News Summary
Generated by OK AI. Editorially reviewed.- अल्पाईन स्पोर्ट्स फेडेरेसन नेपालको पाँचौं वार्षिक साधारणसभा तथा साहसिक खेलकुद कार्यक्रम दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोकमा सम्पन्न भएको छ ।
- समुद्री सतहबाट ३ हजार ४५० मिटर उचाइमा आयोजित टग अफ वार प्रतियोगिताको उपाधि बागमतीलाई पराजित गर्दै कोशी प्रदेशले जितेको छ ।
- दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंदेखि कालिन्चोकसम्म ‘टुर डे हिमालय’ अन्तर्गत मोटरसाइकल र्याली आयोजना गरिएको छ ।
१८ जेठ, काठमाडौं । विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाईन स्पोर्ट्स फेडेरेसन नेपालको पाँचौं वार्षिक साधारणसभा तथा विभिन्न साहसिक खेलकुद कार्यक्रमहरू हिमाली जिल्ला दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिन्चोकमा भव्यताका साथ सम्पन्न भएको छ ।
अल्पाईन, विन्टर, पर्वतीय, र साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासंघले समुद्री सतहबाट ३ हजार ४५० मिटर उचाईमा रहेको कुरी बजारमा जेठ १५ र १६ गते महासंघको साधारण सभासहित यी कार्यक्रमहरू आयोजना गरेको हो ।
महासंघको साधारणसभाले महासंघको आगामी कार्यदिशा तय गर्नुका साथै सांगठनिक ढाँचामा केही महत्त्वपूर्ण परिमार्जन गरेको छ ।
साभारण सभामा केन्द्रीय कार्यसमिति, विभिन्न प्रदेश (बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम), विज्ञ प्राविधिक तथा व्यावसायिक क्षेत्रबाट मनोनित ५ जनासहित कुल ३१ प्रतिनिधिमध्ये २२ जनाको उपस्थिति थियो । आमन्त्रित अतिथि, खेलप्रेमी र विज्ञहरू गरी कुल ४३ जनाको सहभागिता रहेको थियो ।
यसैगरी नेतृत्व र जिम्मेवारी हेरफेर गर्दै साधारणसभाले निष्क्रिय पदाधिकारीहरूलाई बिदाइ गर्दै केही पदमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ । महासंघको कार्यलाई थप व्यवस्थित बनाउन उमेश केसी चौलागाईंलाई जनरल म्यानेजर नियुक्त गरिएको जानकारी अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए ।
साधारण सभाले प्रगति तथा आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना प्रस्ताव र बजेट पारित गरेको छ । साथै, अडिटर नियुक्ति, पदाधिकारीहरूको विषयगत जिम्मेवारी, र राष्ट्रिय-अन्तर्राष्ट्रिय आबद्धता एवं सहकार्यसम्बन्धी विशेष प्रस्तावहरू पनि सर्वसम्मत पारित भएका छन् ।
कार्यक्रममा बिगु गाउँपालिकाका अध्यक्ष संजीव ओली र कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीको विभिन्न खेलका प्राविधिक, खेलप्रेमी तथा विज्ञ र व्यवसायिक व्यक्तित्वको सहभागीता रहेको थियो ।
‘हाई अल्टिच्युड टग अफ वार’
सगरमाथा दिवसकै अवसरमा नेपालकै सबैभन्दा बढी उचाई (३,४५० मिटर) मा ऐतिहासिक टग अफ वार (दोरी तान्ने) प्रतियोगिता पनि सम्पन्न भएको छ । अल्पाईन स्पोर्ट्स फेडेरेसनको आयोजना र नेपाल टग अफ वार एसोसिएसनको प्राविधिक सहयोगमा संचालित खेलमा कोशी प्रदेश विजेता बन्यो ।

फाइनल खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै पहिलो स्थान हासिल गर्यो । त्यसअघि बागमतीले कर्णाली–सुदूरपश्चिम टोलीलाई २–१ ले र कोशीले दोलखालाई २–० ले हराउँदै फाइनल प्रवेश गरेका थिए ।
उक्त प्रतियोगितामा कोशी, बागमती, कर्णाली–सुदूरपश्चिम र आयोजक दोलखा गरी ४ टोलीका कुल ४० खेलाडीहरू (८ मुख्य र २ वैकल्पिक) सहभागी थिए ।
विजेता टोलीहरूलाई आगामी दिनमा काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी पुरस्कृत गरिने महासंघले जनाएको छ ।
‘टुर डे हिमालय’: काठमाडौं–कालिन्चोक मोटरसाइकल र्याली
नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं–कालिन्चोक टिएसडी (सयम, गती र दूरी) मोटरसाइकल र्याली सम्पन्न भएको छ ।
अल्पाईन स्पोटर्स फेडेरेसन नेपालको आयोजनामा ‘टुर डे हिमालय’ ब्रान्ड अन्तर्गत भएको सो र्यालीलाई आगामी वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
जेठ १५ गते नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले फ्ल्याग अफ गरी सातदोबाटोस्थित महासंघको कार्यालयबाट र्यालीको शुभारम्भ गरेका थिए ।

एक्स पल्स राइडर्स क्लबको व्यवस्थापनमा संचालित र्याली बनेपा, दोलालघाट, खाँडीचौर, मुडे, र चरिकोट हुँदै कालिन्चोकको कुरी बजार पुगेर समापन भएको थियो ।
र्यालीमा २१ वटा मोटरसाइकल, ४१ खेलाडी र ८ प्राविधिक गरी कुल ४९ जनाको सहभागिता थियो ।
समय, गति र दूरीको संयोजन मिलाई ट्रान्स हिमालयन क्षेत्रको खेलकुदमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको यस र्यालीका सहभागीहरूलाई बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले स्वागत गरेका थिए ।
नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेल मार्फत दिगो पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित सो र्यालीले दोलखा र कालिन्चोक क्षेत्रलाई साहसिक खेलको गन्तव्यको रुपमा स्थापित गर्न ठूलो सहयोग पुग्ने विश्वास विश्वास लिइएको छ ।
प्रतिक्रिया 4