+
+
Shares

रास्वपा महामन्त्रीको स्पष्टीकरण- पार्टीको टिकट वितरणमा एक नम्बर थपिन्छ भनेको हुँ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १८:३२

२ असार, काठमाडौं । रास्वपा महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफूले नियुक्ति प्रक्रियामा नभइ पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरेको बताएका हुन् ।

विश्वविद्यालयको उपकुलपति छनोट गर्न सरकारले बनाएको योग्यता प्रणाली भन्दा फरक हुने गरी रास्वपा महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । उनले पार्टीको झण्डा बोकेर हिंडेको मान्छेका लागि एक नम्बर थपिने बताएका थिए ।

तर, आफूले विश्वविद्यालयको उपकुलपति छनोटमा नभइ पार्टीको टिकट वितरणमा त्यस्तो व्यवस्ता लागू हुने भनेको बताएका हुन् ।

पार्टीको अधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले पार्टीमा लागेर योगदान गरेकाहरूलाई टिकट वितरणका क्रममा एक नम्बर थप गर्ने कुरा आफूले गरेको बताए ।

‘युनिभर्सिटी पढेको, काम गरेको, योग्य इमानदार व्यक्ति हुनुहुन्छ । हामी योग्यता भन्नासाथ पढेको भन्छौं नि त । त्यस्तो व्यक्ति हुनुहुन्छ तर पार्टीमा लाग्नुभएको छैन । तर अर्को व्यक्ति त्यस्तै योग्य हुनुहुन्छ र पार्टीमा लाग्नुभाछ भने पार्टीले आन्तरिक टिकट वितरण गर्ने क्रममा एक नम्बर थप्छ,’ महामन्त्री बुर्लाकोटीले थप भने, ‘उम्मेदवार बनाउने बेलामा एक नम्बर थप्छ भन्न खोजेको हो । त्यसमा भुलचुकवस अन्य बुझाइ भयो भने क्षमा माग्दै स्पष्ट पार्न चाहन्छु, टिकट वितरणमा एक नम्बर पार्टीमा योगदान गरेका साथीहरूलाई थप्छ भन्न खोजेको हो ।’

यस्तो छ महामन्त्री बुर्लाकोटीको स्पष्टीकरण–

मैले त्यो पार्टीको अधिवेशनमा बोलेको थिएँ । त्यहाँ साथीहरूले मलाई के प्रश्न गर्नुभएको थियो भने– हामी पार्टीमा लागेर योगदान गर्ने साथीहरूको पनि उही, अनि ल्याटरल इन्ट्रि आएर पनि उही टिकट पाउने हो भने, स्थानीय तहको टिकट वा अर्को पार्टीको चुनावको टिकट उही हुन भएन, हामी पार्टीमा योगदान गरेका साथीहरूको कम्तीमा केही त हुनुपर्‍यो भन्नुभएको थियो । त्यही विषयमा मैले अधिवेशनको बेलामा प्रष्ट्याउँदा भनेको कुरा थप प्रष्टाउँछु ।

दुई जना योग्य हुनुहुन्छ । पढेलेखेको, सफल इमानदार हुनुहुन्छ । दुईवटा व्यक्तिमध्ये एउटा चाहीँ आफ्नो पेशामा मात्रै हुनुहुन्छ । पार्टी राजनीति आदि इत्यादी केही पनि गर्नुभएको छैन । अर्को एउटा व्यक्ति चाहिँ पार्टी राजनीतिमा रास्वपाप्रति झुकाव राखेर भोट हाल्ने यस्तो केही गर्नुभएको छ भने पार्टीले टिकट वितरणको क्रममा १ नम्बर त्यस्तो व्यक्तिहरूलाई थप्छ है अरु बाँकी नम्बर चाहिँ आफ्नै क्षमता, योग्यता, अनुशासनले कमाउनुपर्छ । एक नम्बर चाहिँ पार्टीमा योगदान गर्नेलाई थप्छ भनेर भनेको थिएँ । सायद त्यहाँ बोल्दा अलि लामो भाषण गर्दा त्यहाँ प्रष्ट्याउन नसकेर केही कन्फ्युजनहरू आए होलान् । म यहाँ तपाईंहरूमार्फत पुन प्रष्ट्याउन चाहन्छु ।

पार्टीले टिकट वितरण गर्ने सन्दर्भमा पार्टीमा योगदान गरेका व्यक्तिलाई एक नम्बर भए पनि थप्छ भन्न खोजेको हो । म त्यो प्रष्ट पार्न चाहन्छु ।

युनिभर्सिटी पढेको, काम गरेको, योग्य इमानदार व्यक्ति हुनुहुन्छ । हामी योग्यता भन्नासाथ पढेको भन्छौं नि त । त्यस्तो व्यक्ति हुनुहुन्छ तर पार्टीमा लाग्नुभएको छैन । तर अर्को व्यक्ति त्यस्तै योग्य हुनुहुन्छ र पार्टीमा लाग्नुभाछ भने पार्टीले आन्तरिक टिकट वितरण गर्ने क्रममा एक नम्बर थप्छ । उम्मेदवार बनाउने बेलामा एक नम्बर थप्छ भन्न खोजेको हो । त्यसमा भुलचुकवस अन्य बुझाइ भयो भने क्षमा माग्दै स्पष्ट पार्न चाहन्छु, टिकट वितरणमा एक नम्बर पार्टीमा योगदान गरेका साथीहरूलाई थप्छ भन्न खोजेको हो ।

यसले पार्टीमा लागेका साथीहरू योग्य हुनुहुन्छ भने ल्याटरल इन्ट्रिबाट आएकाले टिकट फुत्काइदिन्छ कि भन्ने जो त्रास छ त्यो हुँदैन है ? पहिलैदेखि पार्टीमा योगदान गरेको साथीलाई एक नम्बर थपिन्छ भन्न खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?