+
+
Shares

ट्रम्पको १७ महिने कार्यकालमा चार हजार ६०० भारतीय अमेरिकाबाट डिपोर्ट

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका, भिसाको अवधि सकिएर पनि बसेका वा बिना कुनै कागजात बसोबास गरिरहेका व्यक्तिहरूलाई अमेरिकाले डिपोर्ट गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १६:०३

२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १७ महिने कार्यकालमा ठूलो संख्यामा भारतीय नागरिक अमेरिकाबाट निष्काशित गरिएको छ । ट्रम्पले कार्यभार सम्हालेयताका १७ महिनामा ४ हजार ६०० भन्दा बढी भारतीय अमेरिकाबाट देशनिकाला (डिपोर्ट) हुँदै भारत पुर्‍याइएका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

उनले सन् २०२६ मा अहिलेसम्म एक हजार ७६ जना भारतीय नागरिकलाई अमेरिकाबाट भारत फर्काइएको जानकारी दिए ।

यसैगरी सन् २०२५ मा कुल ३ हजार ५६७ जनालाई अमेरिकाले देशनिकाला गरेको थियो । ट्रम्पको प्रशासनले आप्रवासनको मुद्दा प्रमुख र संवेदनशील राजनीतिक विषका रूपमा उठाउँदै आएको छ ।

भारतीय विदेश मन्त्रालयले गैरकानुनी रूपमा विदेशमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई फिर्ता लिनु सबै देशको दायित्व भएको बताएको छ ।

तर, यो प्रक्रिया सम्बन्धित व्यक्तिको राष्ट्रियता प्रमाणीकरण भएपछि मात्र लागु हुने उसको भनाइ छ ।

भारतले ‘यो भारतले मात्र अपनाएको नीति नभई अन्तर्राष्ट्रिय सम्बन्धमा सर्वस्वीकार्य सिद्धान्त रहेको’ भन्दै बचाउ गर्दैआएको छ ।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका, भिसाको अवधि सकिएर पनि बसेका वा बिना कुनै कागजात बसोबास गरिरहेका व्यक्तिहरूलाई अमेरिकाले डिपोर्ट गरिरहेको छ ।

भारतले अमेरिकाले डिपोर्ट गर्न खोजेका व्यक्तिहरूको सूची आफ्ना एजेन्सीहरूले सुक्ष्म रूपमा हेर्ने, छानबिन र प्रमाणीकरणमा भारतीय नागरिक पुष्टि भए मात्रै स्वीकार गर्ने गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?