+
+
Shares

कोही किन अनागरिक हुन्छ ?

डेढ दशकदेखि नागरिकता पाउने संघर्षमा लागेकी सुनैनाहरूले अनागरिक नरहन अझै कति समय संघर्ष गर्नुपर्ला ?

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ जेठ ३१ गते ८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रश्न हो- द टर्मिनल’का भिक्टरले भोगेको जस्तो समस्या वास्तविक जीवनमा पनि हुन्छ कि कथानक चलचित्रमा मात्र ? दिल्लीस्थित नेपाली दूतावासका एक जना अधिकारी भन्छन्– चलचित्रमा देखाइएको भन्दा कैयौं गुणा बढी पीडादायी समस्या हामीले देखेका छौं ।
  • भारतीय नागरिकसँग विवाह गरेकी नेपाली महिला सुनैना सिजापति १५ वर्षभन्दा बढी समयदेखि नागरिकता नपाएर अनागरिकको अवस्थामा छिन् ।
  • भारतका लागि पूर्वराजदूत डा. शंकर शर्माले आफ्नो कार्यकालमा १५ देखि २० जना नेपाली महिला यस्तो जटिल नागरिकताको समस्या लिएर आएको बताए ।

३१ जेठ, काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित जोन एफ केनेडी विमानस्थलमा अवतरण गरेको एउटा विमानका यात्रुमध्ये एक जना छन्, पूर्वी युरोपेली देश क्राकोझियाका भिक्टर नाभोस्की ।

भिक्टर अध्यागमनबाट बाहिरिनुअघि नै उनको देशमा एउटा नाटकीय घटना  देखापर्छ । उनले देश छाड्दासम्म सामान्य रहेको क्राकोझियामा एकाएक सैन्य ‘कु’ हुन पुग्छ ।

सैन्य ‘कु’ पछि बनेको सरकारलाई अमेरिकाले मान्यता दिंदैन र भिक्टरको राहदानी अवैध बन्न पुग्छ । अमेरिकी अध्यागमनका अधिकारीहरूले भिक्टरको राहदानी लगायतका कागजपत्र र आफ्नो देश फर्किने टिकट जफत गरिदिन्छन् । त्यसपछि भिक्टर न आफ्नो देश फर्किन पाउँछन् न विमानस्थलबाट बाहिरिन । पहिचानविहीन भएका उनले विमानस्थलको एउटा गेटमा आश्रय लिन पुग्छन् ।

विमानस्थलमा नौ–नौ महिना अनागरिक भएर अड्किनु पर्दा भिक्टरमाथि के के बित्यो होला ? बदामको डिब्बा र केही सामान मात्र साथमा लिएर उनी विमानस्थलको टर्मिनलमा कसरी बसे होलान् ? यसको जवाफ दुई दशक पहिले बनेको अमेरिकी चलचित्र ‘द टर्मिनल’ ले दिन्छ ।

हो, माथि चर्चा गरिएका भिक्टर लगायतका पात्र मात्र होइन देश क्राकोझिया पनि काल्पनिक हो । यस्तो कथा एन्ड्री निकोल र साचा गार्वेसीले बुनेका हुन् ।

प्रश्न हो, ‘द टर्मिनल’का भिक्टरले भोगेको जस्तो समस्या वास्तविक जीवनमा पनि हुन्छ कि कथानक चलचित्रमा मात्र ?

‘त्यो चलचित्रमा देखाइएको भन्दा कैयौं गुणा बढी पीडादायी समस्या हामीले देखेका छौं’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक जना अधिकारी भन्छन् ।

सुनैनाको नेपाली नागरिकता खारेज हुँदा भारतीय कानून अनुसार पूरा हुनुपर्ने सात वर्षे प्रावधान पूरा भएको हुँदैन । परिणामस्वरुप भएको नागरिकता गुम्यो, नयाँ प्राप्त भएन अर्थात् कानूनत: स्टेटलेसको अवस्था आयो ।

चार वर्ष भारतमा राजदूत रहिसकेका डा. शंकर शर्मा भारतीयसँग विवाह गरेर गएका नेपाली महिलामध्ये केहीले नागरिकताको समस्या भोगिरहेको बताउँछन् । उनी भन्छन्, ‘मेरो पालामा पनि १५–२० जना जति जटिल समस्या लिएर आउनुभएको थियो ।’

नागरिकता सम्बन्धी त्यस्तै समस्यामा परेका मध्ये एक हुन्, सुनैना सिजापति । उनको सन् २०११ मा देहरादुनमा विवाह भएको थियो ।

विवाह भएर गएको देशको नागरिकता पाउन माइती देशको नागरिकता, राहदानी त्याग्नुपर्ने हुन्छ । दिल्लीस्थित नेपाली दूतावासमार्फत सुनैनाको भारतीय नागरिकता प्राप्त गर्ने प्रक्रिया अगाडि बढ्छ ।

नेपाली दूतावासले प्रक्रिया अगाडि बढाएपछि सन् २०१५ मा उनको नागरिकता खारेज हुन्छ । भारतको नागरिकता सम्बन्धी कानून (१९५५) अनुसार वैवाहिक नागरिकता प्राप्त गर्नका लागि भारतीय नागरिकसँग वैवाहिक सम्बन्धमा रहेको तथा दर्ताका लागि आवेदन पेश गर्नुअघि लगातार सात वर्षदेखि सामान्यतया भारतमा बसोबास गर्दै आएको व्यक्ति हुनुपर्दछ ।

विडम्बना, सुनैनाको नेपाली नागरिकता खारेज हुँदा भारतीय कानून अनुसार पूरा हुनुपर्ने सात वर्षे प्रावधान पूरा भएको हुँदैन । परिणामस्वरुप भएको नागरिकता गुम्यो, नयाँ प्राप्त भएन अर्थात् कानूनत: स्टेटलेसको अवस्था आयो ।

नागरिकता नभएपछि घर–माइती ओहोरदोहोरमा समस्या आइपरेको सुनैना बताउँछिन् । विमानमा आउजाउ गर्न नमिल्ने भएपछि उनले सडक यात्रा रोजिन् । तर पछिल्लो समय त्यहाँ पनि नागरिकता वा राहदानी खोज्न थालेको उनी बताउँछिन् ।

सुनैना सात वर्ष कुर्न तयार नभएकी पनि होइनन् । तर १५ वर्षभन्दा बढी भइसक्दा पनि उनले नागरिकता प्राप्त गर्न सकेकी छैनन् । नागरिकको हैसियत पाएकी छैनन् ।

सुनैनाले नागरिकताका लागि नेपाल र भारत दुवै देशमा गुहार्नुपर्ने जति निकाय छाडेकी छैनन् । तर समस्या ज्यूँकात्यूँ छ ।

भारतीय कानून अनुसार पुग्नै पर्ने सात वर्ष पूरा हुनुअघि नै माइती देशको नागरिकता खारेज हुँदा नयाँ समस्या जन्मिंदो रहेछ, त्यो भनेको अनागरिकको अवस्था हो । ‘जुन देशबाट विवाह गरेर ल्याइएको हो कानूनत: यही देशको हो भन्ने नखुल्दा भारतमा नागरिकता पाउन झनै गाह्रो हुँदोरहेछ’ भारतीय दूतावासमा कार्यरत एक अधिकारी भन्छन् ।

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि बाङ्गलादेशबाट घुसपैठ भएको भन्दै नागरिकतामा कडाइ गरिएको देखिन्छ । गृह मन्त्रालय अन्तर्गतको नागरिकता विभाग र इन्टेलिजेन्स ब्युरोले मात्र होइन सीआईबीले समेत सोधपुछ गर्न थालेको भुक्तभोगीहरू बताउँछन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा सुनैनाको सन्दर्भमा आफूहरूले गर्न सक्ने जति पहल गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘जहाँ जहाँ समन्वय गर्नुपर्ने हो हाम्रोतर्फबाट सक्दो गरिरहेका छौं ।’

विगतमा गरिएका प्रयासहरूप्रति आफू कृतज्ञ रहेको तर आफ्नो मामिलामा आवश्यक सहयोग प्रदान गर्न अघिल्ला सरकारहरू सम्भवत: सक्षम अवस्थामा नभएको उनको बुझाइ छ । उनी भन्छिन्, ‘गतिशील, सक्रिय तथा दूरदर्शी भनेर हेरिएको अहिलेको सरकारले मेरो अवस्थाबारे पुन: गम्भीरतापूर्व विचार गर्नेछ भन्ने आशा राख्दछु ।’

व्यक्तिगत रूपमा जति पहल गर्दा पनि नतिजा हात नलागेको भन्दै उनी सरकारीस्तरबाटै पहल गर्नुपर्ने धारणा राख्छिन् । उनी भन्छिन्, ‘मेरो लामो समयदेखि समाधान हुन नसकेको नागरिकताको समस्या अन्तत: टुङ्गोमा पुग्न सकोस् र मैले पुन: कानूनी राष्ट्रियता प्राप्त गरी सम्मान, सुरक्षा र मर्यादाका साथ जीवनयापन गर्न सकूँ भन्ने उद्देश्यले नेपाल सरकारले सम्भव भएसम्मको सहयोग, मार्गदर्शन तथा सहकार्य प्रदान गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु ।’

यस्ता दृष्टान्तले नेपाल र भारत बीचको ‘रोटी बेटीको सम्बन्ध’ भनाइमा सीमित रहेको देखाउँछ । पूर्वराजदूत डा. शंकर शर्मा दुवै देशको कानून अनुसारका साना भन्दा साना प्रक्रियामा ध्यान दिन सुझाउँछन् । सम्बन्धित देशको नागरिकता पाउने सुनिश्चित नभएसम्म राहदानी र नागरिकता बचाउनुपर्ने शर्मा बताउँछन् ।

मेहरान करिमी नासिरी

माथि उल्लेख गरेको चलचित्र ‘द टर्मिनल’ कथानक भए पनि इरानका शरणार्थी मेहरान करिमी नासिरीको वास्तविक जीवनबाट प्रभावित रहेको  बताइन्छ । शरणार्थी नासिरी १९८८ देखि २००६ सम्म पेरिसस्थित चार्ल्स द गाल अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को प्रस्थान कक्षमा अड्किएका थिए ।

नासिरी यात्रा सम्बन्धी वैध कागजपत्रको अभावमा विमानस्थलमा अलपत्र परेका थिए । २००६ मा स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनी अस्पताल भर्ना भए । विभिन्न आश्रयस्थलहरूमा समेत बसोबास गरेका नासिरीको २०२२ मा चार्ल्स द गाल विमानस्थलमा  हृदयघातबाट निधन भयो । त्यतिबेला उनी टर्मिनल–२ एफमा थिए ।

२००४ मा चलचित्र ‘द टर्मिनल’ बन्दा नासिरी टर्मिनल–१ मै थिए ।

‘द टर्मिनल’ को देश ‘क्राकोझिया’मा नौ महिनापछि युद्ध समाप्त भएर भिक्टरको राहदानी पुन: मान्य हुन्छ । उनी ससम्मान स्वदेश फर्कन्छन् ।

डेढ दशकदेखि नागरिकता पाउने संघर्षमा लागेकी सुनैनाहरूले अनागरिक नरहन अझै कति समय संघर्ष गर्नुपर्ला ?

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?