९ जेठ, काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ ।
पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ ।
सेमिफाइनल सम्भावना बलियो बनाउन नेपालले किर्गिस्तानलाई हराउनुपर्नेछ ।
पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले ३ अंक जोडेको छ । समूह ए मा किर्गिस्तान ३ अंकसहित शीर्ष स्थानमा छ । भारतको २ र नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ ।
नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । त्यसअघि समूह ए मा रहेका भारत र माल्दिभ्सबीच दिउँसो साढे २ बजे खेल हुनेछ ।
नयाँ कप्तान निरुता ठगुन्नाको कप्तानीमा नेपालले भारतविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेपनि अन्तिम सेटमा पुगेर पराजित भएको थियो । उक्त खेलमा नेपालका ५ युवा खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतसँगको खेलपछि अब बाँकी दुवै खेल जितेर सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताएका थिए ।
आजै १२ बजे समूह बी मा रहेको काजाखस्तान र श्रीलंकाबीच खेल हुनेछ । खुवैले च्याम्पियनसिपमा आफ्नो पहिलो खेल खेल्दैछन् ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अन्तर्गत नेपाल भलिबलको संघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिपमा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागिता छ ।
यो च्याम्पियनसिपको विजेता महिला एसिया कपमा छनोट हुने नेपाल भलिबल संघले जनाएको छ ।
च्याम्पियनसिपका खेलहरू हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया 4