+

१० वर्षपछि पुनः हुँदै विशेष ओलम्पिक्स : बौद्धिक अपाङ्गता भएका खेलाडी उपत्यकाव्यापी प्रतिस्पर्धामा

२०८३ जेठ  ३१ गते १३:०६ २०८३ जेठ ३१ गते १३:०६
१० वर्षपछि पुनः हुँदै विशेष ओलम्पिक्स : बौद्धिक अपाङ्गता भएका खेलाडी उपत्यकाव्यापी प्रतिस्पर्धामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा आइतबारदेखि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ ।
  • स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले विभिन्न कारणले स्थगित प्रतियोगिता करिब १० वर्षपछि पुनः आयोजना गर्न लागिएको बताइन् ।
  • नेपालले सन् २०२७ मा अमेरिकामा आयोजना हुने विशेष ओलम्पिक्स प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेको छ ।

३१ जेठ, काठमाडौं । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा विकास तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता २०८३’ आयोजना भएको छ ।

स्पेशल ओलम्पिक्स नेपाल र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा आइतबार ललितपुरको जाउलाखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका २४ जना बौद्धिक अपाङ्गता भएका महिला तथा पुरुष खेलाडी सहभागी हुने जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत ५० मिटर र १०० मिटर दौड, लङ जम्प तथा सफ्ट बल थ्रो खेलमा प्रतिस्पर्धा गराइनेछ ।

स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले विभिन्न कारणले लामो समयदेखि स्थगित रहेको विशेष ओलम्पिक्स प्रतियोगिता करिब १० वर्षपछि पुनः आयोजना गर्न लागिएको बताइन् । उनले खेलकुदमार्फत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास वृद्धि हुनुका साथै अभिभावकलाई समेत सकारात्मक ऊर्जा मिल्ने विश्वास व्यक्त गरिन् ।

‘यस्ता प्रतियोगिताले खेलाडीहरूको प्रतिभा पहिचान गर्न, नेतृत्व क्षमता विकास गर्न तथा समाजमा उनीहरूको सहभागिता र पहिचान बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन् ।

नेपाली खेलाडीहरूले विगतमा अन्तर्राष्ट्रिय स्तरका विशेष ओलम्पिक्स प्रतियोगितामा सहभागी भई विभिन्न पदकसमेत जितिसकेको उनले स्मरण गराइन् ।

स्पेशल ओलम्पिक्स नेपालका उपाध्यक्ष डा. लाक्पा शेर्पाले अमेरिकाबाट सुरु भएको विशेष ओलम्पिक्स अभियानले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए । नेपालमा पनि यस्ता व्यक्तिहरूलाई खेलकुदमार्फत सशक्त बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

महासचिव सीमा राईका अनुसार सन् २०२७ मा अमेरिकामा आयोजना हुने विशेष ओलम्पिक्स प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने तयारी गरिरहेको छ । सोही तयारीलाई लक्षित गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने आयोजकले जनाएको छ । विशेष ओलम्पिक्सको पुनरागमनसँगै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा उजागर गर्ने तथा समावेशी खेल संस्कृतिलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

विशेष ओलम्पिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय