News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया फिफा विश्वकप २०२६ को विशेष प्रि-म्याच र पोस्ट-म्याच कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन् ।
- नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारणकर्ता हिमालय स्पोर्ट्सले टीभीका लागि ९९९ र मोबाइलका लागि ५४९ रुपैयाँको प्याकेज ल्याएको छ ।
- विश्वकप प्रसारण कार्यक्रममा भुटियासँगै नेपाली फुटबल हस्तीहरूले खेलको रणनीतिक समीक्षा, दक्षिण एसियाली फुटबलको अनुभव र विश्लेषण प्रस्तुत गर्नेछन् ।
२६ जेठ, काठमाडौं । दक्षिण एसियाली फुटबलका चर्चित खेलाडी तथा भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया फिफा विश्वकप २०२६ को विशेष प्रिम्याच र पोस्ट म्याच कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन् ।
नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक तथा विशेष प्रसारणकर्ता हिमालय स्पोर्टस्ले भुटियाको सहभागितासहित विश्वकप प्रसारण अभियानलाई थप आकर्षक बनाउने घोषणा गरेको छ ।
भुटिया विशेष प्रिम्याच तथा पोस्ट म्याच शोमा सहभागी हुनेछन् । कार्यक्रममा नेपालका चर्चित फुटबल खेलाडी तथा फुटबलसँग सम्बन्धित व्यक्तित्वहरूको समेत सहभागिता रहने छ।
कार्यक्रममार्फत दक्षिण एसियाली फुटबल अनुभव, नेपाली फुटबलको दृष्टिकोण तथा विश्वकपका खेलबारे विश्लेषण प्रस्तुत गरिनेछ । साथै खेलअघिका तयारी, खेलपछिका प्रतिक्रिया, रणनीतिक समीक्षा तथा विशेष फुटबल सामग्रीमार्फत दर्शकलाई विश्वकपसँग अझ नजिक बनाइने आयोजकको भनाइ छ।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताप्रति दर्शकको उत्साह बढिरहेका बेला भुटिया तथा नेपाली फुटबल हस्तीहरूको उपस्थितिले नेपाली दर्शकका लागि विश्वकप अनुभवलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ।
फिफा विश्वकप २०२६ का खेलहरू नेपालमा हिमालय स्पोर्टस् एचडीमार्फत टेलिभिजनमा तथा डिजिटल प्लेटफर्म डीजीओमार्फत हेर्न सकिनेछ। दर्शकले टेलिभिजनका लागि ९९९ रुपैयाँ र मोबाइलमार्फत डीजीओमा ५४९ रुपैयाँको प्याकेज खरिद गरी प्रतियोगिता हेर्न सक्नेछन्।
विश्वकप प्रसारण अभियानमा रेड बुल शीर्ष प्रायोजकका रूपमा रहेको छ भने प्रोटोन ईमास सह–प्रायोजकका रूपमा जोडिएको छ। त्यसैगरी कोकाकोला प्रस्तुतकर्ता साझेदारका रूपमा सहभागी रहेको छ।
रियल जुस, वाईवाई चाउचाउ तथा टीभीएस मोटरसाइकल पनि साझेदारका रुपमा जोडिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले विश्वकपको नेपाली प्रसारण अभियानलाई थप व्यापक र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
यस अवसरमा हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक सुरज गिरीले विश्वकप प्रसारणको हिस्सा बन्न भाइचुङ भुटियालाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । नेपाली फुटबल स्टारहरूसँगै उनको उपस्थितिले देशभरका फुटबल समर्थकका लागि विश्वकप अनुभवलाई अझ स्मरणीय बनाउने उनको भनाइ छ ।
हिमालय स्पोर्ट्स नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद सामग्री प्रसारण गर्ने प्रमुख स्पोर्ट्स प्लेटफर्म हो। जुन फिफा विश्वकप २०२६ को नेपालका लागि आधिकारिक तथा विशेष प्रसारणकर्ता पनि हो।
प्रतिक्रिया 4