+
+
Shares

डिजिटल सेवा तथा उत्पादन प्रयोगमा ल्याउनुअघि परीक्षण अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा र प्रविधिको बजारमा प्रयोग हुनुअघि परीक्षण गर्न ‘नियामक स्यान्डबक्स सम्बन्धी मार्गदर्शन’ लागू गरेको छ ।
  • मार्गदर्शन अनुसार नेपालमा दर्ता भएका कम्पनीहरूले नयाँ उत्पादनको ६ महिनासम्म परीक्षण गरी सफल भएपछि मात्र सञ्चालन अनुमति पाउनेछन् ।
  • यस अन्तर्गत डिजिटल कर्जा र भुक्तानी सेवाको परीक्षण गर्न पाइने भए पनि क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजीलाई प्रतिबन्ध लगाइएको छ ।

५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार सम्बन्धी सेवा प्रयोगमा आउनुभन्दा अघि परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले वित्तीय सेवा प्रदान गर्न प्रयोग हुने प्रविधि तथा परीक्षण गर्न मागर्दशन नै लागु गरेको हो । बैंकले जारी गरेको ‘नियामक स्यान्डबक्स सम्बन्धी मार्गदर्शन’ मा वित्तीय कारोबारमा संग्लन हुने प्रविधिक नयाँ उत्पादन तथा सेवाको प्रोत्साहन र नियन्त्रण गर्ने व्यवस्था छ । वित्तीय क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले अवसरसँगै जोखिम पनि ल्याउने भएकाले त्यसको परीक्षण जरुरी हुने केन्द्रीय बैंकले जनाएको छ ।

मार्गदर्शन अनुसार वित्तीय संस्था वा फिनटेक कम्पनीले स्यान्डबक्समा सहभागी हुन आवेदन दिनुपर्नेछ । नयाँ उत्पादन वा सेवालाई वास्तविक बजारमा ल्याउनु भन्दा अघि निश्चित मापदण्डका आधारमा परीक्षण तथा सुपरिवेक्षण गर्ने व्यवस्था मागर्दशनमा उल्लेख छ । त्यसका लागि केन्द्रीय बैंकले स्यान्डबक्स चक्र मार्फत परीक्षण गर्नेछ ।

डिजिटल वित्तीय सेवाको पहुँच र गुणस्तर बढाउन सुरक्षित र उत्तरदायी नवीनतालाई प्रवद्र्धन गर्ने उद्देश्यले स्यान्डबक्स मार्गदर्शन ल्याएको बैंकले जनाएको छ । यसले फिनटेक उत्पादनहरूको वास्तविक परीक्षण गर्छ । बैंकका अनुसार स्यान्डबक्सले परम्परागत वित्तीय संस्था र फिनटेक कम्पनीहरूबीच सहकार्य बढाउन मद्दत पुग्नेछ । यसले नयाँ प्रविधिबाट हुन सक्ने जोखिमको अनुगमन र व्यवस्थापन गर्न महत्त्वपूर्ण भुमिका निवाह गर्ने बैंकले जनाएको छ ।

स्यान्डबक्सका चार मुख्य चरणहरू रहेको मागर्दशनमा उल्लेख छ । नयाँ उत्पादन तथा सेवा प्रदान गर्ने कम्पनीले आवेदन दिनुपर्नेछ । त्यसका लागि ४५ कार्यदिनको आवेदन विन्डो खुल्ने मागर्दशनमा उल्लेख छ ।

त्यसैगरी आवेदन बन्द भएको १२० कार्यदिन भित्र मूल्याङ्कन गरिने व्यवस्था तोकिएको छ । त्यसपछि त्यस्तो उत्पादन तथा सेवाको सुरुमा ६ महिनाको परीक्षण अवधि हुनेछ । विशेष परिस्थितिमा ६ महिना थप गर्न सकिने व्यवस्था मागर्दशनमा उल्लेख छ । अन्तिम चरणमा परीक्षण सफल भएमा बजारमा पूर्ण रूपमा जान अनुमति दिइने व्यवस्था गरिएको छ ।

यस्तो परिक्षणमा सहभागी हुनका लागि संस्था नेपालमा दर्ता भएको हुनुपर्छ । प्रस्तावित सेवा वास्तविक रूपमा नयाँ हुनुपर्ने सर्त मागर्दशनले तोकेको छ । साथै वित्तीय समावेशीकरणमा सहयोग पुर्‍याउने खालका उत्पादन तथा सेवा हुनुपर्ने व्यवस्था मार्गर्दनमा छ । त्यस्तो परीक्षण हुने संस्थामा कम्तीमा २ जना पूर्णकालीन प्राविधिक कर्मचारी र २ वर्षको अनुभव भएको प्रोजेक्ट म्यानेजर हुनुपर्ने व्यवस्था गरिएको छ ।

परीक्षणका लागि योग्य उत्पादन तथा सेवाहरुमा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस, मोबाइल मनी सेवा, खुद्रा भुक्तानी, डिजिटल ग्राहक पहिचान, डिजिटल कर्जा र स्मार्ट कन्ट्रयाक्ट तथा साइबर सुरक्षा उत्पादनहरू हुने मागर्दशनमा तोकिएको छ । तर क्रिप्टोकरेन्सी, भर्चुअल सम्पत्ति, केन्द्रीय बैंक डिजिटल मुद्रा, अनलाइन सट्टेबाजी र जुवा सम्बन्धी उत्पादनहरू परीक्षणका लागि योग्य नहुने व्यवस्था गरिएको छ ।

परीक्षणमा सहभागी संस्थाले ग्राहकको गोप्यता कायम राख्नुपर्ने, सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम पालना गर्नुपर्ने र परीक्षणका क्रममा ग्राहकलाई हुन सक्ने सम्भावित नोक्सानीको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ । परीक्षण सफल भएमा नियामकको स्वीकृति प्राप्त हुनेछ । नयाँ संस्थाका हकमा आवश्यक इजाजतपत्रको प्रक्रिया पूरा गरेपछि मात्र पूर्ण सञ्चालन गर्न पाइने व्यवस्था मार्गदर्शनमा उल्लेख छ ।

स्यान्डबक्स भनेको के हो ?

नयाँ प्रविधि, उत्पादन वा सेवाहरूलाई ठूलो स्तरमा बजारमा ल्याउनुअघि एउटा निश्चित सीमाभित्र ‘परीक्षण गर्ने ठाउँ’ हो ।

यो कम्प्युटरमा गरिने परीक्षण मात्र होइन । यसमा कम्पनीहरूले थोरै संख्यामा वास्तविक ग्राहकका साथमा आफ्ना सेवा कसरी चलिरहेको छ र यसमा के–कस्ता जोखिम छन् भनेर जाँच्न पाउँछन् । कुनै कम्पनीले वित्तीय कारोबार गर्ने नयाँ प्रविधि बनायो भने, उसले सिधै सबैका लागि यो सेवा सुरु गर्न पाउँदैन ।

पहिले उसले राष्ट्र बैंकको स्यान्डबक्स भित्र छिरेर ६ महिनासम्म थोरै सर्वसाधारणमाझ यसको परीक्षण गर्नुपर्छ । परीक्षण सफल भयो भने मात्र उसले सबैलाई सेवा दिने अनुमति पाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?