+
+
Shares
विचार :

रविले थामेसम्म टिक्ने हो !

नेपाली सुशासन, विकास र शान्तिको आशा गरेर बसेका छन्। सरकारले काम गर्दा प्रजातान्त्रिक विधि अवलम्बन गरोस्। सिस्टम बनाओस् भन्ने हो हाम्रो भनाइ। तर प्रधानमन्त्रीको व्यवहारले प्रजातन्त्र उदास देखिन्छ र रास्वपा निरीह।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८३ जेठ १० गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनका चेपाङहरूले आफ्नो संस्कृति र पर्यावरण संरक्षणका लागि इच्छाकामना गाउँपालिकालाई 'चेपाङ, चमेरा र चिउरी संरक्षण क्षेत्र' घोषणा गर्न माग गरेका छन्।
  • कालिका नगरपालिकाका कृषकहरूले आफ्नो क्षेत्रलाई 'केरा उत्पादनको पकेट एरिया' घोषणा गर्न र कृषिभूमिको जथाभावी प्लटिङ रोक्न माग गरेका छन्।
  • भरतपुर महानगरपालिकामा नदी र खोलानालालाई प्रदूषणबाट बचाउन एकीकृत आधुनिक ढल निकास प्रणालीको विकास गर्न स्थानीयवासीले माग गरेका छन्।

वैशाख महिना। पालुवा लागेको हरियो वन। घर अगाडि वसन्ती उद्बोध गराउँदै फुलेका फूल। गाढा हरियो पातको लहलह मकैबारी। काला चिल्ला सडक। चितवनको सुन्दरता मनभरि पोखियो।

चितवन जिल्लामा प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्र छन्। किशोर, जयन्द्र र म तीन क्षेत्रका मतदाता। रवि लामिछानेको निर्वाचन क्षेत्र २ घुम्ने योजना बनाएर एक फन्को लगाउन निस्कियौँ।

दुई नम्बर क्षेत्र ४६८.४१ वर्ग किलोमिटरमा फैलिएको छ। इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वडा रहेका छन्। यहाँको जनसङ्ख्या २,६२,०५५ रहेको छ। घुम्दै हामी कुरिनटार इच्छाकामना गाउँपालिका अगाडिको चियापसलमा रोकियौँ। पालिकामा आएका सेवाग्राहीसँग निर्वाचन क्षेत्रमा पर्ने आवश्यक विकास सम्बन्धमा बुझ्न आफैँले कुरा उप्कायौँ।

‘हाम्रा प्रतिनिधि रवि हुन्। फिस्लिङबाट उपरदाङगढी, शक्तिखोर, खोलेसिमल हुँदै भरतपुर जाने ४५ किलोमिटरको बाटोमा पिच बन्छ। त्यसपछि मनकामनामा जस्तो इच्छाकामना देवीको दर्शन गर्ने दर्शनार्थीहरूको भिड लाग्छ। चेपाङ बस्ती हेर्न, चेपाङहरूले चलाएका होमस्टेमा खाने र सिराइचुलीमा रमाउने पर्यटकहरू आउँछन्। चिउरी र चमेरा हेर्छन्। चितवनको पहाडी पर्यटन व्यवसाय फस्टाउँछ,’ एक जना अधबैँसे युवाले आफ्ना आशाहरू छताछुल्ल पोखे।

‘हामीले पुराना दलहरूलाई छोडेर नयाँ चुनेको विकासको लागि हो, सर। चेपाङको आर्थिक अवस्था उठाउने जिम्मा पाँच वर्षका लागि हामीले रविलाई दिएका छौँ। उनले हाम्रो गरिबी हटाउने योजना ल्याउन सकेनन् भने त नयाँ र पुरानामा के फरक भयो?,’ चेपाङ जातिकी एक अगुवा महिलाले चेतावनीपूर्ण स्वरमा भनिन्।

‘सर, चेपाङहरूको सम्पत्ति चिउरीको रुख, चमेरा र चोनाम हो। चमेरा र चिउरीको संरक्षण सरकारले गरेन भने चेपाङ मासिन्छौँ। हाम्रा पुर्खाले ओडारमा जीवन बिताए। अहिले हाम्रा जग्गा हुनेखानेले कब्जा गर्दै छन्। हामीले चेपाङभूमि छोड्नुपर्ने हुन्छ। सरकारले इच्छाकामना गाउँपालिकालाई ‘चेपाङ, चमेरा र चिउरी संरक्षण क्षेत्र’ घोषणा गरोस्,’ एक जना वृद्ध चेपाङले चेपाङको समस्या र उपाय बताए।

मैले चारैतिर आँखा घुमाएँ। वरिपरि हाम्रा कुराहरू सुन्ने स्रोताहरू निकै झुम्मिएका थिए। चियाको चुस्कीसँगै मागलाई समर्थन गरेँ।

‘सर, मुग्लिन–काठमाडौँ, मुग्लिन–नारायणगढ बाटो ‘अनफिनिस्ड प्रोजेक्ट’ जस्तो भयो । सडक किनारमा घर हुने हामीहरूले भातभन्दा धेरै धुलो खाएका छौँ,’ हिराचन थकाली सडक छेउको यथार्थ बोलिरहेका थिए।

‘सडकको वारिपारि धेरैजसो ऐलानी जग्गामा पसलहरू खोलिएका छन्। हामीले अब यहाँबाट हट्नुपर्छ ?,’ सडक छेउमा पसल गर्दै आएका एक पसलेले चिन्ता प्रकट गरे।

‘देशभर नै सार्वजनिक जग्गा चाहे ऐलानी होस् वा नदीखोला किनार होस्, त्यो त छोड्नुपर्छ। सरकारको नीति हो,’ जयन्द्रले जवाफ दियो।

चिया पिइसकेर हामी मुग्लिन, गाईघाट हुँदै जुगेडी पुग्यौँ। भोक लागेको थियो। पसल अगाडि रोकियौँ। पसलमा स्थानीय बासिन्दाहरू टन्नै थिए। ‘रविजीलाई प्रतिनिधिसभाको निर्वाचनमा तेस्रो पटक जिताउनुभयो। रविजीले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँहरूलाई ?,’ किशोरले कुरा उप्कायो।

‘रवि त हाम्रा मात्र प्रतिनिधि होइनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुन्। चितवन वा चितवनको २ नम्बर क्षेत्र हेरेर मात्र हुन्छ र ? आफ्नो क्षेत्र मात्र हेर्‍यो भन्ने आरोप लाग्दैन ? रविले त सातै प्रदेश, ७५३ पालिका र ७७ जिल्ला हेर्नुपर्छ,’ रविका समर्थकले उदार भावना राखे।

प्रतिनिधिसभामा राष्ट्रपतिले नीति र कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँड्नु अनुशासनसँग मेल खाँदैन। सभामा उठेका प्रश्नहरूको जवाफ दिन सरकार प्रमुख नजानु उत्तरदायित्व र कर्तव्य विपरीत हुन्छ। संसदीय मर्यादा प्रतिकूल र सुशासनको बर्खिलाफ हो। नागरिकले सुशासन खोजेका छन्। नयाँ काम गर्ने भनेको गैरसंवैधानिक काम गर्ने भनेको त होइन नि।

‘आफ्नो निर्वाचन क्षेत्र नहेरे अर्को पटक चुनावमा कसले भोट देला नि ?,’ एक जना रास्वपाकी मतदाताले राय राखिन्।

‘सभापतिले पार्टीको काम हेर्नुपर्‍यो नि, बहिनी,’ एक जना सम्झाउन थाले।

‘प्रधानमन्त्री अर्कैले चड्काइहाल्यो,’ अर्कोले दिक्क मानेझैँ गरे।

‘हेर्नुस् सर, अब जुगेडी र देवघाटधामबीच आर्थिक सम्बन्ध स्थापित गर्नुपर्छ। अर्थमन्त्री देवघाटको, पार्टी सभापति जुगेडीको। त्यसपछि मात्रै रवि र स्वर्णिमलाई जिताएको अर्थ हुन्छ,’ रोजगारीको आशा गरेका एक युवकले आफ्नो भावना प्रकट गरे।

रविले आफ्नो निर्वाचन क्षेत्रको पैदल यात्रा गरे भने बल्ल आफ्ना मतदाताको यथार्थ माग र आवश्यकता बुझ्थे होलान्। केन्द्रको राजनीति र सरकारको गतिविधिले उनलाई गाँजेर राखेको छ। जुगेडी बसाइको बिट मार्दै हामी नारायणगढतिर लाग्यौँ।

नारायणगढ/भरतपुर प्राचीन शहर हो। बजार क्षेत्र र सरकारी कार्यालय भएकाले जनसङ्ख्या वृद्धिदर वार्षिक २.२५ प्रतिशतले भएको छ। एक दशकमा २६ प्रतिशत जनसङ्ख्या वृद्धि भएको देखिन्छ। यस निर्वाचन क्षेत्रको जनघनत्व ४६८ जना प्रति वर्गकिलोमिटर रहेको छ। यसले भरतपुर महानगरपालिकामा तीव्र शहरीकरण भइरहेको पुष्टि गर्छ- नेपथ्यबाट जानकारी आइरहेको थियो।

जयन्द्र ! महानगरपालिकामा पूर्वाधार बनाउँदै गर्दा आधुनिक ढल निकास प्रणाली स्थापना गर्नुपर्छ। शहरी विकाससँगै शहर सफा, स्वच्छ र सुन्दर बनाउन घरायसी फोहोर र पानी निष्कासनको व्यवस्थापन जरुरी भएको छ। नत्र नदी, खोलानाला प्रदूषित हुन्छन्।

नगर भित्रका खोलानाला तथा नदीलाई प्रदूषणबाट सुरक्षित राख्न र फोहोर पानीलाई शुद्धीकरण गरेर सिँचाइ गर्नको लागि भरतपुर महानगरपालिकामा एकीकृत आधुनिक ढल निकास प्रणाली विकास गर्न आवश्यक छ। यो उच्च लगानीको दीर्घकालीन आयोजना हुने भएकाले रवि लामिछानेको पहलमा ‘भरतपुर एकीकृत आधुनिक ढल निकास प्रणाली विकास राष्ट्रिय गौरव आयोजना’ विकास गर्नुपर्छ। अब सुरु नगरे ढिलो हुन्छ- मैले ढल प्रणालीको आवश्यकताबारे बताएँ।

‘तैँले रविलाई र सोबितालाई भेटेर भन् यो कुरा,’ किशोर र जयन्द्रले एकसाथ मलाई जिस्क्याए।

मैले रविलाई भेटेर भन्न चाहेको तर नसकेको जानकारी साथीहरूलाई दिएँ।

भरतपुरको अटाली रेस्टुरेन्टमा कफी पियौँ। त्यसपछि कालिका नगरपालिका हेर्दै-हेर्दै खोलेसिमल बजार पुग्यौँ। खोलेसिमलमा वीरेन्द्र क्याम्पस पढ्दाका साथी गोपी टुप्लुक्क भेट भए। कुराकानी भयो। भोक लाग्यो, खाजा खाऔँ भन्दै गोपीले एउटा रेस्टुरेन्टमा छिराए।

रेस्टुरेन्टमा केराको मात्र परिकार पाइने रहेछ। हामीले केराको मःम खायौँ। स्वादिलो, मुखै रसायो। फेरि थप्यौँ, केराको लस्सी उस्तै मिठो।

खाजा खाएर हामी केराबारी हेर्न गयौँ। कालिका नगरपालिकाको कृषिभूमिको ७० प्रतिशत भूमिमा केरा खेती लगाइएको रहेछ।

‘हाम्रो कालिका नगरपालिका कृषि उत्पादनको लागि चिनिन्छ। नगरपालिकाको केरा गुणस्तरीय छ। सरकारले कालिका नगरपालिकालाई ‘केरा उत्पादनको पकेट एरिया’ घोषणा गरेर कृषकलाई प्रोत्साहित गर्नुपर्छ,’ हामीले भेटेका किसानले आफ्नो अपेक्षा सुनाए।

‘कालिकामा केराको चिप्स बनाउने उद्योग र डेरी उत्पादन उद्योग खोल्न सके त रोजगारी पनि बढ्थ्यो। किसान पनि खुसी हुने थिए,’ जयन्द्रले तर्क राख्यो।

‘सरकारले कालिकालाई कृषि उत्पादन क्षेत्रको रूपमा विकास गर्न जोड दिनुपर्छ,’ अर्का किसानले थपे।

‘जग्गा-जमिनको जथाभावी प्लटिङ गरेर कृषिभूमि सिध्याउन लागे। ‘नो फार्मर नो फुड, नो फुड नो लाइफ’। कृषिभूमिलाई व्यावसायिक भूमिले कम्पेन्सेट गर्ने चलन रहेछ, अरू देशहरूमा। सरकारले छिट्टै कृषिभूमिको संरक्षण गरेन भने, ॐ नमो शिवाय,’ किसानको महत्त्व स्पष्ट गर्दै अर्का बोले।

कृषक त अन्नदाता हुन्। उनीहरूको संरक्षण र प्रोत्साहन गर्न सरकार चुक्नु हुँदैन। गोपीसँग बिदावारी भएर हामी खोलेसिमलबाट केराबारी र मकैबारी हेर्दै जुटपानीसम्म पुगेर नारायणगढ फर्कियौँ।

भोलिपल्ट, हाम्रो यात्रा नारायणगढबाट सुरु भयो। नारायणगढलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गरेर ‘आधुनिक सपिङ सेन्टर’ को रूपमा विकास गर्नुपर्छ। सपिङ सेन्टरले आर्थिक कारोबार बढाउँछ। यहाँका आकर्षक धार्मिक र पर्यटकीय स्थलहरू विकास गर्न सरकारले एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ। गफ गर्दै हामी नारायणी किनारको सौन्दर्यपान गर्न पुग्यौँ। लङ्कु हुँदै शिवघाट लाग्यौँ।

शिवघाटमा खासगरी नारायणी नदीको सौन्दर्य र जलकपुर माछाको मिठास मिसिएको छ। यो किनार नवयुवाका युगल जोडीको डेटिङ स्थलको केन्द्र बन्दै गएको छ। गफ गर्दै हामी ‘जलकपुर माछा रेस्टुरेन्ट’ मा छिर्‍यौँ। मान्छे खचाखच।

रेस्टुरेन्टभित्र गरमागरम राजनीतिक बहस भइरहेको रहेछ।

‘अहिले हाम्रो देशले युवा प्रधानमन्त्री बालेन पाएको छ। परिवर्तन र विकास गर्ने आँट भएको। सरकारी कार्यालयहरूमा काम छिटो हुन थालेको पनि छ। काठमाडौँमा सुकुमवासीले कब्जा गरेको जग्गा खाली भए। शिक्षा क्षेत्रमा परिवर्तन आएको छ। सरकारलाई काम गर्न दिऊँ। कति आलोचना मात्रै गर्ने?,’ एक महिलाले आशाको पोका खोलिन्।

‘राम्रो काम गरेकोमा सरकारलाई बधाई छ। तर संविधानमा भएका प्रधानमन्त्रीका कर्तव्य त पालना गर्नुपर्‍यो नि,’ अर्काले रिसाउँदै भने।

आफैँले पेस गरेको नीति र कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री प्रतिनिधिसभामा जानुपर्थ्यो। प्रधानमन्त्री सभाप्रति उत्तरदायी हुनुपर्छ- एक जनाले प्वाक्क बोलेको मैले सुनेँ।

नीति–कार्यक्रममा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन – Online Khabar

‘संसद् त गँजडीको गफ गर्ने थलो हो, बोकाको टाउको राखेर भैँसीको मासु बेच्ने ठाउँमा किन जाने प्रधानमन्त्री?,’ एक अधबैँसे जङ्गिँदै थिए।

हामी एउटा टेबुलमा गएर बस्यौँ। किशोरले तीन सेट माछा, भटमास, भुजा माग्यो। कुरा सुन्दै हामी माछा पर्खिरह्यौँ।

‘अब कांग्रेस–कम्युनिस्टका दिन सकिए। रास्वपाका दिन आए, हजुर,’ एक जना हाँस्दै थिए।

’सत्र सालमा राजा महेन्द्रले ‘कु’ गरेको विरोधमा उठेका कांग्रेसी युवालाई सरकारले भरतपुर एअरपोर्टमा लाइन लगाएर गोली ठोकेर मारेको रगत अझै आलो छ। कांग्रेसमाथि भएको अन्याय बिर्सन सकिन्न,’ एक जनाले हामीलाई चिनेझैँ नजिकै आएर भने।

‘प्रधानमन्त्री काम गर्न रुचाउने मान्छे। सदनका टिठलाग्दा गफ सुन्न गएनन्। विरोधी पार्टी रिसाएर के हुन्छ त?,’ कुनामा बसेका युवक जङ्गिँदै उठे।

‘सभापति रवि त्यागी र कुरा गर्न सिद्धहस्त हुनुहुन्छ। तीन–तीन पटक हामीले त्यसै जिताएको हो र ? बजेट बनाउँदा चितवनमा पहिलेभन्दा धेरै विकास बजेट आउँछ क्या अब,’ रमेशले फुर्तीसाथ प्रशंसाको पुल बाँधे।

‘रवि बिचराको के कुरा गर्ने ? आफ्नै पार्टीको सरकार बने पनि सहकारी ठगको बिल्लाबाट मुक्ति पाएका छैनन्। किन चाउरिस् मरिच आफ्नै पिरोले,’ धनराजले व्यङ्ग्य गर्दै बोले।

‘हेर्नुस् सर, कसरी–कसरी उनीहरूले रविजीलाई ढाक्रे बनाए। पाँच वर्ष राम्रो काम गरे अर्को पटकको चुनावमा पनि बालेनलाई नै प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्ने होला। यो पाँच वर्षमा काम गर्न सकेनन् भने फेरि कांग्रेसहरू उठिहाल्छन्। रवि कहिले प्रधानमन्त्री हुने? मलाई त कस्तो नरमाइलो लागिरहेको छ,’ एक जना रास्वपाका समर्थक हामीसँग साखुल्ले हुँदै रविको पक्षमा बोले।

प्रतिनिधिसभामा राष्ट्रपतिले नीति र कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँड्नु अनुशासनसँग मेल खाँदैन। सभामा उठेका प्रश्नहरूको जवाफ दिन सरकार प्रमुख नजानु उत्तरदायित्व र कर्तव्य विपरीत हुन्छ। संसदीय मर्यादा प्रतिकूल र सुशासनको बर्खिलाफ हो। नागरिकले सुशासन खोजेका छन्। नयाँ काम गर्ने भनेको गैरसंवैधानिक काम गर्ने भनेको त होइन नि।

‘विकासले नागरिकको मन छुन सकेन र शासनले नागरिकको सम्मान गरेन भने त्यो सुशासन हुँदैन। देशले विकासको विकेन्द्रीकरण खोजेको छ। भरपर्दो पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटकीय स्थलको विकास सतहत्तरै जिल्लामा पुर्‍याउनु छ। काठमाडौँमा मान्छे थुप्रिएर धान्नै नसक्ने भइसक्यो,’ भुजा चपाउँदै एक जना विकासमुखीले तर्क राखे।

‘प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको विपक्षी मात्र होइन, सत्तापक्षका सांसदहरूलाई पनि पटक्कै मन परेको छैन। तर उनीहरू पार्टी नियममा बाँधिए, बोलेनन्। विपक्षीहरूले प्रधानमन्त्रीको आलोचना गरिरहेको बेला रविको अनुहार हेर्न लायक थियो। देख्नुभएन टिभीमा?,’ अर्का एक जना आफ्नो अनुभव सुनाउँदै थिए।

‘पहिले ‘चुपचाप घन्टीमा छाप’ भन्दै जुलुसमा दौडियो। सरकारले सुकुमवासी बस्ती भत्कायो। सुकुमवासी मरेको घटनाले मन साह्रै दुखायो। जेनजी आन्दोलनमा जलेको सिंहदरबार फेरि बनाउन सकिन्छ। शहादत प्राप्त व्यक्तिको ज्यान फेरि पाइन्छ? भन्नेले नै सुकुमवासीको ज्यान लिए। सरकारी जमिनमा बनाएको घर त सुस्तै–सुस्तै हटाएको भए ती मान्छे मर्दैनथे होलान् नि?,’ कुराकानी सुन्दा उनी फ्रस्टेड रास्वपाका मतदाता हुन् जस्ता देखिन्थे।

तपाईँहरूको छलफल त प्रतिनिधिसभाको छलफलभन्दा जीवन्त छ- मैले प्रशंसाको पुल बाँधे।

रेष्टुराँमा लामो हाँसो छताछुल्ल भयो।

‘सर, रवि प्रधानमन्त्री नभए पनि जिल्लामा विकास, रोजगारीका काम भए भो। महानगरपालिकाको ढल, फोहोर व्यवस्थापनको आयोजना आउला, महानगरपालिकामा मेट्रो रेलको निर्माण, नारायणी नदी र राप्ती नदीको किनार तथा बरन्डाभार जङ्गलको पश्चिम किनारमा ८ लेनको चक्रपथ निर्माण होला। फिस्लिङ–शक्तिखोर–कालिका सडक निर्माण गर्न बजेट विनियोजन होला,’ एक समर्थकले आशाको लामो पुलिन्दा खोल्दै सुनाए।

‘हेर्नुस्, अहिले रविजी बोल्न नसक्ने हालतमा छन्। प्रधानमन्त्रीले गरेका काम रफु गर्दै फुर्सद छैन। सरकारले सुकुमवासी उठायो। जनता रिसाए। जनता थामथुम पार्न रवि हात जोड्दै पुगे। प्रतिनिधिसभामा जवाफ दिन प्रधानमन्त्री गएनन्। सरकारको नीति कार्यक्रम पास गर्न नेपथ्यमा बसेर रविले विपक्षीलाई सहमत गराए। रविलाई ‘भालुको कम्पट’ भएको छ। ‘छोडौँ आफैँलाई टोक्छ। नछोडौँ कहिलेसम्म समातेर बस्ने?,’ रविका प्रखर विरोधी लाग्ने एक बुज्रुकले रास्वपा भित्रको राजनीतिक अवस्थाको स्वमूल्याङ्कन सुनाए।

पहिले आफ्नो पार्टी मिलाउनुस् बा। अर्काको पार्टीमा जुम्रा देख्ने, आफ्नो पार्टीको भैँसी नदेख्ने। दसतिर मुख भएको अनुशासनहीन पनि पार्टी हुन्छ। त्यही भएर हो म कांग्रेस छोडेर रास्वपातिर लागेको- उनी पुराना कांग्रेसी कार्यकर्ता रहेछन्।

‘भारतमा सकियो। नेपालमा पनि कम्युनिस्ट पार्टी सकिन्छन्। अब कुन पार्टीमा जाने हो ? विचार गर्नुस् दाइ,’ एक जना गिल्ला गर्दै हाँसे।

‘त्यसो नभन्नुस् कमरेड, कम्युनिस्टहरू धुलो टकटक्याएर उठ्छन्,’ वामपन्थी ताते।

‘कांग्रेस देशको राष्ट्रिय शक्ति हो। चुनाव हारे पनि, जिते पनि र चुनाव नलडे पनि। कांग्रेस अब गगनले सम्हाल्छन्। तपाईँ कांग्रेसमै फर्कनुहुन्छ,’ कांग्रेसी कार्यकर्ता जोसिए।

रविले आफ्नो निर्वाचन क्षेत्रको पैदल यात्रा गरे भने बल्ल आफ्ना मतदाताको यथार्थ माग र आवश्यकता बुझ्थे होलान्। केन्द्रको राजनीति र सरकारको गतिविधिले उनलाई गाँजेर राखेको छ।

‘हेर्नुस्, अबको पाँच वर्षपछि कांग्रेसले नै सरकार बनाउँछ। कसरी भनुँ?,’ अर्का कांग्रेसी प्रश्न गर्दै जुरुक्क उठे र भन्न थाले, ‘अब बिस्तारै रविले आफ्ना एजेन्डाहरू कुनै मन्त्रीमार्फत क्याबिनेटमा पेस गर्न लगाउँछन्। प्रधानमन्त्रीलाई त्यो मन पर्दैन। अनि के हुन्छ, आफैँ कल्पना गर्नुस् ? म धेरै बोल्दिनँ।’

‘वास्तवमा अहिले रवि अत्यन्त अप्ठ्यारो अवस्थामा छन्। एकातिर आफू प्रधानमन्त्री नभएको चोट छ, अर्कोतिर महत्त्वाकाङ्क्षी प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट बचाउ गर्नु छ। आफ्नो निर्वाचन क्षेत्रको लागि बजेटसम्म माग गर्न सक्ने अवस्था छैन। बिचरा ‘मुटुमाथि ढुङ्गा राखी’ डटेका छन्। उनले सक्ने भनेको पार्टीको महाधिवेशन हो। त्यो त २०८३ को असारमा चितवनमा गर्ने भइहाले,’ वामपन्थी बुद्धिजीवीले व्यङ्ग्य कस्न भ्याए।

‘राम–लक्ष्मणको जोडी हो, कसैले फुटाउन सक्दैन। हाम्रो राष्ट्रिय–अन्तर्राष्ट्रिय साइबर जत्था छ,’ एक जना रास्वपा कार्यकर्ताले रिसाएझैँ गरी भनिन्।

‘थोरै रन्कियो भने साइबर जत्थाले त रवि–बालेनलाई पनि डस्छ, नानाथरी गाली गर्दै,’ एक जनाले जिस्क्याउँदै भने।

हामी रमाइलो मान्दै जलकपुरको स्वाद लिइरहेका थियौँ।

एक जना युवा उठेर हाम्रो नजिक आए। प्रश्न राखे- यो सरकार पाँच वर्ष नै चल्ला त ?

‘हेर्नुस् भाइ, रास्वपाको सरकार पाँच वर्ष टिक्नुपर्छ। जनताको म्यान्डेट त्यो हो। तर सरकार पाँच वर्ष टिक्ने र नटिक्ने कुरा रवि र बालेनको सम्बन्धमा निर्भर गर्छ। रवि बिस्तारै राजनीतिक रूपमा परिपक्व बन्दै गएको देखिन्छ। तर बालेन धनी बाउआमाको पुल्पुलिएको सन्तान जस्तो लाग्छ। उनका फ्यानहरू विवेक नै बन्धक राखेर सामाजिक सञ्जालमा सक्रिय छन्।’

नेपाली सुशासन, विकास र शान्तिको आशा गरेर बसेका छन्। सरकारले काम गर्दा प्रजातान्त्रिक विधि अवलम्बन गरोस्। सिस्टम बनाओस् भन्ने हो हाम्रो भनाइ। तर प्रधानमन्त्रीको व्यवहारले प्रजातन्त्र उदास देखिन्छ र रास्वपा निरीह।

अबका दिनमा रविका राजनीतिक एजेन्डा क्याबिनेटमा कसरी सम्बोधन हुन्छन् ? बालेनले कति समेट्छन् ? रविले आफ्नो ‘इग्नोर‘ कति सहन्छन् ? त्यो नै महत्त्वपूर्ण हुन्छ।

रवि र बालेन दुवै महत्त्वाकाङ्क्षी युवा हुन्। उनीहरूबीचको सम्बन्ध, विकास र निर्धारण, आपसी विश्वास र निरन्तर संवादमा निर्भर गर्छ। ‘इमोसनल इन्टेलिजेन्स’ मा सम्बन्ध व्यवस्थापनलाई महत्त्वसाथ वर्णन गरिएको छ। सुशासन भनेको भ्रष्टाचार नियन्त्रण गर्नु मात्र नभएर शासन प्रक्रियामा सरकारका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच राम्रो सम्बन्ध राख्नु पनि हो। सुशासनको लागि पार्टी र सरकारबीच पनि राम्रो सम्बन्ध हुनुपर्छ। सम्बन्ध राम्रो बनाउन पहिले त व्यक्तिले आफूलाई चिन्नुपर्‍यो। त्यसपछि अर्को पक्षको अवस्था वा समस्या बुझ्नुपर्‍यो। त्यसैअनुसार व्यवहार गर्नुपर्‍यो। त्यस्तो भएन भने सम्बन्ध सुदृढ हुँदैन।

रवि पार्टी र सरकारबीच समन्वय गरिरहेका छन्। बालेन सरकारमा छन्। निर्णय अधिकार उनको हातमा छ। छिटो काम गरेर देखाउँछु भने पनि एक्लै गन्तव्यमा पुगिँदैन। चिप्लिन सकिन्छ। काम गर्दा कम्तिमा पनि आफ्नो पार्टीसँग समन्वय हुनुपर्छ। संविधान मस्यौदा कार्यदलको नाइके बनाउँदा ‘राम्राभन्दा हाम्रालाई छाने’। बोलाएको संसद् रोकेर अध्यादेश ल्याए। सुकुमवासी उठाउँदा प्रक्रिया बिग्रियो। रविले हात जोडे।

प्रधानमन्त्री कतै कम्प्रोमाइजमा आउने सङ्केत देखिँदैन। प्रतिनिधिसभामा सांसदको प्रश्न सुन्न र जवाफ दिन नआएको घटनाले पुष्टि गर्छ। सभामुख त विपक्षीको विरोधले हैरान छन्।

अबका दिनमा रविका राजनीतिक एजेन्डा क्याबिनेटमा कसरी सम्बोधन हुन्छन् ? बालेनले कति समेट्छन् ? रविले आफ्नो ‘इग्नोर‘ कति सहन्छन् ? त्यो नै महत्त्वपूर्ण हुन्छ। यसकारण रविले थामेसम्म हो रास्वपाको सरकार पाँच वर्ष टिक्ने वा नटिक्ने- मैले वस्तुस्थितिको मूल्याङ्कन गर्दै सुनाएँ।

उनी चुपचाप सन्त्रासमा परे। हामी नारायणी नदीको गोधुली रङ्गमा रमाउँदै रेस्टुराँबाट बाहिरियौँ। गैँडाकोट मौलाकालिका मन्दिरको घण्टको आवाज नजिकै गुन्जिरहेको थियो।

लेखक
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?