News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न सम्बन्धित तीन खेल संघसँग सम्झौता गरेको छ ।
- सम्झौता अनुसार महानगरपालिकाले क्रिकेटका लागि ७५ लाख, ब्याडमिन्टनका लागि ३० लाख र पौडी प्रतियोगिताका लागि १० लाख रुपियाँ उपलब्ध गराउनेछ ।
- कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थानीय स्तरमा खेलकुद प्रवर्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सहकार्य गरिएको बताइन् ।
१३ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न विभिन्न विधागत संघहरुसँग सम्झौता गरेको छ ।
महानगरपालिकाले ‘पिएल सिंह टी ट्वान्टी क्रिकेट कप’ आयोजना गर्न बागमती प्रदेश क्रिकेट संघसँग, काठमाडौँ महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न काठमाडौँ जिल्ला ब्याडमिन्टन संघसँग र काठमाडौँ महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्न नेपाल पौडी संघसँग सम्झौता गरेको हो ।
बुधबार काठमाडौँ प्लाजामा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सामाजिक समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र क्रिकेट संघका सचिव प्रशन्न शाक्य, ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा र पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठका बिच सम्झौता भएको हो ।
यी प्रतियोगिताहरु महानगरपालिकासँग संयुक्त ब्यानरमा सञ्चालन हुनेछन् ।
सम्झौता अनुसार क्रिकेट प्रतियोगिताका लागि महानगरपालिकाले ७५ लाख रुपियाँ, ब्याडमिन्टन प्रतियोगिताका लागि ३० लाख रुपियाँ र पौडी प्रतियोगिताका लागि १० लाख रुपियाँ उपलब्ध गराउनेछ । यी प्रतियोगिताका लागि संघहरुले २० प्रतिशत लागत सहभागिता व्यहोर्नु पर्नेछ । क्रिकेट असार ५ गतेभित्र, ब्याडमिन्टन असार २ गतेभित्र र पौडी प्रतियोगिता जेठ २३ र २४ गते आयोजना हुनेछ ।
क्रिकेट प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट खेलाडी सहभागी हुने गरी सञ्चालन गरिनेछ ।
राष्ट्रिय स्तरको खुला पौडी प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय र ओलम्पियनहरुका बिचमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय पौडी पोखरीमा जेठ २३ र २४ गते आयोजना हुनेछ ।
ब्याडमिन्टन प्रतियोगिता महानगर स्तरीय हो । यसमा सबै वडाबाट खेलाडी सहभागी गराएर सञ्चालन गरिनेछ ।
सम्झौतापछि संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय स्तरमा खेलकुदलाई प्रवर्धन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सहकार्य गरिएको बताइन् ।
खेल विकासका लागि सम्बन्धित क्षेत्रका खेलाडी र विज्ञहरुका साथमा बसेर काम गरिरहेको बताउँदै सामाजिक समितिका संयोजक के. सी. ले, सहकार्य, समन्वय र लगानी बढाउँदै लगिने बताए ।
महानगरपालिकाले खेल विकासका लागि अगाडि बढाएको हातले ठुलो टेवा पुगेको पौडी संघका अध्यक्ष श्रेष्ठले धारणा राखे । यस्तै ब्याडमिन्टन संघका अध्यक्ष थापाले, महानगरपालिकाले गर्व गर्न सक्ने प्रतियोगिता आयोजना गरिने बताए । क्रिकेट संघका सचिव शाक्यले, गएको वर्ष महानगरपालिकाको सहयोगमा क्रिकेट कोच उत्पादन गरिएको बताउँदै यस वर्षको सहयोगबाट महानगरपालिकाले खेलको विकासमा गरेको लगानीको प्रतिफल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्ने बनाइने योजना सुनाए ।
सम्झौता पछि खेल क्षेत्रको विकासका लागि पूर्वाधार विकास, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन, समुदाय स्तरमा खेलकुद कार्यक्रमको प्रवर्धनका लागि गर्न सकिने आपसी कामका विषयमा कुराकानी भएको थियो ।
महानगरपालिकाले यी प्रतियोगिता सञ्चालन गर्ने विषयमा जेठ ३ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो ।
प्रतिक्रिया 4