News Summary
Generated by OK AI. Editorially reviewed.- साफ महिला च्याम्पियनसिपको आठौं संस्करण भारतको गोवामा आजदेखि सुरू हुँदैछ, जसमा दक्षिण एसियाका छ टोली सहभागी छन्।
- सन् २०१० देखि सुरू भएको यस प्रतियोगितामा भारतले सर्वाधिक पाँच र बंगलादेशले दुई पटक उपाधि जितेका छन्।
- नेपाल भने हालसम्म छ पटक फाइनलमा पुगे पनि उपाधि जित्न नसकी उपविजेतामै सीमित रहँदै आएको छ।
११ जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको आठौं संस्करण आजदेखि भारतको गोवामा सुरु हुँदैछ । मे २५ देखि जुन ६ सम्म भारतको गोवास्थित जवहरलाल नेहरु स्टेडियममा हुने च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रले सहभागिता जनाउने छन् ।
भारतले दोस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यसअघि सन् २०१६ को चौथो संस्करण भारतको सिलीगुढीमा भएको थियो ।
सन् २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपको डेढ दशक लामो इतिहासमा अहिलेसम्म जम्मा दुई राष्ट्रले मात्र उपाधि जितेको छ । जसमा भारत सर्वाधिक ५ पटकको च्याम्पियन हो भने बंगलादेशले दुई पटक उपाधि जितेको छ ।
भारतले सुरुवाती पाँच संस्करणमा लगातार उपाधि जितेको थियो । पछिल्लो दुई संस्करण २०२२ र २०२४ मा भने बंगलादेशले लगातार उपाधि जितेको थियो ।
भारतले सन् २०१० को पहिलो संस्करणदेखि २०१९ सम्म कुनै खेल नहारी उपाधि जितेको थियो । तर सन् २०२२ को संस्करणमा बंगलादेशसँग समुह चरणमा पराजित भएपछि अपराजित यात्रा टुङ्गिएको थियो । त्यसपछि २०२४ मा पनि भारत समूह चरणमा बंगलादेशसँगै पराजित भएको थियो ।
नेपालले अहिलेसम्म तीन पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दा बंगलादेश, श्रीलंका र पाकिस्तानले एक-एक पटक आयोजना गरेका छन् । पछिल्लो दुई संस्करण खेलेको पाकिस्तान यस पटक भने साफमा सहभागी छैन ।
सुरुवाती तीन संस्करणमा अफगानिस्तानले पनि साफमै समावेश भएर खेलेको थियो । त्यो बेला ८ टिमले साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए ।
भारत, बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र भुटानले अहिलेसम्म भएका सबै सात संस्करण खेलेका छन् भने पाकिस्तानले ५ पटक मात्र खेलेको छ ।
सन् २०२४ को पछिल्लो संस्करणमा १२ खेलमा कुल ६२ गोल भएको थियो । जुनै एकै संस्करणमा भएको सर्वाधिक गोल हो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले महिला फुटबलको विकासको लागि सन् २०१० देखि साफ महिला च्याम्पियनसिप सुरु गरेको थियो ।
अहिलेसम्म ७ संस्करणको आयोजना भइसक्दा यो लेखामा साफमा सहभागि टिम, टिमको प्रदर्शन, विजेता लगायत विषय समावेश गरेर तयार पारिएको छ ।
दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरेर यस पटक साफ च्याम्पियन सञ्चालन हुँदैछ ।
यस्तो छ साफ महिला च्याम्पियनसिपको इतिहास-
पहिलो संस्करण (२०१०) : बंगलादेश
सन् २०१० डिसेम्बर १२ देखि २४ सम्म बंगलादेशको कक्स बजार स्टेडियममा भएको च्याम्पियनसिपमा ८ राष्ट्रले सहभागिता जनाएका थिए ।
समूह ‘ए’मा भारत बंगलादेश, श्रीलंका र भुटान तथा समूह ‘बी’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स थिए । समूह ‘ए’ बाट भारत तीनवटै खेल जित्दै समूह विजेता र बंगलादेश दुई खेल जितेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।
समूह ‘बी’ बाट नेपाल तीन खेल जित्दै समूह विजेता र पाकिस्तान दुई खेल जित्दै समूह उपविजेता बनेर सेमिफाइनल पुगेका थिए ।
सेमिफाइनलमा भारतले पाकिस्तानलाई ८–० र नेपालले बंगलादेशलाई ३–० ले हराएर फाइनल प्रवेश गरे । रोमाञ्चक कुरा के थियो भने नेपाल र भारतले फाइनल पुग्दासम्म कुनै गोल खाएका थिएनन् ।
समूह चरणदेखि सेमिफाइनलसम्म भारतले ३९ गोल गर्दा नेपालले ३४ गोल गरेको थियो ।
फाइनलमा भारतले नेपाललाई १–० ले हराएर पहिलो संस्करणको उपाधि जित्यो । नेपालले जम्मा त्यही एक गोल व्यहोर्दा उपविजेतामा चित्त बुझाउनु पर्यो । भारतलाई च्याम्पियन बनाउन सस्मिता मल्लिकले ६५औं मिनेटमा गोल गरेकी थिइन् ।
पहिलो संस्करणमा भारतकी बाला देवी र सस्मिता मल्लिकले सर्वाधिक ११ गोल गरे । यस्तै बाला देवी उत्कृष्ट खेलाडी बनिन् ।
दोस्रो संस्करण (२०१२) : श्रीलंका
श्रीलंकाको कोलोम्बोस्थित सीआर एण्ड एफसी ग्राउण्डमा सेप्टेम्बर ७ देखि १६ सम्म भएको दोस्रो संस्करणमा पनि आठवटै राष्ट्रले सहभागिता जनाएका थिए । जसमा भारत, श्रीलंका, बंगलादेश र भुटान समूह ‘ए’ मा थिए भने नेपाल अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स समूह ‘बी’ मा थिए ।
समूह ‘ए’ बाट भारत तीनवटै खेल जितेर समूह विजेता र श्रीलंका दुई खेल जितेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगे ।
यस्तै समूह ‘बी’ बाट नेपाल ३ वटै खेल जितेर समूह विजेता तथा अफगानिस्तान एक जित र एक बराबरीसहित समूह उपविजेता बनेर सेमिफाइनल पुग्यो ।
यस संस्करणमा श्रीलंका र अफगानिस्तान पहिलो पटक सेमिफाइनल पुगे ।
भारतले समूह चरणमा १९ गोल गर्दा कुनै गोल खाएन । नेपालले २० गोल गर्दा एक गोल खायो । अफगानिस्तानले नेपालको पोष्टमा गोल गरेको थियो ।
सेमिफाइनलमा भारतले अफगानिस्तानलाई ११–० ले हराउँदा नेपालले श्रीलंकालाई ३–० ले हरायो ।
दोस्रो पटक नेपाल र भारत फाइनलमा भेट भए । फाइनल खेलको तेस्रो मिनेटमै दिपा अधिकारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर भारतकी सुप्रिया राउट्रेले आठौं मिनेटमै बराबरी गोल फर्काइन् ।
पहिलो हाफ बराबरीमा सकिएनि भारतले दोस्रो हाफमा दुई गोल फर्कायो । बेमबेम देवीले ६६औं र कमला देवीले ८३औं मिनेटमा गोल गर्दै भारतलाई लगातार दोस्रो पटक च्याम्पियन बनाए ।
च्याम्पियनसिपमा नेपालकी जुमना गुरुङ ८ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन् । भारतकी युमनाम कमला देवी उत्कृष्ट खेलाडी घोषित भइन् ।
भारतले च्याम्पियनसिपमा कूल ३३ गोल गर्दा १ गोल खायो । नेपालले कुल २४ गोल गर्दा ४ गोल बेहोर्यो ।
तेस्रो संस्करण (२०१४) : पाकिस्तान
साफ महिला च्याम्पियनसिपको तेस्रो संस्करण नोभेम्बर ११ देखि २१ सम्म पाकिस्तानको इस्लामावादस्थित जिन्नाह स्पोर्ट्स स्टेडियममा आयोजना भएको थियो, जहाँ भारत लगातार तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमाथि ह्याट्रिक गर्यो । नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो ।
समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान थिए भने समूह ‘बी’ मा नेपाल, श्रीलंका, पाकिस्तान र भुटान थिए ।
भारत समूह ‘ए’ मा तीनवटै खेल जित्दै समूह विजेता र बंगलादेश दुई खेल जित्दै समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरे ।
यस्तै समूह ‘बी’ बाट नेपाल तीन खेल जित्दै समूह विजेता र श्रीलंका दुई खेल जित्दै उपविजेता बनेर सेमिफाइनल पुग्यो ।
सेमिफाइनलमा भारतले श्रीलंकालाई ५–० ले र नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनल पुग्यो ।
फाइनलसम्म पुग्दा नेपालले १४ गोल गर्दा कुनै गोल खाएको थिएन । भारतले भने कूल ३० गोल गर्दा १ गोल खाएको थियो ।

फाइनलमा नेपालले भारतलाई कडा टक्कर दिने अपेक्षा थियो । तर अपेक्षा विपरीत भारतले नेपाललाई ६–० ले पराजित गर्दै लगातार फेरि उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।
भारतकी बाला देवीले सर्वाधिक १६ गोल गरिन् भने बंगलादेशकी सबिना खातुन उत्कृष्ट खेलाडी बनिन् ।
यही संस्करणबाट नेपाली गोलमेसिन सावित्रा भण्डारी ‘साम्बा’को उदय भयो । उनले भुटान विरुद्धको पहिलो खेल खेल्दै डेब्युमै गोल समेत गरेकी थिइन् । हाल साम्बा नेपालको सर्वाधिक गोलकर्ताको साथै दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर बनेकी छन् ।
उनले युरोपियन लिग देखि अष्ट्रेलियन लिग उनले भारतको महिला लिग समेत खेलिसकेकी छन् ।
चौथो संस्करण (२०१६) : भारत
तीन पटकको विजेता भारतमा चौथो संस्करण आयोजना भयो । २०१६ डिसेम्बर २६ देखि २०१७ जनवरी ४ सम्म सिलिगुढीमा भएको च्याम्पियनसिपमा पहिलोपटक ७ टिमले मात्र सहभागिता जनाए । पाकिस्तानले यस पटक सहभागिता जनाएन । बाँकी ७ टिमले भने लगातार चौथो पटक प्रतियोगितामा सहभागिता जनाए ।
यसमा भारत लगातार चौथो पटक च्याम्पियन बन्दा नेपाल पहिलो पटक फाइनल पुग्न सकेन । नेपाल सेमिफाइनलमै भारतसँग पराजित भयो भने बंगलादेश पहिलो पटक फाइनल पुग्यो । यसै संस्करणमा बंगलादेशले भारतलाई बराबरीमा समेत रोक्न सफल भयो ।
नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान समूह ‘ए’ मा तथा भारत, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा थिए । नेपाल तीन खेल जित्दै समूह विजेता र माल्दिभ्स दुई खेल जित्दै समूह उपविजेताको रुपमा सेमिफाइनल पुगे ।

समूह ‘बी’ बाट बंगलादेश र भारतले समान ४ अंक जोडे पनि बंगलादेश गोलअन्तरको आधारमा समूह विजेता र भारत समूह उपविजेता बने ।
बंगलादेश समूह विजेता बन्दा नेपालले सेमिफाइनलमै भारतसँग खेल्नुपर्ने भयो । त्यसबेला नेपाल सामु भारतलाई सेमिफाइनलमै हराएर फाइनल पुग्ने चुनौती र अवसर दुवै थियो । तर सेमिफाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भयो । भारतका लागि कमलादेवी, इन्दुमथि काथिसेरन र सस्मिता मल्लिकले गोल गरे भने नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काइन् ।
अर्को सेमिफाइनलमा बंगलादेशले माल्दिभ्सलाई ६–० ले हराउँदै भारतसँग उपाधि भेट पक्का गरेको थियो । तर फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले हराएर लगातार चौथो पटक उपाधि जित्यो ।
च्याम्पियनसिपमा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक १२ गोल गरिन् । भारतकी इन्दुमति उत्कृष्ट खेलाडी घोषित भइन् ।
पाँचौ संस्करण (२०१९) : नेपाल
साफ महिला च्याम्पियनसिप सुरु भएको झण्डै ९ वर्षपछि नेपालले पहिलो पटक सन् २०१९ मा प्रतियोगिता आयोजना भयो । नेपालको विराटनगरमा मार्च १२ देखि २२ सम्म आयोजना भएको पाँचौ संस्करणमा पाकिस्तान सहभागी भएन भने अफगानिस्तानले साफ छाडिसकेको थियो । त्यसैले यस पटक ६ टिम मात्र सहभागी भए ।
आयोजक नेपालसहित बंगलादेश र भुटान समूह ‘ए’ मा तथा साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स समूह ‘बी’ मा थिए । नेपाल दुबै खेल जित्दै समूह ‘ए’ को विजेता र बंगलादेश एक खेल जित्दै समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुग्दा भुटान दुबै खेलमा पराजित भयो ।
यस्तै समूह ‘बी’ मा भारत दुवै खेल जित्दै समूह विजेता र श्रीलंका एक खेल जित्दै समूह उपविजेता बनेर सेमिफाइनल पुग्दा माल्दिभ्स दुवै खेलमा पराजित भयो ।
समूह चरणमा नेपालले ६ र भारतले ११ गोल गर्दा कुनै गोल खाएन ।
सेमिफाइनलमा नेपालले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

घरेलु मैदान र दर्शकको भरपुर साथ पाए पनि नेपालले भारतलाई हराउन सकेन । फाइनल अघि दुवै टोलीले कुनै गोल खाएका थिएनन् । फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा अपेक्षा भएपनि भारतले नेपाललाई ३–१ ले हराएर लगातार पाँचौ पटक उपाधि जित्यो ।
डालिमा छिब्बरले २६औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ३३औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । तर दोस्रो हाफमा भारतका लागि डाङ्माई ग्रेसले ६३औं र अन्जु तामाङले ७८औं मिनेटमा गोल गरे ।
च्याम्पियनसिपमा कुल १८ गोल गरेको भारतले फाइनलमा मात्रै एक गोल खाएको थियो । नेपालले भने ११ गोल गर्दा ३ गोल खाएको थियो र सबै गोल फाइनलमा खाएको थियो ।
च्याम्पियनसिपमा भारतकी इन्दुमथि काथिरेसन र नेपालकी सावित्राले समान ४ गोल गरे । भारतकी डाङ्माई ग्रेस उत्कृष्ट खेलाडी घोषित भइन् ।
छैटौं संस्करण (२०२२) : नेपाल
नेपालले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गर्दा दशरथ रंगशालामा पहिलो पटक आयोजना भयो । सेप्टेम्बर ६ देखि १९ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा दक्षिण एसियाका ७ वटै राष्ट्रले सहभागिता जनाएका थिए । पाकिस्तानले साफमा पुनरागमन गरेको थियो ।
भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ‘ए’ मा थिए भने घरेलु टोली नेपालसहित श्रीलंका र भुटान समूह ‘बी’ मा थिए ।
समूह चरणमा बंगलादेशले भारतलाई ३–० ले हराएर सनसनी मच्चायो । ३ वटै खेल जित्दै बंगलादेश समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुग्दा भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल पुग्यो । समूह ‘ए’ मा बंगलादेश र भारतले समान १२ गोल गरे । बंगलादेशले कुनै गोल व्यहोरेन भने भारतले ३ गोल खायो ।
नेपाल समूह ‘बी’ मा अपेक्षा अनुसार नै विजेता बन्यो । नेपालसँगै भुटान पनि सेमिफाइनल पुग्यो । नेपालले दुई खेलमा १० गोल गर्दा कुनै गोल व्यहोरेन । श्रीलंकाले कुनै गोल नगरी ११ गोल खायो ।
समूह ‘ए’ मा उपविजेता बनेकोले नेपालको सेमिफाइनलमै भारतसँग भेट भयो । बंगलादेशसँग हारेको भारतविरुद्ध नेपालको मनोबल उच्च थियो । रश्मी घिसिङको निर्णायक गोलमा नेपालले भारतलाई १–० ले हराएर फाइनल पुग्यो । नेपालले साफ महिला च्याम्पियनसिपमा पहिलो पटक भारतलाई हराएको थियो ।
उता भुटानलाई ८–० को फराकिलो अन्तरले हराउँदै बंगलादेश फाइनलमा पुग्यो ।
नेपाल र बंगलादेश जसले जिते पनि नयाँ च्याम्पियन हुने थिए । नेपाल यसअघि चार पटक फाइनल पुग्दा चारै पटक भारतसँग पराजित भएर उपविजेता बनेको थियो । यस पटक बंगलादेशलाई हराउँदै घरेलु मैदानमा च्याम्पियन बन्ने अवसर थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । बंगलादेशले प्रतियोगिताभर फाइनलमा मात्र १ गोल खायो ।
घरेलु मैदानमा लगातार दोस्रो पटक नेपाल साफ महिला च्याम्पियनसिपमा उपविजेता बन्यो ।
बंगलादेशकी कप्तान सबिना खातुन प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित भइन् । बंगलादेशकै रुप्ना चक्मा उत्कृष्ट गोलकिपर घोषित भइन् ।
सातौं संस्करण (२०२४) : नेपाल
नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्ने इतिहास बनायो । तर मैदानमा भने नेपाली टोली फेरि उपविजेतामै सीमित भएर खराब कीर्तिमान बनायो ।
अक्टोबर १७ देखि ३० सम्म दशरथ रंगशालामा आयोजना भएको प्रतियोगितामा दक्षिण एसियाका सातवटै देशले भाग लिएका थिए ।
साविक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान समूह ए मा थिए भने घरेलु टोली नेपालसहित श्रीलंका, भुटान र माल्दिभ्स समूह बी मा थिए ।
भारतले पाकिस्तानलाई ५-२ ले हराएर विजयी सुरुवात गर्दा पाकिस्तानले दोस्रो खेलमा साविक विजेता बंगलादेशलाई १-१ को बराबरीमा रोक्यो । सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदा पाकिस्तान जितबाट वञ्चित भएको थियो ।
समूह ए को अन्तिम खेलमा भारतलाई ३-१ ले पराजित गर्दै बंगलादेश समूह विजेता बन्यो । समूह ‘ए’ मा भारतले सर्वाधिक ६ गोल गर्दा बंगलादेशले ४ र पाकिस्तानले ३ गोल गर्यो । भारतले १ गोल मात्र बेहोर्दा बंगलादेशले २ तथा पाकिस्तानले ६ गोल खायो ।
नेपाल समूह ‘बी’ मा अपेक्षा अनुसार नै विजेता बन्यो । तर पहिलो खेलमा नेपाललाई भुटानले गोलरहित बराबरीमा रोक्दै सानदार प्रदर्शन गरेको थियो ।
त्यसपछि नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले हराउँदै समूहमा अपराजित रह्यो । भुटानले श्रीलंकालाई ४- र माल्दसभ्लाई १३-० ले पराजित गर्यो ।
नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा नेपाल थोरैले अघि रह्यो । दुवेले १७ गोल गरेका थिए तर नेपालले क्लिनसिट राख्दा भुटानले एक गोल बेहोरेको थियो ।
माल्दिभ्सलाई १-० ले पराजित गरेको श्रीलंकाले २ गोल गर्दा १० गोल खायो भने माल्दिभ्सले कुनै गोल गर्न सकेन र २५ गोल बेहोर्यो ।
सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता भारतको भेट भयो । निकै तनावपूर्ण यस खेल निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले जित्दै फाइनल पुगेको थियो ।
अर्को सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले सहजै हराएर लगातार फाइनल पुग्यो । फाइनलमा फेरि पुरानै कथा दोहोरियो । बंगलादेशले नेपाललाई लगातार दोस्रो पटक फाइनलमा हराउने क्रममा २-१ ले विजयी भयो ।
मोनिका चक्माको गोलमा बंगलादेशले सुरुवाती अग्रता लिँदा अमिषा कार्कीले नेपालको लागि बराबरी गोल फर्काएकी थिइन् । तर रितु पोर्ना चक्माले निर्णायक गोल गर्दै बंगलादेशलाई उपाधि दिलाइन् ।
बंगलादेशका रितु नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै भुटानकी देकी लाजोम ८ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन् । बंलादेशकै रुप्ना चम्कमा उत्कृष्ट गोलकिपर र भुटानले फेयर प्लेको अवार्ड पायो ।
प्रतियोगिताभर नेपालले सर्वाधिक १९ गोल गर्दा भुटानले १८ गोल गर्यो । च्याम्पियन बंगलादेशले खेलेको चारै खेलमा गरी ४ गोल बेहोरेको थियो । नेपालले सेमिफाइनल र फाइनलमा १-१ गोल मात्र बेहोरेको थियो ।
प्रतिक्रिया 4