News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण कोरिया र चेक रिपब्लिकबीचको खेल २९ जेठमा मेक्सिकोको ग्वाडालजारा रंगशालामा हुने भएको छ ।
- एसियाली राष्ट्र दक्षिण कोरिया लगातार ११औं पटक विश्वकप खेल्दैछ भने चेक रिपब्लिक २० वर्षपछि विश्वमञ्चमा फर्किएको छ ।
- फिफा वरीयताको २५औं स्थानमा रहेको दक्षिण कोरिया र ४०औं स्थानमा रहेको चेक रिपब्लिकबीच विश्वकप इतिहासमा यो पहिलो भेट हो ।
२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकबीच हुँदैछ । मोक्सिकोको ग्वाडालजारा रंगशालामा हुने उक्त खेल शुक्रबार बिहान पौने ८ बजेबाट सुरु हुनेछ ।
विश्वकपको इतिहासमा यी दुई टोलीबीच हुन लागेको यो नै पहिलो भेट हो । अन्य प्रतियोगितामा भने यी दुई टोलीबिच ३ खेल भएको थियो । दुवै टोलीले एकएक जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ । उनीहरूको अन्तिम भेट २०१६ मा भएको थियो, जहाँ दक्षिण कोरिया २–१ ले विजयी भएको थियो ।
एसियाली राष्ट्र दक्षिण कोरियाले लगातार ११औँ पटक विश्वकपमा सहभागिता जनाउँदैछ भने चेक रिपब्लिक २० वर्षको लामो पर्खाइपछि विश्वमञ्चमा फर्किएको हो । दक्षिण कोरिया सन् २००२ मा चौथो स्थान हासिल गरेको थियो ।
त्यतिबेलाका कप्तानी गरेका होंग म्युङ–बो अहिले टोलीका प्रशिक्षक छन् । चेक रिपब्लिकका ३५ वर्षीय पूर्वकप्तान भ्लादिमिर दारिदाले टोलीलाई विश्वकपमा पु¥याउन अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिँदै टोलीमा पुनरागमन गरेका हुन् ।
दक्षिण कोरियाले एएफसी छनोट चरणका १६ खेलहरूमा अपराजित रहँदै र मात्र ८ गोल खाएर आफ्नो प्रभुत्व जमाएको थियो । चेक रिपब्लिक आफ्नो समूहमा क्रोएसियाभन्दा पछि रहँदै दोस्रो स्थानमा खुम्चियो र प्लेअफमा रिपब्लिक अफ आयरल्यान्ड र डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै कठिन परिस्थितिमा नतिजा निकाल्ने आफ्नो क्षमता प्रदर्शन गर्यो ।
दुवै टोलीको खेल्ने शैली फरकफरक भएकाले यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
फिफा वरियताको २५औं स्थानमा रहेको दक्षिण कोरिया सन ह्युङ–मिन, ली काङ–इन र किम मिन–जे जस्ता चर्चित खेलाडीहरू छन् । दक्षिण कोरिया यो समूहमा बलियो टोली मानिएको छ । यस समूहमा सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका पनि छन् ।
चेक रिपब्लिक फिफा वरियताको ४०औं स्थानमा छ । चेक रिपब्लिकासँग प्याट्रिक सिक र एदम ह्लोजेक जस्ता खतरनाक खेलाडीहरू छन् । जसले दक्षिण कोरियालाई कडा टक्कर दिन सक्छन् ।
चेक रिपब्लिकाले पछिल्लो ५ खेलमा शतप्रतिशत जित निकालेको छ । दक्षिण कोरिया ५ मध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।
खेल : दक्षिण कोरिया भर्सेस् चेक रिपब्लिक
मिति र समय : २९ जेठ, विहान ७:४५ बजेदेखि
स्थान : ग्वाडालजारा रंगशाला
रेफ्री : अमिन मोहमद ओमर
पछिल्ला ५ नतिजा :
चेक रिपब्लिक ५ खेलमा ५ जित
दक्षिण कोरिया ५ खेलमा ३ जित
प्रतिक्रिया 4