News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण भारतमै महत्वपूर्ण मिटिङका कारण सरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभयो।
- मिश्रीको भ्रमण सरे पनि नेपाल र भारतबीच सिंचाई, बाढी व्यवस्थापन र रासायनिक मल खरिदमा संवाद जारी रहेको मन्त्री खनालले बताउनुभयो।
- नेपालले भारतबाट झण्डै ८० हजार मेट्रिकटन रासायनिक मल खरिद प्रक्रियामा रहेको र कृषि सामग्री कम्पनी संलग्न रहेको जानकारी दिइएको छ।
६ जेठ, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण सरेको विषय संसदीय समितिमा उठेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्धत तथा पर्यटन समितिको बैठकमा यो विषय उठेको हो ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिन मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अन्तिम समयमा सरेको हो ।
मिश्रीको भारतमै महत्वपूर्ण मिटिङ भएपछि भ्रमण सारिएको जानकारी भारतले नेपाललाई पठाएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।
‘उहाँ केही आफ्नो आन्तरिक, भारतमै विभिन्न खाले मिटिङहरूमा… पछिल्लो समय केही महत्वपूर्ण मिटिङहरू इन्डियामा भएको कारणले गर्दा पोस्टपोन्ड भएको भन्ने जानकारी परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको छ,’ मन्त्री खनालले भने ।
उक्त कारण नेपाल भारत संवादमा कुनै असर नगरेको पनि मन्त्री खनालले बताएका छन् ।
उनका अनुसार पछिल्लो हप्ताभित्र नेपाल र भारतले सिंचाईसँग सम्बन्धित महत्त्वपूर्ण मिटिङहरू गरेका छन् । बाढीसँग सम्बन्धित रहेर पनि संवाद भएको छ ।
‘खोलामा बाढी आउँदा खेरि त्यस (समस्या)को त्यो सँग सम्बन्धित डेटा सरीको विषयहरूमा पनि उर्जा र परराष्ट्रमन्त्री मिलेर उता (भारत)को कानुन पक्षसँग राम्रो संवाद भएर सहकार्यहरू भइराखेका छन्,’ खनालले भने ।
यसबाहेक भारतसँग रासायनिक मल खरिद लगायतका विषयमा संवाद भइराखेको उनले जानकारी दिए ।
उनका अनुसार भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ ।
‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ’ उनले भने ।
उनका अनुसार खरिद प्रक्रियामा कृषि सामग्री कम्पनी संलग्न छ ।
प्रतिक्रिया 4