५ असार, तुलसीपुर (दाङ) । थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।
नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारुको पहिचानसँग जोडिएको छ, यसलाई संरक्षण गर्न नयाँ पुस्ताले चासो दिनुपर्छ’, उनले भने, ‘त्यसका लागि स्थानीयर तह तथा सरोकार भएका निकायले सीपमूलक तालिम दिन आवश्यक छ ।’
थारु समुदायले पूजाआजासहित विभिन्न शुभकार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ । थारु अगुवा रुपलाल चौधरीका अनुसार कुनै औपाचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ । ‘ढकियाले थारुको पहिचान झल्काउँछ’, उनले भने ।
दाङमा थारु समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारु समुदायले ढकिया बुन्न छोडेको रुपलालको भनाइ छ । उनले ढकियालाई दाङको चिनोका रुपमा विकास गर्नुपर्ने बताए । ‘दाङ थारुहरुको बाहुल्यता भएको जिल्ला हो’, उनले भने, ‘त्यसैले प्रदेश तथा स्थानीय सरकारले पहल लिएर ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्छ ।’ वनमा पाइने काँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ ।
ढकिया निर्माणसम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरणलगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरोकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढाउनुपर्नेमा रुपलालले जोड दिए । युवा पुस्ताको सहभागितामा ढकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया 4