+
+
Shares

आयोगले लिएको थियो ३१ मिनेट रेकर्डेड बयान, ओलीले भने- मैले दिएको छैन

आयोगका कार्मचारीले रेकर्ड गर्न थालेपछि ओलीले सहयोगीसँग फोन मागे । रेकर्ड गर्न आइफोन लिएर आएकी सहयोगीलाई उनले भने- आइफोनको त भर हुँदैन अर्को ल्याउनु ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८३ जेठ २० गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले "मैले बयान दिइन" भनी दाबी गरे पनि आयोगका पूर्वसदस्य विज्ञानराज शर्माले त्यसको खण्डन गर्नुभएको छ ।
  • आयोगका कर्मचारीले ओलीको भक्तपुरस्थित निवासमा पुगेर ३१ मिनेट लामो रेकर्डेड बयान लिएका थिए ।
  • ओलीको उक्त अडियो रेकर्ड र प्रतिवेदन हाल पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वको समितिमा पुगेको छ ।

२० जेठ, काठमाडौं । ‘मैले त्यसै बेला भनेको थिए, आयोगमा बयान दिन्न । मैले बयान दिईनँ, तर आयोगले बयान दियो भनेर छाप्यो । म त्यसको धेरै लफडामा जान चाहन्न । आयोगले मलाई प्रश्नपत्र पठाएको थियो, मैले बुझ्न पनि मानिन, बुझ्दा पनि बुझिनँ ।

यो आयोगलाई मान्यता दिन्न, म पत्र बुझ्दिन भनेर पठाइदिए । त्यो कुरा नगरेर उनीहरुले बयान दियो भनेर छापे । आयोगले आफ्नो इज्जतका लागि गरेको होला, त्यसमा मेरो भन्नु केही छैन । मैले बयान दिइन ।’

बुधबार एमालेको संगठन विभागले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा बयान नदिएको जिकिर गरे ।

२१ फागुनको चुनावमा झापा–५ मा पराजित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले कार्की आयोगमा आफूले बयान नै नदिएको जिकिर गरेका हुन् ।

‘बयान नै नदिएको भए उहाँले यो यो कुरा भन्नुभयो भनेर कसरी लिखित रुपमा प्रतिवेदनमा आउँछ र ?’ आयोगका सदस्य एवं प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले अनलाइनखबरसँग भने, ‘उहाँको रेकर्डेड बयान छ । मैले जे बोले, मेरो कुरा यही हो भन्दै भन्दै अन्तिममा यो मेरो बयान होइन है भनेर दोहोरो अर्थ लाग्नेगरी उहाँले बोलेका कुराहरू सुरक्षित छन् । आफ्नो जिम्मेवारी टुंग्याएर प्रतिवेदन बुझाइसकेको आयोगका बारेमा यो भन्दा ज्यादा भन्न चाहन्नँ।’

तत्कालीन जाँचबुझ आयोगमा काम गरेका एक सुरक्षाकर्मीका अनुसार, आयोगले एक कर्मचारीलाई पठाएर पूर्वप्रधानमन्त्री ओलीको बयान लिएको थियो ।

बयान लिएर फर्केपछि ती कर्मचारीले आयोगका अध्यक्ष र अरु दुईजना सदस्यहरुका सामू सिंहदरवारबाट निस्केर जाँदादेखि फर्किँदासम्मको सबै घटना विवरणको फेहरिस्त सुनाएका थिए ।

आफूले रेकर्ड गरेको ३१ मिनेटको अडियो रेकर्ड आयोगमा बुझाएका थिए । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ‘बयानको प्रतिवेदन पनि दिनुस्’ भनेपछि चार पेज लामो प्रतिवेदन तयार पारेर बुझाएका थिए ।

ती सबै कागजात आयोगले तत्कालीन सरकारलाई बुझाएको थियो । त्यो अडियो र आयोगको प्रतिवेदन सहितको दस्तावेज अहिले पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वको समितिमा पुगेको छ ।

प्रेमराज कार्की नेतृत्वको समितिले भदौ २३ को घटनामा सुरक्षाकर्मीहरुमाथि गर्नुपर्ने कारबाहीका वारेमा अध्ययन गर्दैछ ।

‘मैले किन बयान दिनुपर्ने ?’

२० पुस, २०८२ । करिब मध्यान्हतिर । रातो नम्बरप्लेटको एउटा सेतो गाडी बरफबाग छेवैको गेटबाट सिंहदरवारभित्र पस्छ र सोझै पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि आएर रोकिन्छ ।

जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगको कार्यालय बनाइएको उक्त ठाँउबाट एकजना कर्मचारी आफ्नो झोला सहित गाडीभित्र पस्छन् । र, गाडी सिंहदरबारबाट निस्कन्छ र गुण्डुस्थित एमाले अध्यक्ष केपी ओलीको निवास बाहिर पुगेर रोकिन्छ ।

गुण्डस्थित ओली निवास बाहिर सुरक्षाका लागि तैनाथ निजी सुरक्षाकर्मीहरूले गाडीभित्र हेरे र खोजतलास गरे । निवासभित्रका सुरक्षाकर्मीहरुले ‘सुरक्षा कोड’ मागे । र, त्यो गाडीका चालकले बताएपछि गाडी ओलीनिवासभित्र पुग्यो । र, जाँचबुझ आयोगबाट गएका कर्मचारी ओली निवास परिसरमा झरे ।

आयोगका ती सुरक्षाकर्मीका अनुसार, बयान लिन गएका कर्मचारीलाई गुण्डुस्थित ओली निवासमा राखिएको थियो । र, एक सहयोगी महिला आएर, ‘उहाँले खाना खाँदै हुनुहुन्छ, पर्खनुस् है’ भनेर गइन् । उनलाई केहीबेर त्यहाँ कुराइएको थियो ।

त्यसपछि ओली ती कर्मचारीलाई राखिएको ठाँउमा आए । अनि आयोगका कामकारबाही र अरु हरेक विषयमा आफू अपडेट भएको दाबी गरे । आफूलाई बयान लिन आउने कर्मचारीको बारेमा उनले पहिले नै विस्तृत विवरण बुझेर बसेका रहेछन् ।

उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विशेश्वर भण्डारी र विज्ञानराज शर्माका बारे बताए ।

त्यसक्रममा ओलीले ‘आयोगमा भएका मानिसहरूमध्ये पूर्वएआईजी विज्ञानराज शर्मा आफूप्रति पूर्वाग्रही भएको र त्यसको कारण आफूले थाह पाउन नसकेको’ बताए ।

आयोगका अरु कुनै पदाधिकारीहरूसँग आफ्नो व्यक्तिगत समस्या र पूर्वाग्रह नभएको तर अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाका कारण पूर्वाग्रही रुपमा प्रतिवेदन आउनसक्ने भन्दै आशंका व्यक्त गरिरहे । ती कर्मचारीले आयोगमा बताए अनुसार, ‘बयानअघिको कुराकानीमा ओलीले कार्की स्वयं इमान्दार न्यायाधीश रहेको भन्दै पटकपटक प्रशंसा गरिरहे ।’

त्यतिबेला पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेमा बस्न थालेका थिए । आयोगमा बयान दिनुअघि र दिएपछि समेत उनी ओली निवासमा पुगेको भनेर आयोगले सूचना संकलन गरेको थियो । आयोगले सोधेका प्रश्न मात्रै होइन, आफूले त्यसका आधारमा दिएको लिखित जवाफ समेत लेखकले ओलीलाई बुझाएका थिए ।

बयान सुरु हुनुअघि नै ‘आफूलाई कतैपनि कसैले नमुछेको र नाम नपोलेको’ भन्दै ओलीले ‘यस्तो अवस्थामा किन मेरो बयान लिनुपर्ने आवश्यकता परेको हो ?’ भनेर प्रश्न गर्न थाले । उनले त्यही अडान राखेर लामो प्रवचन समेत दिए ।

ती कर्मचारीसँग पूर्वप्रधानमन्त्री ओलीले भने, ‘रमेश लेखकको नै बयान आइसकेपछि र अरु कसैले पनि मेरो नाम नमुछेपछि त पूर्वप्रधानमन्त्रीको बयान लिनुपर्ने देखिएन’ भनेर निर्णय गरेको भए र त्यसपछि केही सोधपुछ भए आए हुन्थ्यो । यो त मजा भएन ।’

ओलीले कुराकानी लम्ब्याउन खोजेपछि आयोगका ती कर्मचारीले भने, ‘म आयोगले पठाएर आएको कर्मचारी हुँ । तपाईले यी प्रश्नहरुको जवाफ दिन नचाहने हो भने मैले यी यी प्रश्न सोधे, उहाँले यसवारेमा केही बताउन र प्रतिक्रिया दिन चाहनुभएन भनेर प्रतिवेदन तयार पार्छु ।’

त्यसपछि ती कर्मचारीले थपे, ‘प्रतिवेदन आयोगसमक्ष पेश गर्छु । प्रतिवेदन पेश गरेपछि तपाईंले म्याद नबुझेको र आयोगले सोधपुछलाई डाकेकोबारे थाह नपाएको भन्ने हुँदैन ।’

‘आइफोनको भर हुँदैन, अर्को ल्याउनु’

बयान दिन इन्कार गरेको प्रतिवेदन पेश हुने चेतावनीपछि त्यसपछि ओली अलि नरम बने । अनि आफूले तयार पारेको ५/७ पेजको कागज बुझाए ।

बयान लिन गएका कर्मचारीले ‘यसका भरमा मात्रै हुFदैन’ भनेर झोलाबाट रेकर्डर निकाल्न खोजे अनि बयान लिनुपर्ने अडान राखे । रेकर्डेड बयानका लागि शुरुमा ओली तयार भएनन् ।

त्यसपछि कर्मचारीले ‘त्यसो भए तपाईं बोल्न तयार हुनुभएन’ भनेर लिखित प्रतिवेदन बुझाउँछु भन्न थाले । अनि ओली रेकर्डेड बयान दिन तयार भए ।

आयोगका पदाधिकारीहरूले तयार पारिदिएको ६०/७० वटा प्रश्नहरू एक/एक गरी सुन्न र त्यसैगरी जवाफ दिन ओली तयार भएनन् । ओली एकमुष्ट रुपमा आफ्नो भनाई राख्नमात्रै राजी भए ।

त्यसपछि ओलीले ‘बयानको रेकर्ड मसँग पनि रहनुपर्छ’ भन्दै सहयोगी महिलालाई बोलाएर मोवाइल झिकाए । अर्को व्यक्तिले आइफोन ल्याइदियो । ओलीले भने, ‘आइफोनको त भर हुँदैन, सबै डाटा कपी गर्न मिल्छ रे । अर्को ल्याउनु ।’ त्यसपछि सहयोगीले अर्को मोवाइलको सेट ल्याए । र, ओलीले त्यसमा पनि रेकर्ड गरे ।

बयानका लागि गएका कर्मचारीले ‘म फलानो कर्मचारी हुँ, म यो यो कामका लागि पूर्वप्रधानमन्त्रीज्यूको निवासमा आएको छु । अब मैले उहाँसँग मौखिक र रेकर्डेड बयान लिनेछु भनेर रेकर्ड गराए र ओलीलाई सोधे, ‘तपाईं यो बयान रेकर्डका लागि तयार हुनुहुन्छ ?’

ओलीले जवाफमा आफ्नो एकमुष्ट भनाई राखे । र, अन्तिममा फेरि ती कर्मचारीले मैले उहाँको मञ्जुरीमा उहाँको बयान रेकर्ड गरेँ’ भनेर कुराकानी टुंग्याएका थिए । अन्तिममा विदावारी हुनथाल्दा ओलीले भने, ‘तपाईंलाई अघि आएकै गाडीले तपाईं चढेकै ठाँउमा छाडिदिन्छ ।’

ओली र ती कर्मचारीको कुराकानी चलुञ्जेल गुण्डुस्थित निवासमा रहेका ती चालकले सुरुमा झै मास्क लगाएका थिए र ती कर्मचारीलाई पुरानो प्रधानमन्त्री कार्यालय परिसर बाहिर लगेर छाडिदिए । अनि ती कर्मचारीले अडियोको रेकर्ड, केही कागजात र चार पेश लामो प्रतिवेदन आयोगमा बुझाएका थिए ।

‘बयान दियो भनेर छापेछ’

जेनजी आन्दोलनका दौरान भदौ २३ मा भएको घटनामा विभागीय मन्त्रालयको हैसियतले गृह मन्त्रालय जवाफदेही हुनुपर्ने भएपनि त्यसमा प्रधानमन्त्रीको भूमिका नहुने भनी ओलीले आफ्नो बचाउ गरेका थिए ।

‘हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको हो । मेरो सबै सम्पत्ति जलाइयो र मलाई बस्न दिए बापत अरुको निजी सम्पत्ति पनि जलाइयो’ ओलीले आयोगको बयानमा भनेका थिए, ‘तेह्रथुम जिल्लामा एकमात्र आगलागी भएको घर मेरो हो । यो सबै गर्नूरुलाई सोधीखोजी र बयान लिने काम आयोगबाट भयो कि भएन ?’

बुधबारको कार्यक्रममा ओलीले गौरीबहादुर कार्कीले ‘फलाना फलानालाई कारबाही गर्नुपर्छ’ भनेर अभिव्यक्ति दिएको र आफू लगायतलाई दोषी देखाउन उनैको नेतृत्वमा आयोग बनेकाले आफूले प्रश्न उठाएको बताए । त्यही बोले बापत कार्कीको अध्यक्षतामा आयोग बनेको हो ।

‘त्यसका लागि उनीहरूले गौरीबहादुर कार्कीको आयोग बनाए । कार्की आफैंले फलाना फलानालाई कारबाही गर्नुपर्छ भनेर एउटै बोली बोलेका थिए’ ओलीले भने, ‘मैले त्यसै बेला भनेको थिएँ, बयान दिन्नँ । बयान दिन जान्छ । मैले बयान दिईनँ, तर आयोगले बयान दियो भनेर छाप्यो । म त्यसको धेरै लफडामा जान चाहन्न ।’

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?