+

शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म

२०८३ जेठ  २७ गते १९:०५ २०८३ जेठ २७ गते १९:०५

शकिराले जसरी ‘वाका वाका’ मा अफ्रिकी तत्त्वहरू समाहित गर्दा अफ्रिकी कलाकारसँगको साझेदारीको माग उठेको थियो, यसपटक फिफाले त्यसतर्फ ध्यानाकर्षण गरेको देखिन्छ । बर्ना बोयलाई सहकलाकारका रूपमा समाहित गर्नु एउटा सचेत र रणनीतिक निर्णय देखिन्छ ।

शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म

२७ जेठ, काठमाडौं । फुटबलको महाकुम्भ फेरि आउँदैछ । जुन ११ देखि मेक्सिकोको एस्टाडियो आज्टेकामा किकअफ हुने २०२६ फिफा विश्वकपले संसारका अर्बौं दर्शकलाई एकै ठाउँ ल्याउनेछ । यसपटकको विश्वकप इतिहासकै पहिलो पटक तीनवटा राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

यस फुटबलको केन्द्रमा छिन्, एउटी परिचित अनुहार शकिरा ।

कोलोम्बियाकी गायिका शकिराले १६ वर्षअघि नै ‘वाकावाका (दिस टाइम फर अफ्रिका)’ गाएर आफूलाई परिचित गराइसकेकी थिइन् । अब सन् २०२६ मा उनी फेरि विश्वमञ्चमा उभिएकी छिन् । नाइजेरियन सुपरस्टार बर्ना बोयसँग मिलेर ‘दाइ-दाइ’ गाउँदै छिन् ।

हामी एकपटक फेरि सन् २०१० मा फर्किऔं ।

सन् २०१० को विश्वकप दक्षिण अफ्रिकामा हुने थियो । फिफा एउटा यस्तो गीत चाहन्थ्यो जसले विश्वका कुनाकुनाका दर्शकलाई एकै धागोमा गासोस् । त्यसबेला शकिरा दक्षिण अफ्रिकाबाट एउटा विशाल समुद्रपारि उरुग्वेस्थित आफ्नो फार्ममा बिदा बिताइरहेकी थिइन् ।

फार्मबाट घरतिर हिँड्दै गर्दा अचानक उनको मनमा एउटा धुन जन्मियो र स्वतः नै अङ्ग्रेजीमा शब्दसहित धुन गुनगुनाउन थालिन् । कुनै अलौकिक कुराले डिक्टेट गरिरहेको झैँ अनुभव भयो । आफ्नो बाल्यकाल र अफ्रो-क्यारिबियन जरासँग पुनः जोडिएको अनुभव गरिन् ।

त्यो क्षण उनका लागि कुनै साधारण सिर्जना थिएन । उनले तुरुन्तै सोनी म्युजिकलाई फोन गरिन् र उत्साहित भएर भनिन्, ‘मैले अहिलेसम्मकै सबैभन्दा अद्भुत विश्वकप गीत लेखिसकें ।’

प्रोड्युसर जोन हिलसँग मिलेर तयार गरिएको त्यो गीत पहिले नै कर्णमधुर थियो । तर न्युयोर्कको एउटा स्टुडियोमा भएको एउटा सुखद संयोगले यसलाई झनै विशेष बनायो । त्यहाँ दक्षिण अफ्रिकाको लोकप्रिय पप फ्युजन समूह ‘फ्रेसलीग्राउन्ड’ उपस्थित थियो । उनीहरूलाई गीतमा सामेल गरिएपछि त्यसमा अफ्रिकी आयोजक राष्ट्रको साङ्गीतिक स्पर्श थपियो ।

सोनी लेटिन आइबेरियाका वरिष्ठ उपाध्यक्ष दुस्को जस्टिकले ती दिनहरू सम्झँदै भन्छन्, ‘शकिरा चाँडै रुचि राख्नेदेखि सिर्जना गर्नेसम्म पुगिन् र त्यस्तो गीत रेकर्ड गरिन् जुन त्यसबेलाको संगीत परिदृश्यभन्दा बिल्कुल फरक थियो ।” उनले थपे, “फिफाले तयार रेकर्ड सुन्नासाथ कुनै बहस नै भएन ।’

त्यही गीत ‘वाकावाका (दिस टाइम फर अफ्रिका)’ विश्वकप इतिहासकै सर्वाधिक सफल गीत बन्यो ।

000

‘वाका वाका’ केवल विश्वकप गीतमा सीमित भएन । यसका सांस्कृतिक बाछिटाहरू पनि थिए ।

गीतमा क्यामेरुनी ब्यान्ड गोल्डेन साउन्ड्सको ‘जामिना मिना (जाङ्गालेवा)’ को तत्त्व समाहित गरिएको थियो । यसमा रम्बा, सोका र क्यामेरुनी माकोसा संगीतका तत्त्वहरूको मिश्रण थियो । शकिराले गीतलाई स्पेनिसमा पनि रेकर्ड गरिन्, यसले उनको ल्याटिन प्रशंसकहरूलाई पनि आकर्षित गर्‍यो ।

गीतको म्युजिक भिडियोमा उनले आफ्नो नृत्य प्रदर्शन गरिन् । तर यस भिडियोको सबैभन्दा आकर्षक पाटो के थियो भने यसमा विश्वका शीर्ष फुटबल खेलाडीहरूको पनि उपस्थिति थियो ।

‘वाका वाका’ को म्युजिक भिडियो सुटले शकिराको व्यक्तिगत जीवनमा पनि एउटा नयाँ अध्याय सुरु गर्‍यो ।

भिडियोमा सहभागी भएका फुटबल खेलाडीहरूमध्ये एउटा थिए – स्पेनका डिफेन्डर जेरार्ड पिके । भिडियोको सेटमा उनीहरूको पहिलो भेट भयो । त्यो भेट क्रमशः गहिरो आकर्षणमा परिणत भयो ।

पिके शकिराभन्दा १० वर्ष कम उमेरका थिए । उनी बार्सेलोनाका सेन्टर-ब्याक थिए, जो स्पेनको विश्वकप विजयी टोलीका सदस्य पनि थिए ।

उनीहरूको सम्बन्ध सार्वजनिक भयो र लामो समयसम्म त्यो विश्वका सबैभन्दा चर्चित प्रेम कथाहरूमध्ये एक बन्यो । दुवैको सानो संसार बार्सिलोनामा थियो । उनीहरूका दुई छोरा मिलान र साशा भए । शकिराको जीवनमा फुटबल पारिवारिक हिस्सा भइसकेको थियो ।

तर सन् २०२२ मा यो सम्बन्ध टुट्यो । शकिराले आफ्ना दुई छोराका साथ बार्सिलोना छाडिन् र अमेरिका बसाइँ सरिन् । उनको विरह र पीडा उनका पछिल्ला गीतहरूमा स्पष्ट झल्कियो ।

तर जुन भिडियो सुटले शकिरा र पिकेलोई पहिलोपटक भेटाएको थियो, त्यो गीत ‘वाका वाका’ आज पनि विश्वकपको सबैभन्दा प्रिय गीत बनेर जीवित छ ।

आज ‘वाका वाका’ को युट्युब भिडियो ४.४ अर्ब पटक हेरिइसकेको छ । यो युट्युबको आठौँ सर्वाधिक हेरिएको संगीत भिडियो हो । जनवरी २०२५ मा यसले स्पोटिफाइमा एक अर्बभन्दा बढी स्ट्रिमिङ पुर्‍याएर ‘सर्वाधिक स्ट्रिम गरिएको फिफा विश्वकप गीत’को गिनिज विश्व रेकर्ड पनि आफ्नो नाममा गर्‍यो ।

सन् २०२० को सुपर बोल एलआइभी हाफटाइम शोमा जेनिफर लोपेजसँग सहकलाकारका रूपमा उपस्थित हुँदा पनि शकिराले ‘वाका वाका’ गाइन् । फुटबलको विश्वकपको गीत अमेरिकी ग्रिडआयरनमा गुञ्जियो ।

000

‘वाका वाका’ र ‘दाइ-दाइ’ लाई सन्दर्भमा राख्न विश्वकप गीतको इतिहास बुझ्न जरुरी छ ।

पहिलो फिफा विश्वकप सन् १९३० मा खेलिएको थियो । तर, कुनै गीतलाई मान्यता दिने चलन सन् १९६२ को चिलीको विश्वकपसम्म थिएन । चिलियन ब्यान्ड लस र्‍याम्बलर्सको ‘एल रक डेल मुन्डियल’ पहिलो आधिकारिक विश्वकप गीत बन्यो ।

त्यसपछि हरेक विश्वकपमा आधिकारिक गीत हुने परम्परा सुरु भयो । सन् १९९० को इटाली विश्वकपमा जर्जियो मोरोडरको ‘टु बी नम्बर वन’ रह्यो । सन् १९९४ को अमेरिकी विश्वकपमा डेरिली हलले ‘ग्लोरील्यान्ड’ गाए ।

तर विश्वकप गीत इतिहासमा वास्तविक क्रान्ति आयो सन् १९९८ मा ।

सन् १९९८ को फ्रान्स विश्वकपमा रिकी मार्टिनले ‘द कप अफ लाइफ’ गाए । अङ्ग्रेजी, स्पेनिस र फ्रेन्चमा रेकर्ड गरिएको यो गीत विश्वव्यापी हिट भयो । बिलबोर्ड हट १०० मा ४५ नम्बर पुग्दै ३४ हप्तासम्म चार्टमा रह्यो ।

तर यो गीतको असली प्रभाव सन् १९९९ को ग्र्यामी अवार्ड समारोहमा देखियो । त्यसबेलाका सोनी म्युजिकका अध्यक्ष टमी मोटोलाले ग्र्यामी एकेडेमीको विरोधका बाबजुद मार्टिनलाई प्रस्तुति दिने मौका दिन दबाब दिए । परिणाम ऐतिहासिक थियो ।

ब्याकिङ ब्यान्ड र स्टिल्टमाथि कलाकारहरूका साथ मार्टिनको त्यो प्रस्तुति अमेरिकी मनोरञ्जन उद्योगको पूर्ण इतिहासकै ‘गेम-चेन्जिङ मोमेन्ट’ बन्यो । यसले ‘ल्याटिन एक्सप्लोजन’ को सुरुवात गर्‍यो । रिकी मार्टिन, जेनिफर लोपेज, मार्क एन्थोनी, एनरिक इग्लेसियास र शकिरा अमेरिकी मूलधारको संगीतमा छाए ।

विश्वकप गीतले कलाकारको करियर र पूरै साङ्गीतिक आन्दोलनको दिशा बदल्यो, यो केवल साउन्डट्र्याकमा मात्र सङ्कुचित भएन ।

000

‘वाका वाका’ को सफलताको पछाडि एउटा विवादको कथा पनि थियो । दक्षिण अफ्रिका विश्वकपको आयोजक थियो, तर अफ्रिकी कलाकार नभई एउटी कोलोम्बियन गायिकालाई आधिकारिक गीतका लागि रोजिएको कुरा धेरै दक्षिण अफ्रिकीहरूलाई मन परेन ।

स्थानीय टक शोहरूमा फोन आए । पत्रकारहरूसँगका अन्तर्वार्तामा आक्रोश पोखियो । दक्षिण अफ्रिकाको कलाकार सङ्घले उद्घाटन कार्यक्रम ‘अफ्रिकी कार्यक्रम नभएको’ भन्दै बहिष्कारको माग गर्‍यो ।

यस दबाबको परिणामस्वरूप फिफाले कार्यक्रममा अफ्रिकी कलाकारहरूको सङ्ख्या बढायो । सोवेटो गोस्पेल क्वाइर, ट्रम्पेटवादक ह्यू मासेकेला र सोमाली हिपहप कलाकार के’नान पनि सामेल भए । फ्रेसलीग्राउन्डलाई पनि शकिराको ब्याकअप ब्यान्डको भूमिकाबाहेक आफ्नो छुट्टै प्रस्तुतिकाे मौका मिल्यो ।

तर रमाइलो कुरा, फ्रेसलीग्राउन्डले आफू अपमानित भएको नठानेको जनाउ दियो ।

ब्यान्डकी भायोलिनिस्ट काइला–रोज स्मिथले भनिन्, ‘विश्वकप एउटा वैश्विक कार्यक्रम हो, तर यो एउटा व्यवसाय पनि हो, एउटा ठूलो मार्केटिङ अभ्यास । फिफालाई एउटा निश्चित वैश्विक पहुँच भएको संगीतकार चाहिन्छ जसले विश्वकपमा संलग्न र दर्शकसँग जोडिएका विभिन्न किसिमका मानिसहरूलाई आकर्षित गर्न सकोस् । त्यसैले शकिरालाई छान्नु बुझ्न सकिन्छ ।’

स्मिथले यो पनि बताइन् कि फ्रेसलीग्राउन्ड फेब्रुअरी २०१० मा आफ्नो नयाँ एल्बम ‘रेडियो अफ्रिका’ रेकर्ड गर्न न्युयोर्क पुगेको थियो । त्यहाँ उनीहरूको शकिरासँग त्यही स्टुडियोमा भेट भयो ।

स्मिथका अनुसार, शकिराको गीतलाई थोरै अफ्रिकी स्पर्श चाहिएको थियो, त्यसैले उनको प्रोड्युसरले हात बढाउन अनुरोध गरे । उनीहरू अफ्रिकी संगीतबाट निकै प्रभावित ब्यान्ड थिए । यही जादुई संयोगले ‘वाका वाका’ लाई त्यो अन्तिम आयाम दियो, जसले यसलाई कालातीत बनायो ।

‘द कप अफ लाइफ’ र ‘वाकावाका’ को ऐतिहासिक सफलताले विश्वकप संगीतको परिदृश्य नै बदलिदियो । पहिले एउटा मात्र आधिकारिक गीत हुने प्रचलन थियो । ‘वाका वाका’ पछि हरेक टूर्नामेन्ट प्रायोजक, प्रसारक र व्यक्तिगत देशहरूले आ–आफ्नो मौलिक ट्र्याकहरू कमिसन गर्न थाले ।

सोनी म्युजिक लेटिन आइबेरियाका अफो वेर्देका अनुसार, ‘वाका वाका’ पछि हरेक ब्र्यान्ड, हरेक नेटवर्कले विश्वकप गीत बनाउन चाह्यो ।

000

१६ वर्षपछि शकिरा फेरि विश्वकपको मञ्चमा फर्केकी छिन् ।

मे १४, २०२६ मा ‘दाई दाई’ स्ट्रिमिङ प्ल्याटफर्महरूमा सार्वजनिक भयो । शकिरासँगै छन् नाइजेरियन सुपरस्टार बर्ना बोय, जसलाई अफ्रोबिट्सलाई मूलधारको संगीतमा ल्याउने श्रेय दिइन्छ ।

करिब चार मिनेट लामो यो गीतमा अफ्रोबिट्स, डान्स पप, वर्ल्ड बिट्स र रेगेटोनको सहज मिश्रण छ । ‘दाइदाइ’ इटालियन शब्द हो, जसको अर्थ ‘आउनुस्, आउनुस्’ भन्ने उत्साही अभिव्यक्ति हो । गीतका शब्दहरू अङ्ग्रेजी, जापानी, फ्रेन्च र स्पेनिस भाषाका अभिव्यक्तिहरूले सजिएका छन् ।

गीतले खेलाडी र प्रशंसक दुवैलाई प्रेरणा दिने सन्देश बोकेको छ ।

शकिरा गाउँछिन्, ‘तिमीलाई जन्मेको दिनदेखि थाहा थियो / कि यही ठाउँमा तिम्रो अस्तित्व छ / तिमी यति साहसी थियौ सधैँ / जसले तिमीलाई एकपटक तोड्यो, उसैले तिमीलाई बलियो बनायो ।’

बर्ना बोय थप्छन्, ‘आफ्नो चाहना पछ्याउनुस् / जहाँ इच्छाशक्ति छ, त्यहाँ बाटो छ ।’

गीतमा फुटबलका महान् खेलाडीहरूको नाम पनि समावेश गरिएको छ, जसमा पेले, म्याराडोना, माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, बेकहम, काका र मेस्सी छन् । साथै यसपटकको विश्वकपमा भाग लिने देशहरू ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बिया, अमेरिका, इङ्गल्यान्ड, जर्मनी, फ्रान्सको पनि उल्लेख गरिएको छ ।

फिफाले एउटा महत्त्वपूर्ण घोषणा पनि गरेको छ – ‘दाइ-दाइ’ को रोयल्टी फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डलाई सहयोग गरिनेछ । विश्वकप टुर्नामेन्ट सकिनुअघि बालबालिकाको शिक्षा र फुटबल अवसरका लागि १० करोड अमेरिकी डलर जुटाउने लक्ष्य छ ।

यसपटक शकिराको साथी बनेका बर्ना बोयलाई ‘अफ्रिकन जाइन्ट’ भनिन्छ ।

‘लास्ट लास्ट’ जस्ता गीतले उनलाई विश्वव्यापी पहिचान दिलाए । सन् २०२१ मा उनी ग्र्यामी अवार्ड जित्ने पहिलो एकल नाइजेरियन कलाकार बने । सन् २०२३ मा उनी न्युयोर्कको सिटी फिल्ड स्टेडियम भर्ने पहिलो अफ्रिकी कलाकार बने ।

शकिराले जसरी ‘वाका वाका’ मा अफ्रिकी तत्त्वहरू समाहित गर्दा अफ्रिकी कलाकारसँगको साझेदारीको माग उठेको थियो, यसपटक फिफाले त्यसतर्फ ध्यानाकर्षण गरेको देखिन्छ । बर्ना बोयलाई सहकलाकारका रूपमा समाहित गर्नु एउटा सचेत र रणनीतिक निर्णय देखिन्छ ।

000

फिफाले पहिलोपटक विश्वकपको फाइनलमा हाफटाइम शोको आयोजना गर्दैछ र यसका लागि विश्वकै तीनजना सबैभन्दा ठूला पप कलाकारहरू रोजिएका छन् ।

जुलाई १९ मा न्युजर्सीको न्युयोर्क न्युजर्सी स्टेडियम (जो पहिले मेटलाइफ स्टेडियम भनिन्थ्यो) मा हुने विश्वकप फाइनलको हाफटाइम शोमा शकिरा, म्याडोना र के–पप समूह बीटीएस सँगसँगै उपस्थित हुनेछन् ।

विश्वकपको फाइनल म्याच हेर्न आउने र हाफटाइम शोमा ‘दाई दाई’ प्रत्यक्ष सुन्ने सौभाग्य पाउनेहरू विश्वकै एउटा ऐतिहासिक क्षणका साक्षी बन्नेछन् ।

शकिरा इसाबेल मेबारक रिपोल अर्थात् शकिराको कथा कोलोम्बियाको बारान्क्विलाबाट सुरु हुन्छ । बाल्यकालदेखि नै उनमा संगीतप्रति अदम्य उत्साह थियो ।

उनका स्पेनिस भाषाका एल्बमहरूले ल्याटिन अमेरिकामा शीर्षस्थान हात पारे । सन् २००१ मा अङ्ग्रेजी भाषाको एल्बम ‘ल्यान्ड्री सर्भिस’ ले उनलाई ‘ह्वेनेभर, ह्वेरएभर’ गीतमार्फत अन्तर्राष्ट्रिय मूलधारमा जोड्यो । उनको ‘हिप्स डोन्ट लाइ’ सन् २०१४ सम्म बिलबोर्डको इतिहासकै सर्वाधिक बिक्री भएको एकल गीत थियो ।

सन् २००६ को जर्मनी विश्वकपको समापन समारोहमा उनले ‘हिप्स डोन्ट लाइ’ को विशेष संस्करण प्रस्तुत गरिन् । सन् २०१४ को ब्राजिल विश्वकपको समापन समारोहमा ‘ला ला ला (ब्राजिल २०१४)’ गाइन्, जुन फिफाको आधिकारिक एल्बममा पनि समावेश थियो ।

अर्थात् शकिरा र विश्वकपको नाताले चार पुस्ताको खेल आयोजन समेट्छ – सन् २००६, २०१०, २०१४ र अब २०२६ ।

उनको पहिचान संगीतको सीमाभन्दा पर पुगेको छ । उनी अफ्रो–क्यारिबियन, लेटिन, अरब र पश्चिमी संगीत परम्पराहरूलाई एकसाथ बुन्ने क्षमता राख्छिन् ।अस्ट्रेलिया विश्वविद्यालयका संगीतका जानकार ब्रेन्ट केओ भन्छन्, ‘उनी अन्य संस्कृतिहरूका तत्त्वहरूलाई आफ्नो वैश्विक पप प्याकेजमा ल्याउन माहिर छिन् ।’

(एजेन्सीहरूको सहयोगमा)

गायिका शकिरा फिफा विश्वकप वाकावाका विश्वकप गीत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय