+
प्लेयर्स टु वाच :

गति र ड्रिब्लिङको नयाँ परिभाषा लेख्दै डेम्बेले

२०८३ जेठ  १७ गते २२:४७ २०८३ जेठ १७ गते २२:४७
गति र ड्रिब्लिङको नयाँ परिभाषा लेख्दै डेम्बेले

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेले २०२४-२५ सिजनमा पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १६ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे ।
  • ओस्मान डेम्बेलेले पीएसजीबाट खेल्दै सन् २०२५ मा लिग वान र क्लब इतिहासकै पहिलो युईएफए च्याम्पियन्स लिगसहित विभिन्न उपाधि जिते ।
  • सन् २०१८ को विश्वविजेता फ्रान्सेली टोलीका सदस्य डेम्बेलेले आगामी सन् २०२६ को फिफा विश्वकपमा गोल गर्ने लक्ष्य राखेका छन् ।

१७ जेठ, काठमाडौं । फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेको फुटबल यात्रा निकै संघर्षपूर्ण र प्रेरणादायी छ । युवा उमेरमै असाधारण गति, ड्रिब्लिङ र सिर्जनात्मक खेलशैलीले ध्यान तान्न सफल उनलाई फ्रान्सको एभ्रु क्लबले पहिचान चिनाएको थियो । लिग वानमा केवल एक सिजन खेलेपछि जर्मन क्लब बोरुसिया डर्टमन्डले डेम्बेलेलाई अनुबन्ध गर्‍यो ।

बुन्डेसलिगामा उनले देखाएको उत्कृष्ट प्रदर्शनपछि उनी विश्वकै चर्चित क्लब एफसी बार्सिलोना पुगे । बार्सिलोनामा रहँदा उनले तीन पटक ला लिगा, दुई पटक कोपा डेल रे र दुई पटक सुपरकोपा उपाधि जिते ।

यद्यपी चोटपटकले उनको करियरमा केही अवरोध सिर्जना गर्‍यो । लगातारको इन्जुरीका कारण उनले अपेक्षाअनुसार निरन्तर प्रदर्शन गर्न सकेनन् । त्यसपछि सन् २०२३ मा उनी फ्रान्स फर्किएर पीएसजीमा आबद्ध भए । उनले पुनः आफ्नो उत्कृष्ट लय समाते ।

डेम्बेलेको खेलशैली निकै आकर्षक मानिन्छ । तीव्र गति, दुवै खुट्टाबाट समान रूपमा खेल्न सक्ने क्षमता, उत्कृष्ट ड्रिब्लिङ र डिफेन्स चिर्ने पास उनका मुख्य विशेषता हुन् । उनी एक्लैले खेलको दिशा बदल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् ।

सन् २०२५ डेम्बेलेका लागि विशेष वर्ष बन्यो । पीएसजीले लिग वान, कुप द फ्रान्स, ट्रोफे दे शाँपियोँ जित्नुका साथै क्लब इतिहासकै पहिलो युईएफए च्याम्पियन्स लिगको उपाधि पनि जित्यो । फ्रान्स फिफा विश्वकप २०२२ को फाइनलसम्म पुग्न सफल भयो । डेम्बेले त्यस सफलताको केन्द्रमा रहेका प्रमुख खेलाडीमध्ये एक बने ।

डेम्बेलेलाई एफसी बार्सिलोनाले सन् २०१७ मा अनुबन्ध गर्दा करिब १०५ मिलियन युरो खर्चिएको थियो । त्यतिबेला उनी विश्व फुटबल इतिहासकै दोस्रो सबैभन्दा महँगा खेलाडी बनेका थिए । उनीभन्दा महँगा केवल नेयमार थिए, जसलाई पीएसजीले २२० मिलियन युरोमा बार्सिलोनाबाट भित्राएको थियो ।

बोरुसिया डर्टमन्डमा रहँदा डेम्बेलेले आफ्नो तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ र सिर्जनात्मक खेलमार्फत विश्व फुटबलको ध्यान तानेका थिए । त्यसैले बार्सिलोनाले उनलाई भविष्यको सुपरस्टारका रूपमा हेरेर ठूलो रकम खर्च गरेको थियो । तर स्पेनमा उनको यात्रा अपेक्षाअनुसार सहज भएन । लगातारको चोटपटकले उनको प्रदर्शनमा ठूलो असर गर्‍यो । बार्सिलोनामा बिताएका ६ वर्षमा उनले करिब १२० खेल गुमाए । जुन लगभग दुई पूर्ण सिजन बराबर हो । इन्जुरीका कारण उनले निरन्तर लय कायम राख्न संघर्ष गर्नुपर्‍यो ।

यद्यपी पीएसजी पुगेपछि डेम्बेलेले आफ्नो उत्कृष्ट लय पुनः भेट्टाए । सिजन २०२४–२५ उनका लागि करियरकै उत्कृष्टमध्ये एक बन्यो । उनले ५३ खेलमा ३५ गोल गरे भने १६ असिस्ट प्रदान गरे । यो संख्या उनले त्यसअघिका पाँच सिजनमा गरेको कुल योगदानभन्दा पनि बढी थियो ।

डेम्बेलेको यो पुनरागमनले उनले केवल प्रतिभामात्र नभई कठिन समयपछि पुनः उठ्न सक्ने मानसिकता पनि राख्छन् भन्ने प्रमाणित गरेको छ ।

डेम्बेलेको विश्वकप इतिहास

डेम्बेलेले कम उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा ठूलो सफलता हासिल गरेका थिए । केवल २१ वर्षको उमेरमा उनी फ्रान्सको टोलीबाट फिफा विश्वकप २०१८ को उपाधि जिते । रुस विश्वकपमा डेम्बेलेले समूह चरणका दुई खेलमा सुरुआती रोजाइ पाए ।

उनले अष्ट्रेलियाविरुद्ध २–१ को जित र डेनमार्कसँगको गोलरहित बराबरीमा खेलेका थिए । तर, नकआउट चरण सुरु भएपछि उनको भूमिका सीमित बन्यो । उरुग्वेविरुद्धको क्वार्टरफाइनलमा अन्तिम दुई मिनेट मात्र मैदान प्रवेश गर्नुबाहेक बाँकी खेलमा उनी बेन्चमै रहे । फ्रान्सले अन्ततः क्रोएसियालाई हराउँदै विश्वकप जित्दा डेम्बेले पनि विश्व विजेता टोलीका सदस्य बने ।

त्यसपछि फिफा विश्वकप २०२२ मा उनले आफ्नो प्रभाव अझ स्पष्ट रूपमा देखाए । प्रतियोगिताको पहिलो खेलमै अष्ट्रेलियाविरुद्ध किलियन एम्बाप्पेलाई गोलका लागि असिस्ट गर्दै फ्रान्सको ४–१ को जितमा योगदान दिए । पोल्यान्डविरुद्ध ३–१ को जितमा पनि उनले पुनः एम्बाप्पेसँग उत्कृष्ट समन्वय देखाए र टोलीलाई क्वार्टरफाइनल पुर्‍याउन मद्दत गरे ।

कतार विश्वकपको फाइनल विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बन्यो । फ्रान्स र अर्जेन्टिनाबीच अतिरिक्त समयसम्म ३–३ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अन्ततः अर्जेन्टिना विजेता बन्यो र फ्रान्स उपविजेतामै सीमित रह्यो ।

डेम्बेलेले फाइनल खेले पनि त्यो खेल उनका लागि कठिन रह्यो । फ्रान्स सुरुआतमै दबाबमा परेको थियो र २–० ले पछि परेपछि उनलाई ४१औं मिनेटमै मैदानबाट बाहिर निकालिएको थियो । त्यससँगै कतार विश्वकपमा उनको यात्रा पनि समाप्त भयो ।

डेम्बेलेका लागि फिफा विश्वकप २०२६ विशेष अवसर बन्न सक्छ । क्लब फुटबलमा लगातार सफल भए पनि उनले अझैसम्म विश्वकप वा युरोपियन च्याम्पियनसिपमा व्यक्तिगत रूपमा गोल गर्न सकेका छैनन् । त्यसैले आउदो विश्वकपमा गोल गर्ने सपना पूरा गर्ने उनको ठूलो लक्ष्य रहनेछ ।

विशेषगरी पीएसजीमा देखाएको हालको उत्कृष्ट प्रदर्शन हेर्दा डेम्बेले विश्वकप २०२६ मा फ्रान्सका सबैभन्दा खतरनाक खेलाडीमध्ये एक हुने अपेक्षा गरिएको छ । उनको गति, ड्रिब्लिङ, दुवै खुट्टाबाट खेल्न सक्ने क्षमता र आक्रमणमा सिर्जनात्मक शैलीले फ्रान्सलाई थप बलियो बनाउनेछ ।

युवा र अनुभवी स्टारहरूले भरिएको फ्रान्सेली टोलीलाई प्रतियोगिताको प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

ओस्मान डेम्बेले फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय