+
+
Shares

पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाटै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले १८ जेठदेखि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ ।
  • यो व्यवस्थाअन्तर्गत श्रमिकले सोही देश र कम्पनीका लागि आवेदन दिंदा स्वचालित रूपमै पुनः श्रम स्वीकृति पाउनेछन् ।
  • गलत विवरण भरेर आवेदन गरेमा त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी स्वयम् सेवाग्राहीले नै लिनुपर्ने विभागले जनाएको छ ।

१८ जेठ काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागु गरिएको विभागले जनाएको छ।

विभागले जारी गरेको सूचनाअनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले सोही देश र कम्पनीमा पुनः जानका लागि आवेदन गर्दा तोकिएका सबै शर्त पूरा गरेको अवस्थामा स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति प्रदान गरिनेछ।

स्वचालित पुनः श्रम स्वीकृति प्राप्त गर्न श्रमिकले पहिले श्रम स्वीकृति लिएको देश तथा कम्पनीकै लागि आवेदन दिएको हुनुपर्नेछ। साथै कम्तीमा तीन महिना अवधिको राहदानी वैधता, वैध भिसा, कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण र वैदेशिक रोजगारसम्बन्धी जीवन बीमा गरेको हुनुपर्ने विभागले जनाएको छ।

वैध भिसा र करार सम्झौतासम्बन्धी विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले फेमिस प्रणालीमा गलत विवरण भरेर वा तोकिएका कागजातविना पुनः श्रम स्वीकृतिका लागि आवेदन गरेमा त्यसबाट उत्पन्न हुने त्रुटि तथा समस्याको जिम्मेवारी स्वयम् सेवाग्राहीले वहन गर्नुपर्ने स्पष्ट गरेको छ।

यो व्यवस्था मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार कार्यक्रमअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको कार्ययोजनाअनुसार लागु गरिएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?