News Summary
Generated by OK AI. Editorially reviewed.- ललितकला क्याम्पस र रामचन्द्र मन्दिरको संयुक्त आयोजनामा ३० जेठदेखि पाँचदिने अन्तर्राष्ट्रिय संगीत महोत्सव आयोजना हुने भएको छ ।
- महोत्सवमा संगीत शिक्षामा कृत्रिम बुद्धिमत्ताको अवसर, बौद्धिक सम्पत्ति अधिकार र पर्यटनमा संगीतको भूमिकाबारे छलफल गरिने आयोजकले जनाएको छ ।
- ललितकला क्याम्पसका संगीत विभाग प्रमुख कृष्ण खरेलले भने, “नेपालमा यस प्रकारको कार्यक्रम सम्भवतः पहिलो पटक आयोजना हुन लागेको हो ।”
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पस र रामचन्द्र मन्दिरले संयुक्त रूपमा ३० जेठ (जुन १३) देखि पाँचदिने अन्तर्राष्ट्रिय संगीत महोत्सव आयोजना गर्ने भएका छन् ।
आयोजकका अनुसार महोत्सवको उद्देश्य क्षेत्रीय सांगीतिक परम्परा, परम्परागत वाद्यवादन तथा विश्वव्यापी संगीत प्रवृत्तिको विकासबारे छलफल र उत्सव मनाउन सकिने साझा अन्तर्राष्ट्रिय मञ्च निर्माण गर्नु हो ।
महोत्सवअन्तर्गत विभिन्न कार्यक्रम समानान्तर रूपमा सञ्चालन हुनेछन् । दिउँसोका सत्रमा शोधपत्र प्रस्तुति, संगीत शास्त्रसम्बन्धी कार्यशाला तथा अन्तरविषयगत सहकार्यलाई केन्द्रमा राखेर प्यानल छलफल गरिने भएको छ । सेमिनार छलफल ललितकला क्याम्पसमा र सांगीतिक प्रस्तुति बत्तीसपुतलीस्थित राम मन्दिरमा हुनेछ ।
संगीत शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) का अवसर र चुनौती, नेपालमा बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) तथा प्रतिलिपि अधिकारका सवाल, पर्यटनमा संगीतको भूमिका लगायत समकालीन सांगीतिक चुनौतीबारे अनुसन्धानात्मक प्रस्तुति हुनेछन् ।
साँझका सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । ‘नेपालमा यस प्रकारको कार्यक्रम सम्भवतः पहिलो पटक आयोजना हुन लागेको हो,’ ललितकला क्याम्पसको संगीत विभाग प्रमुख तथा महोत्सव संयोजक कृष्ण खरेलले भने, ‘यसले नेपाली संगीत र संगीतकर्मीलाई थप व्यापक परिचय र अवसर प्रदान गर्नेछ ।’
खरेलका अनुसार भारत, चीन, अमेरिका, बंगलादेश र श्रीलंकाका संगीतकर्मी तथा विद्वानहरू महोत्सवमा सहभागी हुने जनाइएको छ । महोत्सवमा रमेश पोखरेल, झोउ जियान, चन्दन विश्वकर्मा, ध्रुवेशचन्द्र रेग्मी, नागेन्द्रविक्रम राई, लबोनी चक्रवर्ती, सीता थापा, यतिराज अधिकारी, अग्रज भट्टराईलगायत कलाकारको प्रस्तुति हुने जनाइएको छ ।
प्रतिक्रिया 4