+

बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटी उत्साहित

२०८३ जेठ  ३० गते १४:५६ २०८३ जेठ ३० गते १४:५६
बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटी उत्साहित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान ३:४५ बजे समूह चरणको खेलमा ब्राजिल र मोरक्को भिड्दैछन् ।
  • चोटका कारण ब्राजिलका स्टार खेलाडी नेइमार आइतबार मोरक्कोविरुद्ध हुने खेलमा मैदान बाहिर रहने सम्भावना बलियो छ ।
  • समूह 'सी' को अर्को खेलमा ५२ वर्षपछि विश्वकपमा फर्किएको हाइटीले आइतबार बिहान स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिलले अफ्रिकन जायन्ट मोरक्कोसँग खेल्दैछ ।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार आइतबार बिहान ३:४५ बजे सुरु हुनेछ ।

कतार विश्वकप २०२२ मा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसिया विरुद्ध स्तब्ध बन्यो । त्यसको चार वर्षअघि रुसमन पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपालि ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ ।

उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करणमा गरेको ऐतिहासिक प्रदर्शन दाहोर्याउने चुनौती छ । कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

गत वर्ष ब्राजिलियन फुटबलको इतिहास फेरिएको थियो । जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । योसँगै एन्सिलोटी ब्राजिलियन फुटबल इतिहासमा पहिलो स्थायी विदेशी प्रशिक्षक बने ।

तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भएजति सबै उपाधि जितेका छन् । अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्राजिल आएका छन् ।

विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्राजिलले १ सय १४ मध्ये ७४ खेलमा विजय हासिल गरेको छ । यसबीच ब्राजिलले पाँच पटक प्रतिष्ठित ट्रफी चुम्यो । यद्यपि, २४ वर्ष भइसक्यो, ब्राजिलले विश्वकपको उपाधि जित्न नसकेको ।

ब्राजिलले यसअघि पनि २४ वर्षको पर्खाइपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो । सन् १९७० मा ब्राजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो । त्यसपछि चौथोपटक च्याम्पियन हुन ब्राजिलले १९९४ सम्म कुर्नुपर्यो । त्यो पनि अमेरिकाको माटोमा । यसपालि त्यही संयोग जुरेको छ ।

विश्वकप इतिहासमा ब्राजिलले आठमध्ये सात पटक अफ्रिकन राष्ट्रलाई हराएको छ । ब्राजिलले एकमात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो । क्यामरुनले समूह चरणमा ब्राजिललाई १–० ले हराएको थियो । मोरक्को ब्राजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ ।

चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो । सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपालि प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’ का रूपमा हेरिएको छ ।

रमाइलो के छ भने मोरक्कोले आफ्नो सुरुवाती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो । मेक्सिको (१९७० र १९८६) अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो । पहिलो सहभागितमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा गर्यो ।

अमेरिका १९९४ मोरक्कोका लागि बिर्सनलायक रह्यो । टोलीले समूहका तीन वटै खेलमा एक गोल अन्तरले पराजित भयो ।

एट्लास लायन्सले पछिल्ला वर्षहरूमा आफूलाई शक्तिशाली फुटबल राष्ट्रका रूपमा उभ्याएको छ । सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित हासिल गर्दा १० बराबरी र दुईमा हार आत्मसात गरेको छ । अहिले त मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ । नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा पनि अगाडि ।

ब्राजिलसँगको पछिल्लो तीन भेटमध्ये एकमा मोरक्कोले जित हासिल गरेको छ । २०२३ मा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले स्तब्ध भएको थियो ।

ब्राजिलका उच्च गोलकर्ता नेइमार अझै पनि ‘काल्फ इन्जुरी’को समस्यासँग जुधिरहेका छन् । उनी आइतबारको खेलमा उपस्थित नहुने सम्भावना बलियो छ । त्यस्तै राइटब्याक वेस्ली मांसपेशी समस्याका कारण टोलीबाट बाहिरिएका छन् । उनको ठाउँमा एट्लान्टाका मिडफिल्डर एडर्सनले मौका पाएका छन् ।

प्रिमियर लिगका खेलाडी एलिसन बेकर, गाब्रियल म्यागलहेज र ब्रुनो गिमरेज अनि ला लिगाका भिनिसियस जुनियर र राफिन्हा मोरक्को विरुद्ध पहिलो रोजाइका बलियो दाबेदार हुन् ।

कप्तान अक्राफ हकिमी र भिनिसियसका सहकर्मी ब्राहिम डियाज मोरक्कोका लागि हेर्नलायक खेलाडी हुनेछन् ।

स्कटल्यान्ड र हाइटीमा विश्वकप उत्साह

समूह सीकै अर्को खेलमा स्कटल्यान्ड र हाइटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुनेछ ।

उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको छ । यसपालि आफ्नै महादेशमा भइरहेको विश्वकपमा हाइटीको एउटै लक्ष्य हुनेछ- पहिलो अनुभवलाई सुधार्ने । जर्मनी १९९४ मा हाइटीले तीनवटै खेलमा हार बेहोर्दा कूल १४ गोल खाएको थियो ।

कोनकाकाफ छनोटको १० मध्ये ६ खेलमा हाइटीले विजय हासिल गरेको थियो । नोभेम्बरमा कोस्टा रिकालाई १–० र निकारागुवालाई २–० ले हराउँदै हाइटी विश्वकपमा फर्किएको हो ।

विश्वकप २०२६ का ४८ राष्ट्रमध्ये हाइटी फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ । विश्वकपअघि हाइटीले पुछारको न्युजिल्यान्डमाथि ४–० को रवाफिलो जित हासिल गर्यो ।

स्कटल्यान्ड नवौं पटक विश्वकप खेल्दैछ । स्कटल्यान्डले पछिल्लो पटक १९९८ फ्रान्स विश्वकप खेलेको थियो ।

युईएफए छनोटमा ६ मध्ये चार खेल जितेको स्कटल्यान्डलाई मोरक्को र नर्वेसँगै ‘डार्क हर्स’ का रूपमा हेरिएको छ । स्कट म्याकटोमिने र एन्डी रोबर्टसन जस्ता विश्व फुटबलका चर्चित खेलाडी रहेको स्कटल्यान्ड बढीमा दोस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।

विश्वकपअघिमैत्रीपूर्ण खेलमा स्कटल्यान्डले १० खेलाडीमा समेटिएको कोराकाओलाई ४–१ ले हराएको थियो । त्यसपछि स्कटल्यान्डले बोलिभियालाई ४–० ले हरायो ।

अहिलेसम्म समूह चरण पार गर्न नसकेको स्कटल्यान्डसँग यसपटक नकआउट पुग्ने लक्ष्यमा छ । त्यसका लागि तुलनात्मक रूपमा कमजोर मानिएको हाइटीलाई हराउँदै सुखद सुरुवात गर्ने स्कटल्यान्डको लक्ष्य छ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय