News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा क्लब फुटबलका क्रममा लागेको चोटका कारण धेरै स्टार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् ।
- यसपटक चोटका कारण विशेषगरी ब्राजिल र नेदरल्यान्ड्सका महत्त्वपूर्ण खेलाडीहरू गुम्दा ती टोलीलाई ठूलो धक्का लागेको छ ।
- ब्राजिलका रोड्रिगो र नेदरल्यान्ड्सका जाभी सिमोन्ससहित धेरै चर्चित खेलाडीहरू चोटका कारण विश्वकप खेल्नबाट वञ्चित भएका छन् ।
२६ जेठ, काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा विभिन्न टोलीका केही प्रमुख खेलाडी चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।
क्लब फुटबलका क्रममा गम्भीर चोट बोकेका कारण धेरै स्टार खेलाडीले विश्वकप गुमाउने भएका हुन् । विशेषगरी ब्राजिल र नेदरल्यान्ड्सले महत्वपूर्ण खेलाडी गुमाउँदा ठूलो धक्का बेहोरेका छन् ।
हालसम्म चोटका कारण विश्वकपको टिममै समावेश नभएका तथा टिममा परिसकेपछि चोट बोकेर गुमाउने निश्चित भएका विभिन्न खेलाडीहरू छन् ।
केही स्टार खेलाडीहरूो चर्चा गरिएको छ ।
जाभी सिमोन्स (नेदरल्यान्ड्स)
टोटनहमका मिडफिल्डर जाभी सिमोन्सको सिजन अप्रिलमा वुल्भ्सविरुद्धको प्रिमियर लिग खेलका क्रममा सकिएको थियो । २३ वर्षीय सिमोन्सको दाहिने घुँडाको एसीएल च्यातिएपछि शल्यक्रिया गर्नुपरेको थियो, जसका कारण उनी विश्वकपमा नेदरल्यान्ड्सको टोलीमा पर्न सकेनन् ।
रोड्रिगो (ब्राजिल)
कार्लो एन्सेलोटीसँग पुनर्मिलनको तयारीमा रहेका रोड्रिगो मार्चमा गेटाफेविरुद्धको खेलमा गम्भीर घाइते भए । रियल मड्रिडका यी विंगरको दाहिने घुँडाको एसीएल र मेनिस्कसमा चोट लागेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् ।
ह्युगो एकिटिके (फ्रान्स)
ओलिभियर जिरुडको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासपछि फ्रान्सका लागि मुख्य स्ट्राइकर बन्ने अपेक्षा गरिएका ह्युगो एकिटिके च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध खेल्दा एचिलिस टेन्डन च्यातिएपछि विश्वकप गुमाउने भएका छन् ।
फर्मिन लोपेज (स्पेन)
बार्सिलोनाबाट उत्कृष्ट सिजन बिताएका फर्मिन लोपेजले १३ गोल र १७ असिस्ट गरेका थिए । तर रियल बेटिसविरुद्धको खेलमा दाहिने खुट्टाको पाँचौं मेटाटार्सल हड्डी भाँचिएपछि उनी विश्वकप टोलीमा पर्न सकेनन् ।
सर्ज ग्नाब्री (जर्मनी)
जर्मनीका सक्रिय खेलाडीमध्ये सर्वाधिक २६ अन्तर्राष्ट्रिय गोल गरेका सर्ज ग्नाब्री अप्रिलमा दाहिने खुट्टाको मांसपेशीमा चोट लागेपछि बाँकी सिजनसँगै विश्वकप पनि गुमाउने भएका छन् ।
माथिज डे लिग्ट (नेदरल्यान्ड्स)
म्यानचेस्टर युनाइटेडका डिफेन्डर माथिज डे लिग्टले सिजनको सुरुआत राम्रो गरेका थिए । तर ढाडको समस्याका कारण शल्यक्रिया गर्नुपरेपछि उनी नयाँ सिजनको सुरुवातसम्म मैदानबाहिर रहने भएका छन् । यही कारण उनी विश्वकप खेल्ने टिममा पर्न सकेनन् ।
एस्तेभाओ (ब्राजिल)
ब्राजिलका १९ वर्षीय युवा स्टार एस्तेभाओले पछिल्ला ६ खेलमा पाँच गोल गरेका थिए । तर चेल्सीबाट खेल्दा ह्यामस्ट्रिङमा चोट लागेपछि उनी विश्वकपमा सहभागी हुन नपाउने भएका छन् ।
काओरु मितोमा (जापान)
जापानलाई पहिलोपटक अन्तिम १६ पार गराउने आशामा रहेका विंगर काओरु मितोमा ब्राइटनबाट खेल्दा ह्यामस्ट्रिङमा चोट बोकेपछि विश्वकप खेल्ने टोलीमा पर्न सकेनन् ।
लेनार्ट कार्ल (जर्मनी)
बायर्न म्युनिखका १८ वर्षीय लेनार्ट कार्लले च्याम्पियन्स लिगमा क्लबका सबैभन्दा कान्छा गोलकर्ता बनेर चर्चा कमाएका थिए । तर अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलअघि प्रशिक्षणका क्रममा मांसपेशीमा चोट लागेपछि उनी टोलीबाट बाहिरिए ।
टिममा समावेश भइसकेपछि चोट बोकेका उनको स्थानमा आरबी लाइपजिगका असान ओएद्राओगो समावेश भएका छन् ।
वेस्ली (ब्राजिल)
एएस रोमाका राइट ब्याक वेस्ली इजिप्टविरुद्धको वार्मअप खेलमा तिघ्रामा चोट लागेपछि विश्वकप खेल्ने टोलीबाट बाहिरिएका छन् । उनको स्थानमा एटलान्टाका मिडफिल्डर एडर्सनलाई टोलीमा राखिएको छ ।
बिली गिल्मर (स्कटल्यान्ड)
स्कटल्यान्डको विश्वकप छनोट अभियानका महत्वपूर्ण सदस्य बिली गिल्मर कुराकाओविरुद्धको अन्तिम वार्मअप खेलमा घुँडामा चोट लागेपछि विश्वकप खेल्नबाट वञ्चित भएका छन् ।
जुरियन टिम्बर (नेदरल्यान्ड्स)
आर्सनललाई २२ वर्षपछि लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जुरियन टिम्बर ग्रोइन इन्जुरीबाट पूर्ण रूपमा निको हुन नसकेपछि विश्वकप सुरु हुन तीन दिनअघि टोलीबाट बाहिरिएका छन् ।
उनको स्थानमा सन्डरल्यान्डका लुटशारेल गितरुइडा समावेश भएका छन् ।
प्रतिक्रिया 4