News Summary
Generated by OK AI. Editorially reviewed.- मस्तिष्कको मर्मत र विषाक्त प्रोटिन सफा गर्न पर्याप्त निद्रा आवश्यक रहेको स्नायु रोग विशेषज्ञ डा. राजीव झाले बताए ।
- निद्राको कमीले स्मरणशक्ति कमजोर हुने, ध्यान केन्द्रित गर्न कठिन हुने र डिप्रेसन जस्ता मानसिक समस्याको जोखिम बढ्ने देखिन्छ ।
रातभर जाग्राम बस्ने, मोबाइल चलाउँदै अबेरसम्म सुत्ने, कामको चापका कारण निद्राको समय कटौती गर्ने वा ‘सुत्नुभन्दा काम महत्वपूर्ण’ ठान्ने बानी आधुनिक जीवनशैलीको सामान्य हिस्सा बन्दै गएको छ ।
शरीरलाई जति खाना र पानी आवश्यक पर्छ, मस्तिष्कलाई त्यति नै आवश्यक हुन्छ पर्याप्त र गुणस्तरीय निद्रा । निद्रा केवल शरीरलाई आराम दिने अवस्था मात्र होइन । यो मस्तिष्कले आफूलाई मर्मत गर्ने, दिनभर संकलित जानकारीलाई व्यवस्थित गर्ने र विभिन्न जैविक कार्यहरू सन्तुलित राख्ने महत्वपूर्ण प्रक्रिया हो ।
जब पर्याप्त निद्रा पुग्दैन, मस्तिष्कको कार्यक्षमतामा प्रत्यक्ष असर पर्न थाल्छ । स्मरणशक्ति कमजोर हुने, ध्यान केन्द्रित गर्न कठिन हुने, निर्णय क्षमता घट्ने तथा मानसिक र शारीरिक स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छन् । मस्तिष्कको कार्यमा आएको अवरोधले अन्ततः व्यक्तिको दैनिक जीवन, कार्यक्षमता र समग्र स्वास्थ्यलाई प्रभावित बनाउँछ ।
निद्रामा सक्रिय हुन्छ, मस्तिष्क
धेरै मानिस निद्रालाई निष्क्रिय अवस्था ठान्छन्, तर वास्तविकता यसको ठीक उल्टो छ । सुतिरहेको समयमा पनि मस्तिष्क अत्यन्त सक्रिय रहन्छ । निद्राका विभिन्न चरणहरू हुन्छन्, जसमा नन र्यापिड आई मुभमेन्ट र र्यापिड आई मुभमेन्ट प्रमुख हुन् । यी चरणहरूले मस्तिष्कको स्वास्थ्य कायम राख्न फरक–फरक भूमिका खेल्छन् ।
गहिरो निद्राको समयमा मस्तिष्कले दिनभरि प्रयोग भएका स्नायु सञ्जालहरूको मर्मत गर्छ । शरीरले ग्रोथ हर्मोन उत्पादन बढाउँछ, जसले कोषहरूको पुनर्निर्माणमा मद्दत गर्छ ।
आरइएम निद्राको क्रममा भने मस्तिष्कले भावनात्मक अनुभवहरू प्रशोधन गर्ने, सिकेका कुरालाई स्मृतिमा रूपान्तरण गर्ने तथा सिर्जनात्मक सोचलाई व्यवस्थित गर्ने काम गर्छ ।
हालका अध्ययनले निद्राका बेला मस्तिष्कमा रहेको ‘ग्लिम्फाटिक प्रणाली’ सक्रिय हुने देखाएका छन् । यो प्रणालीले मस्तिष्कमा जम्मा भएका फोहोर तथा विषाक्त प्रोटिन हटाउने काम गर्छ । विशेषगरी अल्जाइमर रोगसँग सम्बन्धित बीटा–एमाइलोइड प्रोटिन निद्राको समयमा बढी मात्रामा सफा हुने प्रमाण भेटिएको छ ।
त्यसैले, पर्याप्त निद्रा मस्तिष्कको दीर्घकालीन स्वास्थ्यका लागि अत्यन्त आवश्यक मानिन्छ ।
स्मरणशक्ति र सिकाइ प्रक्रियामा निद्राको भूमिका
विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता वा कुनै पनि पेशाका व्यक्तिका लागि स्मरणशक्ति महत्वपूर्ण हुन्छ । वैज्ञानिक रूपमा हेर्दा, स्मरणशक्ति निर्माण र संरक्षणमा निद्राको प्रत्यक्ष भूमिका हुन्छ । मानिसले दिनभरि सिकेका सूचना सुरुमा मस्तिष्कको हिप्पोक्याम्पसमा अस्थायी रूपमा भण्डारण हुन्छन् ।
निद्राको समयमा ती सूचनाहरू दीर्घकालीन स्मृतिका रूपमा मस्तिष्कका अन्य भागमा स्थानान्तरण गरिन्छन् ।
निद्रा पुगेन भने के हुन्छ ?
जब मानिसले पर्याप्त निद्रा पाउँदैन, माथि उल्लेखित सबै प्रक्रिया प्रभावित हुन्छन् । परिणामस्वरूप स्मरणशक्ति कमजोर हुने, ध्यान केन्द्रित गर्न कठिन हुने, निर्णय क्षमता घट्ने, मानसिक तनाव बढ्ने र दीर्घकालीन रूपमा विभिन्न स्नायु तथा मानसिक रोगको जोखिम बढ्न सक्छ ।
यदि पर्याप्त निद्रा भएन भने नयाँ कुरा सिक्ने क्षमता घट्न थाल्छ । एक रातको निद्रा अभावले पनि ध्यान केन्द्रित गर्ने क्षमता, प्रतिक्रिया समय र समस्या समाधान गर्ने क्षमतामा उल्लेखनीय गिरावट आउन सक्छ ।
विद्यार्थीहरूमा परीक्षा अगाडि रातभर जाग्राम बस्ने बानीले उल्टै स्मरणशक्ति कमजोर बनाउन सक्छ । दीर्घकालीन रूपमा निद्राको कमीले न्युरोनबीचको सम्बन्ध कमजोर बनाउने तथा मस्तिष्कको कार्यक्षमता घटाउने जोखिम पनि बढाउँछ । यही कारण विशेषज्ञहरूले अध्ययन वा बौद्धिक कार्यको सफलता केवल मेहनतमा होइन, पर्याप्त निद्रामा पनि निर्भर हुने बताउँछन् ।
मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा असर
निद्रा र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध छ । पर्याप्त निद्रा नपाउँदा मानिस चिडचिडे हुने, भावनात्मक रूपमा अस्थिर हुने तथा तनावप्रति बढी संवेदनशील बन्ने देखिएको छ । यसको मुख्य कारण निद्राको कमीले मस्तिष्कको भावनात्मक नियन्त्रण केन्द्र ‘अमिग्डाला’ र निर्णय गर्ने भाग ‘प्रिफ्रन्टल कोर्टेक्स’ बीचको समन्वय कमजोर बनाउनु हो ।
अध्ययनले निद्रा अभाव भएका व्यक्तिमा डिप्रेसन, चिन्ता, प्यानिक डिसअर्डर तथा अन्य मानसिक स्वास्थ्य समस्याको जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएका छन् ।
पर्याप्त निद्रा नपाउँदा तनाव हर्मोन कोर्टिसोलको स्तर बढ्छ, जसले मानसिक स्वास्थ्यमा थप नकारात्मक प्रभाव पार्छ ।
केही अध्ययनहरूमा लगातार निद्रा अभाव भएका व्यक्तिमा भावनात्मक प्रतिक्रिया सामान्यभन्दा धेरै तीव्र हुने, साना समस्याले पनि अत्यधिक तनाव उत्पन्न गर्ने तथा सामाजिक सम्बन्धमा कठिनाइ आउने देखिएको छ । त्यसैले, मानसिक स्वास्थ्य सुधारका लागि औषधि वा परामर्शसँगै निद्राको गुणस्तर सुधारलाई पनि प्राथमिकता दिइन्छ ।
स्नायु रोगको जोखिम
एक–दुई रात कम सुत्नु र वर्षौंसम्म नियमित रूपमा पर्याप्त निद्रा नपाउनुबीच ठूलो फरक हुन्छ । दीर्घकालीन निद्रा अभावले मस्तिष्कमा संरचनात्मक तथा जैविक परिवर्तन ल्याउन सक्छ । विभिन्न अनुसन्धानहरूले अल्जाइमर, डिमेन्सिया तथा अन्य न्युरोडिजेनेरेटिभ रोगसँग निद्राको सम्बन्ध रहेको संकेत गरेका छन् ।
जब मस्तिष्कले पर्याप्त समय पाउँदैन, विषाक्त प्रोटिनहरू पूर्णरूपमा हट्न सक्दैनन् । समयसँगै यस्ता पदार्थ जम्मा हुँदै जाँदा स्नायु कोषहरूमा क्षति पुग्न सक्छ । त्यस्तै, उच्च रक्तचाप, मधुमेह, मोटोपन तथा मुटुरोगजस्ता अवस्थाहरू पनि निद्रा अभावसँग सम्बन्धित छन्, जसले अप्रत्यक्ष रूपमा स्ट्रोक तथा अन्य स्नायु रोगको जोखिम बढाउँछन् ।
अब प्रश्न आउँछ, स्वस्थ निद्राका लागि के गर्ने ?
१. हरेक दिन सम्भव भएसम्म एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ ।
२. सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि मोबाइल, ट्याबलेट वा कम्प्युटरको प्रयोग कम गर्नु उपयुक्त हुन्छ, किनकि यिनबाट निस्कने नीलो प्रकाशले निद्रा ल्याउने मेलाटोनिन हर्मोनको उत्पादन घटाउँछ ।
३. क्याफिनयुक्त पेय पदार्थ, अत्यधिक मदिरा सेवन तथा राति धेरै खाना खाने बानीले पनि निद्रामा असर गर्न सक्छ ।
४. नियमित शारीरिक व्यायाम, शान्त वातावरण, उचित तापक्रम र तनाव व्यवस्थापनले निद्राको गुणस्तर सुधार गर्न मद्दत गर्छ ।
५.यदि लामो समयसम्म निद्रा नलाग्ने, राति पटक–पटक ब्युँझिने, घुर्ने वा दिनभर अत्यधिक थकान महसुस हुने समस्या छ भने स्नायु रोग विशेषज्ञ वा निद्रा विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ ।
प्रतिक्रिया 4