+

क्यान्सरका अत्यावश्यक औषधि अभाव : तत्काल गर्नुपर्ने ४ काम

२०८३ जेठ  ९ गते १५:०५ २०८३ जेठ ९ गते १५:०५
Shares
क्यान्सरका अत्यावश्यक औषधि अभाव : तत्काल गर्नुपर्ने ४ काम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा क्यान्सर बिरामीका लागि अत्यावश्यक किमोथेरापी औषधि \'कार्बोप्लाटिन\' र \'सिस्प्लाटिन\' को चरम अभाव देखिएको छ।
  • औषधि अभावका कारण देशभरका सयौँ क्यान्सर बिरामीहरूको उपचार प्रक्रिया रोकिएको छ र जीवन जोखिममा परेको छ।

प्रत्येक नागरिकले आफनो स्वास्थ्य उपचार गर्न पाउनु नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार हो । अहिले नेपालमा क्यान्सर जस्तो घातक रोगसँग लडिरहेका सयौँ बिरामीका लागि यो अधिकार केवल कागजमा सीमित हुन पुगेको छ ।

विगत केही समयदेखि देशैभरिका सरकारी तथा निजी क्यान्सर केयर सेन्टरहरूमा अत्यन्तै अत्यावश्यक एवं आधारभूत किमोथेरापी औषधिहरू ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ को चरम अभाव देखिएको छ ।

यो केवल एक प्राविधिक समस्या मात्र होइन, हजारौँ नेपाली नागरिकहरूको जीवन र मरणको गम्भीर सवाल हो । यस्तो संवेदनशील घडीमा कसैलाई दोषारोपण गर्नुभन्दा पनि राज्य, नियमनकारी निकाय र औषधि व्यवसायीहरू सबै मिलेर यसको तत्काल र दिगो समाधान खोज्नु आजको मुख्य आवश्यकता हो ।

रोकियो किमोथेरापीको चक्र : जोखिममा बिरामी

क्यान्सरको उपचारमा ‘किमोथेरापी चक्र’ को तालिका सही हुनु निकै आवश्यक छ । निश्चित अन्तरालमा दिनुपर्ने औषधि समयमा नपाउँदा क्यान्सरका कोषहरू पुनः सक्रिय हुन सक्छन् । रोग फैलिने र बिरामीको ज्यान नै जोखिममा पर्ने खतरा रहन्छ।

अहिले कार्बोप्लाटिन र सिस्प्लाटिन जस्ता जीवनरक्षक औषधिको अभावका कारण देशभरका सयौँ बिरामीहरूको उपचार प्रक्रिया रोकिन पुगेको छ ।

एउटा त क्यान्सर आफैँमा पीडादायी रोग, त्यसमाथि समयमा औषधि नपाएर आफ्ना मान्छेहरू मृत्युको मुखमा धकेलिँदै गरेको हेर्नुपर्दा परिवारजनमा पर्ने आघात झन पीडादायी हुन्छ । औषधिको खोजीमा भौँतारिनुपर्ने यो बाध्यतालाई राज्यले तत्काल महसुस गर्नुपर्छ ।

यो अवस्थामा कसको जिम्मेवारी के ?

यतिबेला बजारमा देखिएको यो संकट केवल एउटा निकायको कमजोरी मात्र होइन । क्यान्सरका अधिकांश औषधिहरू आयातमा निर्भर रहने हुनाले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, भन्सार प्रक्रिया र स्थानीय वितरण प्रणालीमा कतै न कतै ठूलो खाडल देखिएको छ ।

यो संकट समाधानका लागि राज्यका अंगहरू मात्र होइन, निजी क्षेत्र, चिकित्सक र नागरिक समाज सबै एक ठाउँमा उभिनु आवश्यक छ ।

स्वास्थ्य मन्त्रालय

नेतृत्वदायी भूमिका खेल्दै यसलाई राष्ट्रिय स्वास्थ्य संकटका रूपमा लिएर आकस्मिक नीतिगत निर्णय गर्नुपर्छ।

औषधि व्यवस्था विभाग

औषधि आयातका कानुनी अड्चनहरूलाई पन्छाउँदै द्रुत मार्गबाट औषधि भित्र्याउने वातावरण बनाउनुपर्छ ।

नेपाल मेडिकल र फार्मेसी काउन्सिल

चिकित्सक र फर्मासिस्टहरूको समन्वयमार्फत उपलब्ध औषधिहरूको न्यायोचित वितरण र वैकल्पिक उपचार पद्धतिका बारेमा अस्पतालहरूलाई मार्गनिर्देशन गर्नुपर्छ।

औषधि व्यवसायी तथा आयातकर्ता

व्यावसायिक नाफा-घाटा भन्दा माथि उठेर, मानवीय संवेदनालाई आत्मसाथ गर्दै औषधिको आयात र आपूर्तिलाई सहज बनाउन आफ्नो सम्पूर्ण सञ्जाल परिचालन गर्नुपर्छ ।

समस्या समाधानका लागि तत्काल के गर्न सकिन्छ  ?

१. संकटकालीन आयात

छिमेकी मुलुकहरू वा अन्तर्राष्ट्रिय बजारबाट सोझै वा विशेष अनमुति अन्तर्गत कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिहरू हवाई मार्ग वा स्थल मार्गबाट तत्कालै नेपाल भित्र्याउने व्यवस्था गरियोस्।

२. अस्पतालहरूबीच समन्वय र पारदर्शी वितरण

देशका कुन अस्पतालमा कति औषधि मौज्याद छ वा कहाँ बढी अभाव छ भन्ने कुराको केन्द्रीय अनुगमन गरी उपलब्ध औषधिलाई आवश्यकताका आधारमा समानुपातिक ढंगले वितरण गरियोस्।

३. कालोबजारी र कृत्रिम अभावको कडा निगरानी

अभावको फाइदा उठाई हुन सक्ने सम्भावित कालोबजारी, मिसावट वा बढी मूल्य असुल्ने कार्यलाई रोक्न औषधि पसल तथा वितरकहरूको कडा र नियमित अनुगमन गरियोस् ।

४. भविष्यका लागि ‘बफर स्टक’ को नीति

आगामी दिनमा यस्ता अत्यावश्यक र जीवनरक्षक औषधिहरूको अभाव कहिल्यै हुन नदिन राज्यले निश्चित परिमाणमा ‘क्राइसिस बफर स्टक’ सुरक्षित राख्ने स्थायी नीतिगत व्यवस्था लागू गरोस् ।

नागरिक बचाउन सबै मिल्नैपर्छ

क्यान्सरसँग लडिरहेका बिरामीहरूसँग पर्खिने समय हुँदैन । उनीहरूका लागि एक-एक दिन, एक-एक घण्टा र एक-एक किमोको डोज अमूल्य हुन्छ । यो संवेदनशील घडीमा कसैको गल्ती कोट्याउनुभन्दा पनि हामी सबै मिलेर हाम्रा दाजुभाइ, दिदीबहिनीको ज्यान बचाउनुपर्छ भन्ने सामूहिक भावना जागृत हुन जरुरी छ ।

स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, चिकित्सक, औषधि व्यवसायी र सरोकारवाला सम्पूर्ण संयन्त्र एकजुट भएर यो मानवीय संकटको निवारणमा लाग्नुहुनेछ भन्ने हाम्रो बलियो विश्वास छ । कृपया क्यान्सरको शय्याबाट उठिरहेको यो संवेदनशील आवाजलाई चाँडो भन्दा चाँडो सम्बोधन गरियोस् ।

औषधि क्यान्सर
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका अत्यावश्यक औषधि अभाव : तत्काल गर्नुपर्ने ४ काम

क्यान्सरका अत्यावश्यक औषधि अभाव : तत्काल गर्नुपर्ने ४ काम

नवजात शिशु एकदम ठीक देखिन्छ, तैपनि किन गरिन्छ ‘न्यूबर्न स्क्रिनिङ ?’

नवजात शिशु एकदम ठीक देखिन्छ, तैपनि किन गरिन्छ ‘न्यूबर्न स्क्रिनिङ ?’

तल्लो पेट लगातार दुख्नु कतै ‘पीआईडी’को समस्या त होइन ?

तल्लो पेट लगातार दुख्नु कतै ‘पीआईडी’को समस्या त होइन ?

गर्मीमा धेरै पिइने यी पेय पदार्थहरू :  न साँच्चै शीतलता दिन्छन्, न स्वस्थ हुन्छ

गर्मीमा धेरै पिइने यी पेय पदार्थहरू :  न साँच्चै शीतलता दिन्छन्, न स्वस्थ हुन्छ

असुरक्षित गर्भपतन : कतै समाजिक बाध्यता त होइन ?

असुरक्षित गर्भपतन : कतै समाजिक बाध्यता त होइन ?

कस्तो पौष्टिक तत्त्व हो बायोटिन  ? यस कारण चाहिन्छ हाम्रो शरीरलाई

कस्तो पौष्टिक तत्त्व हो बायोटिन ? यस कारण चाहिन्छ हाम्रो शरीरलाई