+

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८३ जेठ  २५ गते २१:०९ २०८३ जेठ २५ गते २१:०९
६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोगमा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिका लागि आयोजित ६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण सम्पन्न भएको छ ।
  • जेठ २० देखि २५ गतेसम्म सञ्चालित सो प्रशिक्षण कार्यक्रममा १२ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका खेलाडीको सहभागिता रहेको थियो ।
  • वडा अध्यक्ष दलबहादुर कार्कीले फरक क्षमता भएका व्यक्तिको खेलकुद विकासका लागि आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

२५ जेठ, काठमाडौं । दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूका लागि आयोजित ६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोग तथा सक्षम नेपाल, ज्ञानेश्वरको आयोजनामा सञ्चालित प्रशिक्षण कार्यक्रम जेठ २० गतेदेखि सुरु भई जेठ २५ गते समापन भएको हो ।

ज्ञानेश्वरस्थित प्राइम फुटसलमा दैनिक मध्यान्ह १२ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा १२ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणका क्रममा सहभागी खेलाडीहरूले ब्लाइन्ड फोल्डको प्रयोग गर्दै ब्लाइन्ड फुटबलका आधारभूत सीप तथा खेलसम्बन्धी विभिन्न पक्षबारे अभ्यास गरेका थिए ।

समापन कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा वडा सदस्य मनोज डंगोल, शर्मिला श्रेष्ठ, वडा सचिव देवराज जोशीलगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक सन्देशकृष्ण श्रेष्ठ र सत्यमान लामाले प्रशिक्षण दिएका थिए भने सहायक प्रशिक्षकका रूपमा राजेश खड्की र बिरु कमल श्रेष्ठले सहजीकरण गरेका थिए ।

प्रशिक्षण समापनको अवसरमा रातो र निलो टोलीबीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो । प्रतिस्पर्धात्मक खेलमा निलो टोलीले १–० को जित हासिल गर्‍यो । निलो टोलीका संकर थिङले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।

कार्यक्रममा सहभागी सबै खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । अनुशासित खेलाडीको रूपमा सन्देश स्याङ्बोलाई नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गरियो भने विजयी गोलकर्ता संकर थिङलाई पनि नगद एक हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सहभागी खेलाडी किरण दाहालले यस्ता प्रकारका कार्यक्रमले दृष्टिविहीन खेलाडीहरूलाई थप उत्साह र आत्मविश्वास प्रदान गर्ने बताउँदै काठमाडौं महानगरपालिका वडा नं. ३० तथा सक्षम नेपालप्रति आभार व्यक्त गरे।

समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष दलबहादुर कार्कीले फरक क्षमता भएका व्यक्तिहरूको खेलकुद विकासका लागि वडा सधैं सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सक्षम नेपालसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले सहभागी खेलाडीहरूको उत्साह, लगनशीलता र खेलप्रतिको समर्पणको प्रशंसासमेत गरे ।

त्यसैगरी सक्षम नेपालका अध्यक्ष बिरु कमल श्रेष्ठले वडाको सहयोगमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताए । उनले सहभागी खेलाडी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

ब्लाइन्ड फुटबल प्रशिक्षण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय