+
+
Shares

राष्ट्रपति निर्वाचित भएपछि म्यानमारका सैन्य नेता मिन आङ ह्लाइङ पहिलो पटक चीन भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:०१

१ असार, काठमाडौं । म्यानमारका नवनिर्वाचित राष्ट्रपति मिन आङ ह्लाइङ पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार चीनको राजधानी बेइजिङ पुगेका छन्। यो भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भएको हो । ६९ वर्षीय ह्लाइङ राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो चीन भ्रमण हो।

गत अप्रिल महिनाको सुरुमा म्यानमारको सेना पक्षधर सांसदहरूको बाहुल्यता रहेको संसद्ले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेको हो। यसअघि उनी त्यहाँको सैन्य जुन्ताको प्रमुख तथा प्रधानसेनापति थिए। सन् २०२१ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गर्ने मुख्य योजनाकार ह्लाइङ नै थिए ।

प्रधानसेनापतिबाट नागरिक राष्ट्रपतिका रूपमा उनको यो रूपान्तरणले म्यानमारमा उनको सत्ता पकडलाई कानुनी रूपमा थप बलियो बनाएको छ। सन् २०२१ को सैन्य कूपले म्यानमारको एक दशक लामो लोकतान्त्रिक अभ्यासलाई अन्त्य गरिदिएको थियो भने एसियाकै उदीयमान बजार मानिने सो देशबाट विदेशी लगानीकर्ताहरू बाहिरिएका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति ह्लाइङले चिनियाँ समकक्षी सी चिनपिङसँग द्विपक्षीय वार्ता गर्नेछन्। यसका साथै उनले चीनका राजनीतिक वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका प्रधानमन्त्री ली छ्याङ र राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत हप्ता पत्रकार सम्मेलनमा बोल्दै चीन र म्यानमारबिच ऐतिहासिक रूपमै बलियो भ्रातृत्व र सहकार्य रहँदै आएको र यस भ्रमणले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

राष्ट्रपति बनेपछि ह्लाइङको यो पहिलो विदेश भ्रमण भने होइन। उनले गत मे महिनाको अन्त्यमा भारतको पाँच दिने भ्रमण गरेका थिए । म्यानमारमा जारी आन्तरिक द्वन्द्वका बिच चिनियाँ लगानीका परियोजना र सीमा सुरक्षाको विषयमा केन्द्रित रहेर यो बेइजिङ भ्रमणमा महत्त्वपूर्ण छलफल हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?