+
+
Shares

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

पुरुषतर्फ राङभाङ समाज यूके र महिलातर्फ तामाङ समाज एफसी विजेता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतको अल्डरसटमा आयोजित २४औं गोर्खा कप फुटबल प्रतियोगिता झन्डै २० हजार दर्शकको उपस्थितिमा सम्पन्न भएको छ ।
  • प्रतियोगिताको मुख्य विधामा राङभाङ समाज यूके, भेट्रानतर्फ एफसी ४ र महिलातर्फ तामाङ समाज एफसी विजेता बने ।
  • रसमोर बरो काउन्सिलका मेयर क्यालुम स्टेवार्टले गोर्खा कपले स्थानीय व्यापार व्यवसाय प्रवर्धन र समुदायबीच सम्बन्ध बलियो बनाउन सघाएको बताए ।

लन्डन । विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ को २४औं संस्करण आइतबार झन्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ ।

हिटवेभका बाबजुद दर्शकहरू बेलायतभरबाट मैदान उत्रिएका थिए । गोर्खा कप फुटबल इभेन्टमात्र थिएन । यसपटक खाना, च्यारिटी, आइसक्रिम, केक, बबल टी, लत्ताकपडा आदि गरी १२६ स्टल थिए भने बालबालिकाका लागि बेग्लै ‘फन फेयर’ राखिएको थियो ।

यसपटकको संस्करणमा अघिल्लो वर्षभन्दा बढी टिम सहभागितासहित ३८ मेन, भेट्रान १६ र महिला २ गरी ५६ टिम प्रतिस्पर्धामा थिए ।

अल्डरसटस्थित क्विन्स एभिन्यू मैदानमा भएको उक्त फुटबल प्रतियोगितामा मेन क्याटगोरिजतर्फ राङभाङ समाज यूके विनर बनेर ३ हजार ५०० पाउन्ड नगद, शिल्ड, ट्रफी र सर्टिफिकेट प्राप्त गरेको छ ।

गुरुजी एलिट रनरअप भयो । रनर अपले २ हजार पाउन्ड, ट्रफी र सर्टिफिकेट पाएको छ ।

उक्त क्याटेगोरीमा बेस्ट म्यानेजर राङभाङ समाज यूकेका साम गुरुङ, टप स्कोरर नेप्जुम एफसीका एनियोला अलामो र प्लेयर अफ दि म्याच राङभाङ समाज यूकेका न्वाङ शेर्पा बने ।

भेट्रानतर्फ एफसी ४ टिम विजेता र प्लमस्टिड एफसी उपविजेता बन्यो ।

भेट्रान विनरलाई १ हजार ८०० पाउन्ड एवं रनरअपलाई १ हजार २०० पाउन्ड प्रदान गरियो । त्यसैगरी, भेट्रान बेस्ट म्यानेजर एफसी ४ का सोम थापा, भेट्रान टप स्कोरर एफसी ४ कै निशान्त गुरुङ र प्लेयर अफ द म्याच शेरजंग थापाले पाए ।

खेलमा महिलातर्फ तामाङ समाज एफसी विनर र राउन्डबोल्ट एफसी रनरअप बन्यो । महिला टिम वीनरले ६०० पाउन्ड र रनरअपले ४०० पाउन्ड पुरस्कार प्राप्त गरे ।

उक्त क्याटगोरिजमा प्लेयर अफ द म्याच तामाङ समाज यूकेकी खेलाडी सुक लामु तामाङ बनिन् ।

विजेता खेलाडीहरूलाई प्रमुख अतिथि रसमोर बरो काउन्सिल मेयर क्यालुम स्टेवार्ट, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, हिमालय जेटका दीपेन्द्र गुरुङ, एनआरएनए केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मा, नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह लगायतले पुरस्कार प्रदान गरेका थिए ।

फाइनल खेलअघि प्रमुख अतिथि रसमोर बरो काउन्सिल मेयर क्यालुम स्टेवार्टले गोर्खा कप आयोजकलाई बधाई दिंदै यस इभेन्टले स्थानीय व्यापार व्यवसाय प्रवर्धन र समुदायबीच ‘इन्ट्रीगेसन’ गर्न सघाएको बताए ।

आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कप भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले यस इभेन्ट बेलायती नेपाली समुदायकै साझा र सबैले अपनत्व गर्ने खालको बनेको उल्लेख गर्दै सबैको साथ बिना यो असम्भव रहेको बताए ।

कार्यक्रम संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्याप्टेन दिपक घलेले स्वागत मन्तव्य व्यक्त गर्दै सहयोगीप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा तमुधिं यूकेले रसमोर बरो काउन्सिलका लागि मेयरलाई ५०० पाउन्ड, गोर्खा वेलफेयर ट्रष्टका कर्णेल बीजीलाई ५०० पाउन्ड, अतिथि अन्डर १५ स्कटिस राष्ट्रिय खेलाडी मेलिसा रेग्मी र लेजेन्ड अफ गोर्खा कप विजेता डेनिस महर्जनलाई नगदसहित सम्मान गरेको छ ।

तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, अल्डरसट ग्यारिसनका कमान्डर लेफ्टिनेन्ट कर्णेल म्याकफर्सन, ब्रिगेड अफ गोर्खाजका कर्णेल रोबिन्सन, स्कटिस राष्ट्रिय फुटबल खेलाडी (अन्डर १५) मेलिसा रेग्मी, हिमालयन जेटका निर्देशक दीपेन्द्र गुरुङ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?