+
+
Shares

सभामुखको भूमिकालाई लिएर राष्ट्रिय सभामा पनि उठ्यो प्रश्न

खासगरी प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनको सन्दर्भलाई लिएर नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सभामुखको भूमिकामाथि प्रश्न उठाएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्दा नियमावली पालना नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएकी छन्।
  • प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको जग्गा मिचेको भनी दिएको अभिव्यक्ति बिना अध्ययन र बिना तयारी आएको भन्दै सांसद देवकोटाले विरोध गरिन्।
  • सदन अवरुद्ध भएको विषयमा विपक्षीले तथ्य माग गर्दा सरकार पन्छिन खोजेको आरोप सांसद देवकोटाले राष्ट्रिय सभामा लगाएकी छन्।

२० जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) को  भूमिकालाई लिएर राष्ट्रिय सभामा पनि प्रश्न उठेको छ ।

खासगरी प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनको सन्दर्भलाई लिएर नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सभामुखको भूमिकामाथि प्रश्न उठाएकी हुन् ।

उनले भनेकी छन्, ‘सरकार गठन भएको ६६ दिनमा एकाएक प्रधानमन्त्री संसद्‍मा आउनु र संसद्‍मा कार्यविधि विपरीत प्रश्नोत्तर कार्यक्रम राख्नु र यसमा सभामुखले समेत समय दिनु र यो कार्यसूची ल्याउनुमा म सभामुखको पनि गैरजिम्मेवारीपूर्ण कदम, उहाँको गैरजिम्मेवारीपूर्ण काम भनेर म सम्झन चाहन्छु ।’

गत आइतबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका  प्रधानमन्त्री बालेनले हात उठाएर सभामखुसँग समय मागेका थिए । सभामुखले समय दिएपछि रोष्ट्रम गए । रोष्ट्रम पुगेर उनले सांसदहरूले प्रश्न सोध्न चाहिरहेको उल्लेख गर्दै प्रश्न लिने प्रक्रिया अगाडि बढाउन सभामुखलाई आग्रह गरेका थिए ।

त्यसपछि सभामुख अर्यालले सांसदहरूसँग प्रश्न लिने प्रक्रिया अगाडि बढाएका थिए । यो विषयमा सोही दिन प्रतिनिधिसभामै समेत प्रश्न उठेको थियो । प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको विधि पालना नभएको भनेर प्रश्न उठेको थियो ।

यो विषयमा सभामुखको भूमिका समेत जिम्मेवारीपूर्ण नदेखिएको भनेर एमाले सांसद देवकोटाले राष्ट्रिय सभामा प्रश्न उठाएकी हुन् ।

साथै, प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिमा समेत उनको प्रश्न छ ।

गत आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिको विरोध गर्दै एमाले सांसद देवकोटाले बिना अध्ययन, बिना तयारी बोल्नु दुर्भाग्यपूर्ण रहेको बताएकी हुन् ।

यो विषयमा विपक्षीले तथ्य माग गरेपछि दिनुपर्नेमा सरकार पन्छिन खोजिरहेको भनेर उनले अर्को प्रश्न उठाइन् ।

उनले भनेकी छन्, ‘चार दिन देखि यो सदन चल्न नसक्दा दु:खी पनि छौं’ उनले भन्छिन्, ‘प्रतिनिधिसभा र राष्ट्रिय सभा अलग त होला, तर फरक छैन भन्ने हामीले अनुभूत गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?