२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको पार्टी संरचनामा रहेका र जनप्रतिनिधि बनेकाहरूका लागि सदस्यता अद्यावधिको अन्तिम दिन आजका लागि तोकिएको छ ।
केन्द्रदेखि वडा तहसम्म रहेका पदाधिकारी सदस्य एवं जनप्रतिनिधिहरूका लागि आज मध्यरातिसम्म सदस्यता अद्यावधिकको समय रहने पार्टीले निर्णय गरेको छ ।
सदस्यता व्यवस्थापन समितिले सबै तहका संरचनामा रहेका नेताहरूले आजसम्म अद्यावधिक गर्न र अन्यको अद्यावधिक गर्न सहजीकरण गर्नुपर्ने निर्णय लिएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, क्रियाशील सदस्य रहेका संघीय संसद्का सबै सदस्य, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिले २७ जेठभित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्न र आफ्नो क्षेत्रभित्रका पार्टीका सबै तहलाई सक्रिय गराई अद्यावधिक प्रक्रियामा सहजीकरण गर्न गराउन निर्देशन गरिन्छ,’ सदस्यता व्यवस्थापन समितिको निर्णयमा भनिएको छ ।
अन्यको हकमा भने २८ जेठ मध्यरातिसम्मको समयसीमा तोकिएको छ । शीर्ष तहका एक नेताका अनुसार पार्टी संरचनामा रहेका सदस्य र जनप्रतिनिधिले आज मध्यरातिसम्म अद्यावधिक नगरे महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
प्रतिक्रिया 4