News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा बैठकमा एमाले नेता प्रेमप्रसाद दंगालले संघीयताको प्रभावकारी कार्यान्वयनमा केन्द्रीकृत मानसिकता बाधक रहेको बताएका छन् ।
- उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रहरी समायोजन नहुनु र कर्मचारी स्थानीय तहमा जान नचाहनु मुख्य चुनौती रहेको औंल्याए ।
- नेता दंगालले “लाख र दुई लाखका साना योजनाहरू पनि केन्द्रबाटै सञ्चालन हुनु केन्द्रीकृत मानसिकताको पराकाष्ठा हो” भनी टिप्पणी गरे ।
५ असार, काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले संघीयताको प्रभावकारी कार्यान्वयनमा अझै पनि केन्द्रीकृत मानसिकता बाधक रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै नेता दंगालले संविधानले परिकल्पना गरेअनुसार प्रदेश सरकारहरूले प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
प्रदेशको क्षेत्राधिकार, स्वरूप र सान्दर्भिकताका विषयमा उठिरहेका प्रश्नहरूप्रति लक्षित गर्दै उनले तीन तहका सरकार बीच आवश्यक समन्वय हुन नसकेको उल्लेख गरे ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको निर्देश गरे पनि व्यावहारिक अभ्यासमा प्रदेशहरूले अपेक्षित डेलिभरी दिन नसक्दा आलोचना बढ्दै गएको उनको भनाइ थियो ।
नेता दंगालले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन प्रहरी समायोजन मुख्य चुनौतीका रूपमा रहेको पनि बताए ।
यस्तै, कर्मचारीहरू प्रदेश र स्थानीय तहमा जान नचाहने र संघमै बस्न खोज्ने मानसिकताले पनि प्रशासनिक संघीयता कमजोर बनेको उनले औंल्याए ।
यस्तै, प्रदेशले कार्यालय स्थापना वा योजना सञ्चालन गर्दा जग्गा प्राप्तिमा भोग्नु परिरहेको कानूनी उल्झनलाई तत्काल समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
‘प्रहरी समायोजन सम्बन्धी ऐन आए पनि हस्तान्तरणको प्रक्रिया अघि बढ्न सकेको छैन । लाख र दुई लाखका साना योजनाहरू पनि केन्द्रबाटै सञ्चालन हुनु केन्द्रीकृत मानसिकताको पराकाष्ठा हो,’ उनले भने ।
प्रतिक्रिया 4