+
+
Shares

क्रोमको नयाँ अपडेट : विज्ञापन रोक्ने ‘एडब्लकर’ कमजोर हुँदै

‘यूब्लक ओरिजिन’ जस्ता लोकप्रिय एडब्लकरहरूले क्रोममा पूर्ण रूपमा काम गर्न छाडेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १६:१५

२ असार, काठमाडौं । विश्वकै सबैभन्दा बढी प्रयोग गरिने इन्टरनेट ब्राउजर ‘गुगल क्रोम’ले आफ्नो एक्स्टेन्सन फ्रेमवर्क (प्रणाली) मा परिवर्तन गरेकाे छ ।

गुगलले ल्याएको नयाँ अपडेटसँगै क्रोममा प्रयोग हुँदै आएका विज्ञापन रोक्ने सफ्टवेयर (एडब्लकर) हरू कमजोर बन्दै गएका छन् । ‘यूब्लक ओरिजिन’ जस्ता लोकप्रिय एडब्लकरहरूले क्रोममा पूर्ण रूपमा काम गर्न छाडेका छन् ।

गुगलका अनुसार यसले क्रोमको पुरानो सञ्चालन नियम ‘मेनिफेस्ट भी२’ लाई हटाएर नयाँ नियम ‘मेनिफेस्ट भी३’ लागू गरेको हो । जुलाई २०२५ मा क्रोमले सबै पुराना एमभी २ एक्स्टेन्सन स्थायी रूपमा निष्क्रिय गर्‍यो, जसका कारण ‘यूब्लक ओरिजिन’ क्रोम वेब स्टोरबाट हटाइयो ।

यसरी नयाँ अपडेट आएसँगै एडब्लकरहरूले पहिले जस्तो ‘डाइनामिक फिल्टरिङ’ (वेबसाइट खुल्नुअगावै रियल-टाइममा विज्ञापन रोक्ने प्रक्रिया) गर्न सक्दैनन् ।

गुगलले यो कदम प्रयोगकर्ताको सुरक्षा सुदृढ गर्न र ब्राउजरको कार्यक्षमता बढाउन चालिएको दाबी गरेको छ ।

पछिल्लो समय क्रोमका विभिन्न एक्स्टेन्सनहरू मार्फत मालवेयर (भाइरस) फैलिने र प्रयोगकर्ताको गोप्य डाटा चोरी हुने घटना बढेकाले नयाँ नियम ल्याउनुपरेको गुगलले दाबी गरेको छ ।

तर, साइबर सुरक्षा विज्ञ तथा प्रविधि विज्ञले भने गुगलको यो कदमको आलोचना गरेका छन् । गुगलको मुख्य आम्दानीको स्रोत नै डिजिटल विज्ञापन भएकाले आफ्नो व्यावसायिक स्वार्थका लागि एडब्लकरहरूलाई कमजोर बनाइएको आरोप उनीहरूको छ ।

साइबर सुरक्षा मामलाका जानकारहरूले भने एडब्लकरहरूले विज्ञापन मात्र नरोकी प्रयोगकर्तालाई हानिकारक अनलाइन रिडाइरेक्ट, ट्र्याकिङ र मालिसियस विज्ञापनबाट समेत जोगाउने गर्छन् । त्यसैले एडब्लकर कमजोर हुँदा प्रयोगकर्ताहरू साइबर जोखिममा पर्न सक्ने उनीहरूको भनाइ छ ।

यद्यपि, क्रोम प्रयोगकर्ताका लागि ‘यूब्लक ओरिजिन लाइट’ नामकाे सफ्टवेयर अझै उपलब्ध छ । यदि पूर्ण एडब्लकिङ कसैलाई चाहिन्छ भने फायरफक्स वा ब्रेभ ब्राउजरमा ‘यूब्लक ओरिजिन’ ले नै काम पनि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?