News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको अर्जुनधारा नगरपालिकामा २९ वर्षीया काजल बस्नेत सुवेदीको हत्या आराेपमा २४ वर्षीय किरण गौतम पक्राउ परेका छन्।
- दुवै जना मदिरा सेवन गरिरहेका थिए र विवादका क्रममा गौतमले काजललाई धक्का दिएका थिए जसबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
- काजललाई उपचारका लागि अस्पताल पुर्याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
५ जेठ, विराटनगर । झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको हत्या भएको छ । हत्या आराेपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८, कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलनजिकैको खुल्ला चौरमा साेमबार स्थानीय २९ वर्षीया काजल बस्नेत सुवेदीकाे हत्या आराेपमा अर्जुनधारा–५ कन्चनबारी बस्ने २४ वर्षीय किरण गौतम पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार दुवै जना चाैरमा मदिरा सेवन गरि बसेका थिए । साेही अवस्थामा दुई जनाबीच विवाद भएको थियो । विवादका क्रममा गौतमले काजललाई धक्का दिएका थिए । धक्काका कारण भुइँमा लडेकी काजलको टाउकोमा गम्भीर चोट लागेको थियो ।
टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी काजललाई स्थानीयले फेला पारी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याएका थिए । बी एण्ड सीबाट थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियाे । उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै रहेका पुरुषलाई प्रहरीले साेही दिन पक्राउ गरेकाे हाे ।
मृतक काजलका श्रीमान् यामबहादुर बस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । आराेपीमाथि म्याद थप गरेर अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4