३ असार, काठमाडौं । कप्तान केलिएन एमबाप्पेले दोस्रो हाफमा दुई गोल गरेपछि साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।
अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदै शानदार सुरुवात गरेको हो । जितपछि फ्रान्सले समूह आईमा ३ अंक जोडेको छ ।
फ्रान्सको जितमा कप्तान एमबाप्पेले २ र ब्राडली बारकोलाले एक गोल गरे । सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल फर्काए ।

खेलको ६६औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ८२औं मिनेटमा बारकोलाले गोल गर्दै फ्रान्सलाई दोब्बर अग्रता दिलाए ।
दोस्रो हाफको इन्जुरी समयमा इब्राहिम म्बायेले गोल गर्दै सेनेगललाई खेल फर्काउने प्रयास गरे । तर, त्यसको केही मिनेटमै फ्रान्सका कप्तान एमबाप्पेले गोल जित निश्चित गरे ।
सेनेगलका निकोलस ज्याक्सन र इस्माइला सारले पहिलो हाफमा गोल गर्ने सुन्दर अवसर पाएपनि सदुपयोग गर्न नसक्दा सेनेगल अग्रता लिन चुकेको थियो ।
याे खेलमा फ्रान्सले सेनेगलसँग २४ वर्षअघिको हारको बदला पनि लिएको छ । सन् २००२ मा भएको विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो ।
सेनेगलविरुद्ध २ गोल गरेका एमबाप्पेले विश्वकपमा कुल १४ गोल पुर्याएका छन् । यसअघि उनले सन् २०१८ मा ४ र २०२२ को विश्वकपमा ८ गोल गरेका थिए ।

विश्वकपमा सर्वाधिक गोल गर्नेमान एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसी र आफ्नै देशका जस्ट फोन्टेनलाई पछि पारेका छन् । दुवैको समान १३ गोल छ ।
विश्वकपमा सर्वाधिक गोल गर्नेमा जर्मनीका गर्ड मुलरसँगै एमबाप्पे संयुक्त रुपमा तेस्रो स्थानमा छन् । यस्तै सर्वाधिक १६ गोल गरेका जर्मनीकै मिरोस्लाभ क्लोज भन्दा एमबाप्पे अब दुई गोलले मात्र पछि छन् ।
यस्तै एमबाप्पेले फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल (५८) गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले ओलिभर जिरुड (५७) लाई पछि पारेका छन् ।

प्रतिक्रिया 4