News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी सिरहाको पहिलो जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर विवाद चर्किएको छ ।
- सांसदहरूले सभापतिमा रामसौगारथ यादवलाई सर्वसम्मत गराउन दबाब दिएको भन्दै अन्य उम्मेदवारहरूले विरोध जनाएका छन् ।
- निर्वाचन आयोगले विवादबारे केन्द्रसँग परामर्श भइरहेको र केन्द्रको निर्देशनपछि मात्र थप निर्णय लिइने जनाएको छ ।
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम जिल्ला अधिवेशन नेतृत्व चयनको विषयलाई लिएर विवाद चर्किएको छ ।
जिल्ला सभापति पदका उम्मेदवार रामसौगारथ यादवलाई सर्वसम्मत रूपमा चयन गराउन केही सांसदहरूले दबाब दिएको आरोप लागेपछि अधिवेशनस्थलमा असन्तुष्टि र आक्रोश देखिएको हो।
जिल्ला सभापति पदका उम्मेदवार तथा पूर्वसभापति हरिप्रसाद मैनालीका अनुसार सिरहाका केही प्रतिनिधिसभा तथा समानुपातिक सांसदहरूले अन्य उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै राम सौगारथ यादवको पक्षमा सर्वसम्मतिको वातावरण बनाउन निर्वाचन आयोगलाई हस्ताक्षरसहित पत्र पठाएका थिए।
उनले उक्त पत्रमा सिरहाका समानुपातिक सांसद पुरुषोत्तम यादवको अगुवाइ रहेको बुझिएको दाबी गरे ।
मैनालीले मधेश प्रदेश सभापति तपेश्वर यादव, सांसद पुरुषोत्तम यादव र उम्मेदवार राम सौगारथ यादव सबै नरहा गाउँपालिकासँग सम्बन्धित रहेकाले पार्टीको शक्ति केन्द्र नरहामा केन्द्रित गर्न खोजिएको आरोप समेत लगाए।
अर्का सभापति पदका उम्मेदवार शम्भु यादवले पनि सांसदहरूको भूमिका प्रति आपत्ति जनाएका छन्।
उनका अनुसार दिनभरि सर्वसम्मतिको प्रयास सफल नभएपछि उम्मेदवारहरू निर्वाचन प्रक्रियामा सहभागी भइसकेका थिए।
यस्तो अवस्थामा एकातर्फ निर्वाचन प्रक्रिया अगाडि बढाउने र अर्कोतर्फ सांसदहरूले कुनै एक व्यक्तिको नाम सिफारिस गर्दै हस्तक्षेप गर्नु लोकतान्त्रिक अभ्यास विपरीत भएको उनको भनाइ छ।
सांसदहरूले नाम सिफारिस गरेको पत्र लिएर स्वयं उम्मेदवार राम सौगारथ यादव निर्वाचन आयोगमा पुगेपछि हामीले विरोध जनाएको शम्भु यादवले बताए ।
यता निर्वाचन आयोगका पदाधिकारीहरूले भने आफूहरूलाई त्यस्तो कुनै पत्र औपचारिक रूपमा प्राप्त नभएको बताएका छन्।
आयोगका अनुसार उक्त विषयमा केन्द्रसँग परामर्श भइरहेको छ र निर्वाचन प्रक्रिया अगाडि बढाउने वा स्थगित गर्ने भन्ने निर्णय केन्द्रको निर्देशनपछि मात्रै हुने जनाइएको छ।
सांसदहरूको कथित हस्तक्षेपप्रति अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धाको सम्मान हुनुपर्ने र नेतृत्व चयन प्रतिनिधिहरूको स्वतन्त्र मताधिकारबाट हुनुपर्ने धारणा राखेका छन्।
सभापति पदका उम्मेदवार मैनाली र शम्भु यादव पक्षले समेत निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने अडान दोहोर्याएका छन्।
पार्टी स्रोतका अनुसार सिरहाका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य, समानुपातिक सांसद तथा अन्य नेताहरूले पटक–पटक सहमतिको प्रयास गरे पनि प्रमुख पदहरूमा एकभन्दा बढी आकांक्षी कायम रहेकाले निर्वाचन अपरिहार्य बनेको हो।
जिल्ला सभापति पदका लागि हरि प्रसाद मैनाली, सुभाषकुमार यादव र राम सौगारथ यादव प्रतिस्पर्धामा छन्।
उपसभापति पदमा ई. अरविन्दकुमार राम, जीवछ यादव, निमाकुमारी यादव र गीता शाही उम्मेदवार छन् ।
सचिव पदका लागि रमेशकुमार यादव, राजेन्द्र मण्डल, परितोषकुमार यादव र अमितराज राई चुनावी मैदानमा छन्।
प्रतिक्रिया 4