News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल हस्तकला महासंघले आर्थिक सुधार र निजी क्षेत्रको विकासलाई प्राथमिकता दिएको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ ।
- कच्चा पदार्थमा भन्सार महसुल कटौती र अन्तःशुल्क खारेजीले स्वदेशी हस्तकला उद्योगको उत्पादन लागत घट्ने महासंघको विश्वास छ ।
- महासंघले बजेटमा हस्तकला क्षेत्रमा युवा पुस्तालाई सिप हस्तान्तरण गर्ने ठोस कार्यक्रम र नीतिको अभाव रहेको औंल्याएको छ ।
१९ जेठ, काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई स्वागत गरेको छ । संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कर प्रणालीमा सरलीकरण, एआई तथा डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकता दिइएको भन्दै महासंघले स्वागत गरेको छ ।
बजेटले स्वदेशी उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिएको र २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइएको भन्दै महासंघले स्वागत गरेको छ । त्यस्तै ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेकोले कच्चा पदार्थ र तयारी वस्तुमा करको दरबीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको ठहर छ ।
यसबाट एसेम्बल परिपाटी हट्न गई उत्पादनमा मूल्य अभिवृद्धि हुने, स्वदेशी उद्योग सञ्चालनको लागत घट्ने र उत्पादन तथा निर्यात बढ्न जाने अपेक्षा महासंघको छ ।
बजेटबाट हस्तकलाजस्ता अधिकतम् मूल्य अभिवृद्धि हुने उद्योगलाई विश्व बजारमा प्रतिस्पर्र्धी तुल्याउन पनि सहयोग पुग्न जाने महासंघले उल्लेख गरेको छ । वार्षिक १० लाख रुपैयाँसम्म आय गर्नेलाई न्यून करको दायरामा ल्याउँदा र अधिकतम आयकर दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरेबाट हस्तकला क्षेत्रका लघु तथा साना उद्यमी व्यवसायी लाभान्वित हुन सक्ने महासंघले बताएको छ ।
उत्पादनमूलक उद्योग, नवप्रवद्र्धन र उल्लेख्य संख्यामा महिला उद्यमी रहेको हस्तकला व्यवसायमा महिला उद्यमी बजेटको सहुलियतपूर्ण कर्जाको व्यवस्थाबाट प्रोत्साहित हुने अवस्था रहेको बताइएको छ ।
औद्योगिक व्यवसाय ऐन र कम्पनी ऐनलाई समयानुकूल संशोधन गरिने, कम्पनी बन्द गर्न सहज व्यवस्था गरिने, बौद्धिक सम्पत्ति सम्बन्धी कानुन तर्जुमा गर्ने, बक्यौतामा लाग्ने ब्याज, जरिवाना, छुट गर्ने, चोरी पैठारी नियन्त्रणमा प्रतिवद्धता, उधारो असुली ऐन ल्याउने प्रतिवद्धता जस्ता बजेटका सकारात्मक पक्ष रहेको महासंघको ठहर छ ।
नेपाललाई आगामी २ वर्षपछि मात्र विकासशिल राष्ट्रमा स्तरोन्नति गर्ने गरी समयावधि थप गर्ने व्यवस्थासँगै निर्यातमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको नगद प्रोत्साहन पूर्ववत् रुपमा निरन्तर भएमा हस्तकला उद्यमी व्यवसायीलाई प्रतिस्पर्धी क्षमता बढाउनको लागि राहत पुग्ने महासंघको भनाइ छ ।
बजेटबाट ‘मेक इन नेपाल मेड इन नेपाल’ अभियानलाई अगाडि बढाउन पनि सहयोग पुग्ने महासंघले बताएको छ । ‘स्वदेशी काष्ठ उद्योगलाई प्रोत्साहित गर्ने बजेटको नीतिले काष्ठकला क्षेत्रमा हाल भइरहेको कच्चा पदार्थको आपूर्ति सहज हुने र यस क्षेत्रमा संलग्न उद्योगीहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्न जाने विश्वास छ’ महासंघले भनेको छ ।
नेपाल व्यापार एकीकृत रणनीतिको दायरा फराकिलो पार्ने विषयको प्रशंसा गरिएको छ । त्यसभित्र ३६ विधा र झण्डै ८३ प्रकारका वस्तु समावेश हस्तकता क्षेत्रलाई समेट्नुपर्ने महासंघको माग रहेको छ ।
‘नेपालको मौलिकता बोकेको सिप र श्रमप्रधान, रोजगारमूलक एवम् विदेशी मुद्रा आर्जन गर्ने निर्यातमूलक हस्तकला वस्तुको दिगो निर्यात प्रवद्र्धनको साथै यस क्षेत्रको लागि युवा पुस्तामा सिप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी आवश्यक योजना र कार्यक्रम अभाव बजेटमा देखिएको छ’ महासंघले भनेको छ ‘साथै उत्पादन क्षेत्रका लागि स्पष्ट रणनीतिको अभाव, उद्योग सम्बन्धी विषय वस्तु धेरै उल्लेख भएता पनि प्राकृतिक रेसाजन्य कपडा उद्योग सम्बन्धी ठोस कार्यक्रम र नीति बजेटमा पाइएन ।’
उद्यमी व्यवसायीको अपेक्षा अनुसार यस तर्पmपनि बजेट विनियोजन हुनुपर्ने नेपाल हस्तकला महासंघको माग छ ।
प्रतिक्रिया 4