+
+
Shares

पोखराबाट पहिलो पटक भारत उडान : मध्य प्रदेशका शम्भुलाई जहाजमा लगियो

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा श्री एयरलाइन्सको यो चार्टर उडान तय भएको हो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ जेठ ५ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारततर्फ सिधा उडान भएको छ, जहाँ बिरामी भारतीय नागरिकलाई मेडिकल चार्टरमार्फत भारत लगिएको हो।
  • भारतको मध्य प्रदेशका केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहान र बिरामी परिवारको समन्वयमा श्री एयरलाइन्सको जहाजले भोपालका लागि उडान भरेको छ।
  • पोखरा विमानस्थलबाट भारततर्फ उडान अनुमति पहिलोपटक बिरामी उद्धारका लागि दिइएको हो र यसले भविष्यमा थप उडानका लागि सहजता ल्याउने विश्वास गरिएको छ।

५ जेठ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारततर्फ सिधा उडान भएको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका भारतको मध्य प्रदेश, भोपालका गोपाल शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत भारत लगिएको हो ।

आइतबार मुक्तिनाथबाट फर्किँदा मुटु र फोक्सोमा समस्या देखिएपछि उनलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार डा. राज बस्नेत र सरोज अर्यालसहितको स्वास्थ्यकर्मीको टोली लिएर श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा भोपालका लागि उडान भरेको हो । उक्त जहाज भारतको राजा भोज विमानस्थलमा अवतरण गर्नेछ ।

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा श्री एयरलाइन्सको यो चार्टर उडान तय भएको हो । मुक्तिनाथ दर्शनका लागि आएका श्रीवास्तव मन्त्री चौहाननिकट रहेका कारण उच्चस्तरको समन्वयमा जहाजमार्फत भारत लैजाने अनुमति प्राप्त भएको प्रबन्ध निर्देशक पोखरेलले बताए । चौहान सन् २०२४ को लोकसभा निर्वाचनपछि भारतको संघीय मन्त्रिपरिषद्‌मा कृषिमन्त्री छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार पोखराबाट भारतका लागि उडान भएको यो पहिलो पटक हो । १७ पुस २०७९ मा उद्घाटन भएको यस विमानस्थलबाट यसअघि चीन र भुटानलगायतका देशमा चार्टर उडान भइसकेका छन् ।

विमानस्थल निर्माण सम्पन्न हुनुपूर्वदेखि नै पोखराबाट सिधा उडानका लागि भारतसँग छलफल भए पनि भारतले अनुमति दिएको थिएन । प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको भारत भ्रमणका क्रममा पोखरा विमानस्थलबाट उडानको एजेन्डाले प्राथमिकता पाउने गरे पनि भारत यसमा सकारात्मक बनेको थिएन ।

भारतीय नागरिक बिरामी पर्दा उद्धारकै रूपमा भए पनि पहिलो पटक पोखराबाट भारततर्फ जहाज उड्नुलाई विमानस्थल प्रशासनले अर्थपूर्ण रूपमा हेरेको छ । प्रमुख निरौलाले बिरामीकै कारण भए पनि भारततर्फ उडानको ढोका खुलेको र यसले भोलिका दिनमा थप समन्वयका लागि सहजता ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

२०७२ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निर्णय हुँदा र पछि शिलान्यास हुँदा पोखरावासीमा ठूलो उत्साह थियो । तर, भूराजनीतिक चपेटा र प्रभावकारी कूटनीतिक पहलको अभावमा उद्घाटनको लामो समयसम्म पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

चीनको ऋण लगानीमा निर्माण भएका कारण भारतले यहाँबाट हुने उडानलाई अनुमति नदिएको कतिपय जानकारहरूको विश्लेषण रहँदै आएको छ । सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच विमानस्थल निर्माणको सम्झौता भएको थियो ।

त्यसपछि सन् २०१६ मा नेपाल सरकार र चाइना एक्जिम बैङ्कबीच २१६ मिलियन अमेरिकी डलर ऋण लिने र सीएएमसीले ‘टर्न की प्रोजेक्ट’ का रूपमा निर्माण गर्ने सहमति भएको थियो ।

२२ अर्ब लगानी भएको भनिएको यो विमानस्थल अहिले भ्रष्टाचारको दलदलमा रहेको चर्चा छ भने धमाधम मुद्दा दायर पनि भइरहेका छन् । विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र भूराजनीतिक मारका कारण अहिलेसम्म नियमित उडान हुन नसकेकोमा पहिलो पटक एक भारतीय नागरिक बिरामी परेको अवस्थामा चार्टर उडान सम्भव भएको हो ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?