News Summary
Generated by OK AI. Editorially reviewed.- गर्मीमा कार्बोनेटेड पेय पदार्थले तुरुन्त ऊर्जा दिन्छ तर डिहाइड्रेसन र पाचन समस्याहरू निम्त्याउन सक्छ।
- प्याकेट बन्द जुसमा उच्च चिनी र प्रशोधित सामग्रीले मोटोपना र फ्याटी कलेजोको जोखिम बढाउँछ।
- गर्मीमा ताजा फलफूल, दही, र प्रशस्त पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
अब दिनदिनै गर्मी बढ्दै छ । गर्मी मौसमसँगै तुरुन्त चिसो अनुभव गराउने विभिन्न प्रकारका पेय पदार्थको बिक्री तथा प्रयोग ह्वात्तै बढ्ने गर्छ । खाना, खाजाको समयमा होस् या कतै यात्रा गर्दा, हामी बजारमा पाइने विभिन्न खालका पेय पदार्थहरू सेवन गरी गर्मी कम गर्ने प्रयास गर्छौं ।
कतै जाँदा कोसेसी लैजान वा घरमा पाहुना आउँदा पनि यही खालका पेय पदार्थले स्वागत गर्ने प्रचलन पनि उत्तिकै छ । विशेष गरी गर्मीको समयमा बालबालिकाहरूले यस खालका पेयहरू धेरै खाने गर्छन् ।
कार्बोनेट ड्रिङ्क्स, एनर्जी ड्रिङ्क्स, प्याकेट बन्द जुस, आइसक्रिम आदि गर्मीबाट राहत पाउनका लागि धेरै प्रयोग हुने गर्छ । तर तुरुन्तै शीतलता प्रदान यस्ता चीजहरू वास्तवमा स्वास्थ्यका लागि भने लाभदायक हुँदैनन् । यस खालका खानेकुराहरूले डिहाइड्रेसन, पाचन समस्याहरू, मोटोपना र मधुमेहको जोखिम बढाउँछन् ।
गर्मीमा खाइने यी खाने कुराबारे हाम्रो सोचाइ र वास्तविकताबारे के भिन्नता छ त ?
कार्बोनेटेड पेय पदार्थ
हामीलाई के लाग्छ ?
–तुरुन्तै ऊर्जा र स्फूर्ति प्रदान गर्दछ।
–गर्मीमा शीतल महसुस हुन्छ ।
– तिर्खा मेटाउँछ।
वास्तवमा के हुन्छ ?
–रगतमा चिनी तुरुन्तै बढ्छ र इन्सुलिन छिटो निस्कन्छ।
–यसले केही समयपछि ऊर्जा घटाउँछ र थकान निम्त्याउन सक्छ।
–क्याफिनको मात्राले डिहाइड्रेसन निम्त्याउन सक्छ ।
–यिनमा हुने कार्बन डाइअक्साइड ग्यासले पेट फुल्ने, डकार आउने जस्ता समस्या हुन सक्छ ।
–उच्च चिनी र क्याफिनले शरीरको इलेक्ट्रोलाइट सन्तुलनलाई असर गर्न सक्छ।
फलफूलको फ्लेभर भएका चिनीयुक्त पेय पदार्थ
हामीलाई के लाग्छ ?
–स्वस्थ र स्वादिष्ट पेय पदार्थ।
–ऊर्जा बढाउँछ।
–पोसिलो हुन्छ ।
–शरीरमा पानीको मात्रा पूर्ति गर्छ ।
वास्तवमा के हुन्छ ?
–तिनीहरूमा पाइने कृत्रिम स्वाद र रङहरूले शरीरमा रासायनिक भार बढाउन सक्छ।
–अत्यधिक चिनी र प्रशोधित सामग्रीहरूले कलेजोमा अतिरिक्त दबाब दिन सक्छन्।
–रगतमा चिनीको मात्रा छिटो बढाउँछ, जसले इन्सुलिन स्पाइक र बोसो भण्डारण बढाउन सक्छ।
–लामो समयसम्म, यसले मोटोपना, इन्सुलिन प्रतिरोध र अन्य चयापचय विकारहरूको जोखिम बढाउँछ।
चिसो सोडापानी
हामीलाई के लाग्छ ?
–यसले पेटलाई हल्का राख्नेछ।
–तुरुन्तै शीतलता प्रदान गर्नेछ।
–गर्मीबाट राहत प्रदान गर्नेछ।
–पाचन सुधार गर्नेछ ।
–भारीपन हटाउनेछ ।
–तिर्खा मज्जाले मेटिनेछ ।
वास्तवमा के हुन्छ ?
–कार्बन डाइअक्साइड ग्यासले पेट फुल्ने समस्या बढाउन सक्छ।
–यसले एसिडिटी र रिफ्लक्स बढाउँछ।
–बारम्बार सेवन गर्नाले पाचन इन्जाइमहरूको सन्तुलन बिग्रन सक्छ।
–खनिज अवशोषण (जस्तै क्याल्सियम) प्रभावित हुन सक्छ।
–केही क्षण राहत मिल्छ तर पछि असुविधा हुन सक्छ ।
प्याकेट बन्द जुसहरू
हामीलाई के लाग्छ ?
–यो फलफूलबाट बनेको हो त्यसैले यो स्वस्थ छ।
–यसले पौष्टिक तत्व प्रदान गर्दछ ।
–यो बच्चाहरूका लागि राम्रो विकल्प हो ।
–यसले स्फूर्ति प्रदान गर्छ।
वास्तवमा के हुन्छ ?
–यसमा उच्च मात्रामा अतिरिक्त चिनी हुन्छ, जसले यसलाई उच्च-क्यालोरी पेय बनाउँछ ।
–उच्च चिनीको मात्राले रगतमा चिनी छिटो बढ्न सक्छ ।
–संरक्षक र अल्ट्राप्रोसेसिङले पोषक तत्वहरू कम गर्छ ।
–अत्यधिक सेवनले फ्याटी कलेजो र मोटोपनको जोखिम बढाउँछ।
आइसक्रिम
हामीलाई के लाग्छ ?
–शरीरलाई तुरुन्तै शीतल बनाउँछ ।
–गर्मीबाट तुरुन्तै राहत प्रदान गर्दछ ।
–मुड सुधार गर्छ ।
–बालबालिकाका लागि सुरक्षित उपचार ।
वास्तवमा के हुन्छ ?
–रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्न सक्छ ।
–उच्च चिनी र संतृप्त बोसोले क्यालोरी ओभरलोड निम्त्याउन सक्छ ।
–यसले मोटोपनको जोखिम बढाउँछ ।
–यसले घाँटीको भित्री सुरक्षात्मक तहलाई असर गर्न सक्छ
–घाँटी दुख्ने र संक्रमणको जोखिम बढाउँछ ।
–उच्च बोसो र चिनीको मात्राले पाचन प्रक्रियालाई ढिलो बनाउन सक्छ।
फरफ मिलाइएको पानी
हामीलाई के लाग्छ ?
–तिर्खा चाँडै मेटाउँछ ।
–गर्मीबाट तुरुन्तै राहत प्रदान गर्दछ ।
–चिसो पानी पिउँदा पानीको मात्रा छिटो पूर्ति हुन्छ ।
–पसिना कम आउँछ ।
–थकान कम हुन्छ ।
वास्तवमा के हुन्छ ?
–शरीरको मुख्य तापक्रम प्रभावित हुन्छ । यसलाई सन्तुलनमा राख्न शरीरले थप मेहनत गर्नुपर्छ।
–धेरै चिसो पानीले पेटका रक्तनलीहरूलाई साँघुरो पार्न सक्छ
–पाचन प्रक्रियालाई ढिलो बनाउँछ ।
–घाँटी दुख्ने र संक्रमण हुने जस्ता समस्या हुनु सक्छ ।
त्यसो भए हामीले गर्मीमा शीतलता र पानीको मात्रा पूर्तिका लागि के खाने त ?
साँच्चै शीतल पार्ने खाना त्यो हो जसले शरीरको आन्तरिक तापक्रम सन्तुलन गर्छ, पाचनलाई समर्थन गर्छ र पर्याप्त हाइड्रेसन प्रदान गर्छ । कुनै उद्योगमा प्रशोधन गरी बनाइएका खानेकुरा नभई हाम्रै वरपर रहेका ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।
हाम्रो वरिपरि उब्जाउ हुने पानीले भरिपूर्ण र हल्का खानेकुराले शरीरलाई भित्रबाट शीतल राख्छ र शरीरमा पानीको मात्रा कम हुनबाट जोगाउँछ ।
शीतलताका लागि कस्ता खानेकुरा राम्रो हुन्छन् ?
–दही, मोही, बटर मिल्क
–कागती पानी, सर्वत, बेलको सर्वत
–नरिवल पानी, पुदिना मिसाइएको पानी
–खर्बुजा, तर्बुजा, काँक्रो तथा पानीले भरिएका अन्य ताजा फलफलहरू
यससँगै प्रशस्त पानी पिउनु त जरूरी छ । सामान्यतया, एक वयस्क व्यक्तिले दिनमा २.५ लिटरदेखि ३.५ लिटरसम्म पानी पिउनुपर्छ । यो मात्रा मौसम, व्यायाम, व्यक्तिको शरीर र स्वास्थ्य अवस्था अनुसार फरक हुन सक्छ।
प्रतिक्रिया 4