News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा आगामी जेठ ३० गते काठमाडौंमा ‘नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ हुने भएको छ ।
- बोल्डरिङ विधामा आधारित यस प्रतियोगितामा सातै प्रदेशबाट १७ वर्षभन्दा माथिका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् ।
- २५ लाख रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगिताका विजेतालाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
२६ जेठ, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा ‘नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ शनिबार काठमाडौंमा हुने भएको छ ।
संघले आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता जेठ ३० गते (जुन १३, २०२६) कालधारा, ठमेलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आयोजना हुने जानकारी दिएको हो ।
बोल्डरिङ विधामा आधारित प्रतियोगिता अन्तर्राष्ट्रिय क्लाइम्बिङ महासंघद्वारा निर्धारित नियम र मापदण्डअनुसार सञ्चालन हुनेछ । एकदिने प्रतियोगितामा सातै प्रदेशबाट १७ वर्षभन्दा माथिका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुनेछ । उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले गर्ने कार्यक्रम रहेको छ ।
खेलाडीहरूलाई प्रारम्भमा प्रतियोगिताको संरचना र नियमबारे जानकारी गराइनेछ भने दिनभर क्वालिफिकेसन र फाइनल चरणका खेलहरू सञ्चालन हुनेछन् । क्वालिफिकेसन चरणबाट महिला र पुरुषतर्फ ८–८ जना फाइनलिस्ट छनोट गरिनेछ ।
फाइनल प्रतिस्पर्धाबाट उत्कृष्ट महिला र पुरुष खेलाडीहरू प्रथम, द्वितीय र तृतीय घोषित गरिनेछ । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण साँझ ५ बजे प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिनेछ ।
संघका सचिव सुजित कँडेलका अनुसार हालसम्म २५ जना खेलाडी दर्ता भइसकेका छन् भने दर्ता प्रक्रिया जुन ११ सम्म खुला रहनेछ । उनले करिब ५० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको बताए ।
संघका अध्यक्ष रमेश पौडेलले क्लाइम्बिङ खेलले खेल पर्यटन प्रवर्द्धनसँगै देशको समग्र अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने सम्भावना रहेको बताए । उनले नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान आवश्यक रहेको धारणा व्यक्त गरे ।
संघका महासचिव सन्तोष मादेनका अनुसार प्रतियोगिताको अनुमानित बजेट २५ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पुरुष तथा महिलातर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था र निजी कम्पनीहरूको सहयोग तथा प्रायोजन रहने जनाइएको छ । प्रतियोगितामा सहभागी खेलाडी र प्राविधिकहरूको म्यादी बीमाको व्यवस्था समेत गरिनेछ ।
प्रतिक्रिया 4