतिबन्धमा पर्ने खतरासमेत टरेको छ । यसअघि फिफाले निलम्बन फुकुवा नगरे प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको थियो ।
‘निलम्बन फुकुवा भएन भने फिफा-एएफसीसँग वार्ता नै नहुने भयो । निलम्बन भएको बेला त वार्तामा बस्न नमिल्ने रैछ । अब साफ च्याम्पियनसिप पनि छ । यी सबै विषयलाई हेरेर सरकारले फुकुवा गरेको हो,’ सदस्य सचिव मेहताले भने ।
एन्फा प्रवक्ता सुरेश शाहले सरकार र फिफासँग छलफल गरी समझदारी गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए । ‘हाम्रो भर्चुअल मिटिङ पछाडि फिफाको आफ्नो कन्सर्न थियो नेपालको विषयलाई लिएर । त्यो बैठकमा भएको छलफल र फिफाले दिएको सुझावलाई समेट्दै अब सरकार, फिफा र एन्फा बसेर यो सबै विषयमा कसरी अगाडि जान सकिन्छ,’ उनले भने ।
राज्य र फिफाको नियम फरक हुँदा पनि अप्ठेरो पर्ने गरेको प्रवक्ता शाहले बताए । ‘हामीलाई बाध्यता के छ भने राष्ट्रिय स्तरमा राज्यको नियम मान्नुपर्छ भने अन्तर्राष्ट्रिय स्तरमा फिफाको नियम मान्नुपर्छ,’ उनले भने, ‘राज्य र फिफाबिच कतिपय जुधेका बुँदाहरु छन् । कसरी समेट्ने भन्नेबारेमा एकपटक छलफल गरेर निर्वाचन लगायत सबै विषय अगाडि बढाउँछौं ।’
निलम्बनको करिब २ महिना नेपाली फुटबल करिब शुन्यजस्तै भयो । एन्फा निलम्बन र विवादले महिला टोलीले थाइल्यान्डमा भएको फिफा सिरिज गुमाउन पुगे । घरेलु मैदानमा हुने हङकङसँगको मैत्रीपूर्ण खेलसमेत नेपाली खेलाडीले खेल्न पाएनन् । यस्तै स्थगित भएका एन्फा पुरुष तथा महिला लिगसमेत अलपत्र परे ।
रोकिएका प्रतियोगिता र आगामी गतिविधिबारे छलफल गरेर अगाडि बढ्ने शाहले प्रतिबद्धता जनाए । ‘पहिलो चरणमा त साफ छ । साफमा नेपाली टिम कसरी विजयी हुन सक्छ त्यो रणनीतिमा काम गर्छाैं,’ उनी भन्छन्, ‘रोकिएको प्रतियोगिताहरु छन् । त्यो विषयमा छलफल तथा समिक्षा गरेर निर्णय लिन्छौं ।’
राखेपले एन्फालाई पटकपटक अर्ली इलेक्सन स्थगित गरी तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, निर्देशनको अवज्ञा गरेपछि राखेपले निर्वाचनको २ दिनअघि चैत ११ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।
त्यसपछि पनि एन्फा नेतृत्व निर्वाचन गर्ने अड्डी कस्दै झापा पुग्यो । अन्तिम समयमा एन्फाले निर्वाचन स्थगित गरी फर्किएको थियो । स्रोतकाअनुसार बिना सर्त भनिएपछि मौखिक रूपमा तहगत निर्वाचन गर्ने समझदारीका साथ राखेपले फुकुवा गरेको हो ।
‘सत्ताभोगी नभई फुटबलको विकासमा लाग्नुपर्छ’
नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा अब एन्फा नेतृत्व संयमित भएर फुटबलका हितमा लाग्नुपर्ने बताउँछन् । ‘रोकिएका प्रतियोगिताहरू छन् । कुन ढंगबाट लिएर जाने, हाम्रो रणनैतिक योजना के हुन्छ, नेपाली फुटबल कस्तो अवस्था जान्छ भन्ने कुराको योजना बनाउनुपर्छ जस्तो लाग्छ,’ उनी भन्छन् ।
सत्ताभोगी नभई फुटबलको विकासमा लाग्न लामाको सुझाव छ । उनी भन्छन्, ‘सत्ताभोगी कुराभन्दा पनि फुटबल विकासतर्फ कसरी दिगोपनामा जाने भन्ने कुराहरूलाई प्रमुख प्राथमिकतामा राख्यो भने व्यवस्थापकीय हिसाबमा सुध्रिएर काम गर्न सकिन्छ ।’
प्रतिक्रिया 4