News Summary
Generated by OK AI. Editorially reviewed.- स्पोटिफाईले अवैध औषधि बिक्री र ठगी गर्ने वेबसाइटसँग जोडिएका ५७ हजारभन्दा बढी नक्कली पोडकास्ट एपिसोडहरू हटाएको छ ।
- अमेरिकी संसद्को प्रतिवेदन सार्वजनिक भएपछि सर्च इन्जिनको र्याङ्किङ प्रभावित पार्न अपराधीहरूले यस्ता नक्कली पोडकास्ट प्रयोग गरेको खुलासा भएको थियो ।
- नक्कली सामग्री फैलाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग भएको र यसलाई रोक्न आफ्नो संयन्त्र कमजोर रहेको स्पोटिफाईले स्वीकार गरेको छ ।
विश्वकै ठूलो अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईले अवैध रूपमा औषधि बिक्री गर्ने र ठगी गर्ने वेबसाइटहरूसँग जोडिएका हजारौँ नक्कली पोडकास्टहरू हटाएको छ ।
गत एक वर्षको अवधिमा गरिएका यी कारबाहीमा ५७ हजारभन्दा बढी पोडकास्ट एपिसोड र ३ हजारभन्दा बढी पोडकास्ट शोहरू बन्द गरिएका छन् ।
यसका साथै यस्ता गतिविधिमा जोडिएका करिब ३ हजार ५०० वटा प्रयोगकर्ता एकाउन्टहरूलाई समेत प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी संसद्को प्रतिवेदन सार्वजनिक भएपछि मात्र स्पोटिफाई भित्र चलिरहेको यो ठूलो नेटवर्कको खुलासा भएको थियाे ।
अमेरिकी सिनेटर म्यागी हसनको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदनले स्पोटिफाईको कमजोरीमाथि गम्भीर प्रश्न उठाएको छ । प्रतिवेदनका अनुसार यी नक्कली पोडकास्टहरू वास्तविक स्रोताले सुनुन् भनेर बनाइएका नै थिएनन् ।
यसको मुख्य उद्देश्य सर्च इन्जिनको र्याङ्किङ प्रणाली (एसईओ) लाई प्रभावित पार्नु थियो । अपराधीहरूले पोडकास्टको शीर्षक, विवरण र कभर आर्टमा विभिन्न प्रतिबन्धित औषधिहरू (जस्तैः ओपियोइड्स र स्टिम्युलेन्ट्स) डाक्टरको प्रेस्क्रिप्सन बिना बेच्ने अवैध अनलाइन फार्मेसी कम्पनीका लिङ्कहरू राख्ने गरेका थिए ।
स्पोटिफाईमा लिंक राख्दा गुगल जस्ता सर्च इन्जिनहरूमा ती अवैध वेबसाइटहरू सजिलै माथि आउँथे ।
स्पोटिफाईले अनुसन्धानकर्ताहरूलाई दिएको जानकारी अनुसार हटाइएका कुल एपिसोडहरू मध्ये ९४ प्रतिशत एपिसोड कसैले पनि सुनेका थिएनन् भने ९९ प्रतिशत एपिसोड १० पटकभन्दा कम मात्र प्ले भएका थिए ।
यद्यपि, केही सिमित पोडकास्टहरू भने हजारौँ मानिसले सुनेका थिए, जसमा क्रिप्टोकरेन्सीको प्रयोग गरेर अवैध रूपमा औषधि कसरी खरिद गर्ने भन्ने तरिकाहरू सिकाइएको थियो ।
यस्तै खालका सामग्रीहरू स्पाेटिफाईबाहेक अन्य पोडकास्ट प्लेटफर्महरूमा पनि भेटिएकाले यो समस्या सिङ्गो अडियो उद्योगकै लागि चुनौती बनेको उक्त प्रतिवेदनमा उल्लेख रहेकाे द वायरले जनाएकाे छ ।
यस प्रकारका नक्कली सामग्रीहरू फैलाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र रूपमा भइरहेको अनुसन्धानले देखाएको छ । एआईको मद्दतले मानिसको जस्तै सुनिने नक्कली आवाज र सामग्रीहरू निकै सस्तो र छिटो उत्पादन गर्न सकिने भएकाले अपराधीहरूलाई सजिलो भएको दाबी गरिएकाे छ ।
यसरी एआईकाे दुरुपयाेग बढ्दा स्पोटिफाईले गीत-संगीतमा हुने स्पाम रोक्न स्वचालित प्रविधि प्रयोग गरे पनि एआईद्वारा निर्मित पोडकास्टहरू चिन्न र रोक्न आफ्नो संयन्त्र अझै कमजोर रहेको स्वीकार गरेको छ ।
प्रतिक्रिया 4