२२ जेठ, काठमाडौं । झापाको दमकमा युवतीको हत्या गरेर बोरामा हाली खोलामा फालेको घटनाका अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार राति अभियुक्त पक्राउ परेको पुष्टि गरेको छ ।
झापको दमक नगरपालिका–१० स्थित रतुवामाई खोलाको पुलमुनि जेठ १६ गते सेतो बोरामा पोको पारी राखिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो ।
सो शव दमक–८ बसन्त टोल बस्ने २१ वर्षीय रोमा(रमा) तिवारीको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त शव आफ्नै छोरीको रहेको उनका बुबा नारायण तिवारीले सनाखत गरेको प्रहरीले जनाएको छ ।
शव फेला परेपछि कोशी प्रदेश प्रहरी कार्यालयक धरानको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरेपछि अभियुक्तसम्म पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको सूक्ष्म निगरानी, प्राविधिक विश्लेषण र घटनास्थल वरपरको सीसीटीभी फुटेजको अध्ययन र विश्लेषण गरेर अभियुक्तको पहिचान रिएको झापा प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जसअनुसार अभियुक्त भारतको बिहार प्रदेश अररिया जिल्लाका ३४ वर्षीय राकेशकुमार पण्डित रहेको खुलेको प्रहरीले भनेको छ ।
उनी दमक नगरपालिका–५मा डेरा गरेर बस्ने र टाइल्सको मिस्त्रीका रूपमा काम गर्ने खुलेको प्रहरीले भनेको छ ।
उनलाई बिहीबार राति ११ बजे कोठाबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त पण्डितले हत्या गरेको स्वीकार पनि गरेका छन् । उनले पैसा सम्बन्धी विवाद उत्पन्न हुँदा भएको झगडामा हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक रोमासँग भेट हुँदा लगाएको टी–सर्ट, पाइन्ट, जुत्ता र मृतकलाई चढाएर लगेको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया 4