News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टोली चीनसँग ५ विकेटले पराजित भएसँगै एसियन गेम्सका लागि छनोट हुन असफल भएको छ ।
- वर्षाका कारण ७ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको लक्ष्य पछ्याउँदै चीनले अन्तिम बलमा रोमान्चक जित हात पार्यो ।
- नेपाललाई पराजित गरेको चीन र अर्को सेमिफाइनल जितेको थाइल्यान्ड एसियन गेम्सका लागि छनोट हुन सफल भएका छन् ।
१६ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियन गेम्सका लागि छनोट हुन असफल भएको छ ।
आइतबार भएको तेस्रो स्थानको खेलमा चीनसँग पराजित भएसँगै नेपाल छनोट हुन असफल भएको हो । वर्षाले प्रभावित भएर ७ ओभरमा घटाइएको खेलमा चीनले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
४३ रनको परिवर्तित लक्ष्य चीनले ७ ओभरमा नै पूरा गरेको हो । अन्तिम बलमा २ रन आवश्यक हुँदा चीनले चौका प्रहार गर्दै खेल जितेको हो । त्यसअघि राम्रो सुरुवात गरेको चीनमाथि नेपालले बीचका ओभरमा शानदार पुनरागमन गरेको थियो ।
पहिलो ओभरमै चीनले १६ रन जोडेको थियो । दोस्रो ओभरमा ७ रन जोडेपछि २३-० को बलियो अवस्थामा थियो । तेस्रो ओभरमा रिया शर्माले दुई विकेट लिँदा थप एक रनआउट विकेट पाएपछि नेपाल खेलमा फर्किएको थियो ।
चौथो ओभरमा कविता कुँवरले ३ रन मात्र दिइन् भने एक विकेट पनि आयो । पाँचौं ओभरमा रिया शर्माले ३ रन मात्र दिइन् । छैटौं ओभरमा मनिषा उपाध्यायले ६ रन दिइन् । अन्तिम ओभरमा चीनलाई ७ रन आवश्यक थियो ।
सीताले पहिलो बल डट राखिन् भने दोस्रो बलमा १ रन दिइन् । तेस्रो र चौथो बलमा १-१ रन आयो । पाँचौं बलमा वाइड स्टम्प आउट भएपछि चीनलाई २ बलमा ३ रन आवश्यक भयो । त्यसपछि १ रन लिएको चीनले अन्तिम बलमा चौका प्रहार गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । कविता कुँवरले अविजित २२ रन बनाउँदा कप्तान इन्दु बर्माले ११ रन बनाइन् ।
यसअघि शनिबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो । अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै एसियन गेम्समा स्थान बनाए ।
नेपाललाई हराएको चीन पनि एसियन गेम्समा छनोट भएको छ ।
प्रतिक्रिया 4