News Summary
Generated by OK AI. Editorially reviewed.- ५ असारमा काठमाडौंमा स्नेहा’ज केयर र आईपीएफएन नेपालको सहकार्यमा पशुबलि प्रथा अन्त्यका लागि ‘आध्यात्मिक संवाद’ कार्यक्रम सम्पन्न भएको छ।
५ असार, काठमाडौं । ‘जहाँ पूजा–आराधाना गरिन्छ, जहाँ भक्तिभाव राखिन्छ त्यहाँ हत्या र हिंसा हुनु विडम्बना हो’ स्नेहा श्रेष्ठ भन्दै थिइन्, ‘यस्तो प्रथा अब अन्त्य गरिनुपर्छ ।’
धर्म–परम्पराको नाममा पशुबलि दिने प्रथालाई अब पुर्नविचार गर्नुपर्ने उनको जोड थियो ।
सन्दर्भ थियो, ‘आध्यात्मिक संवाद’को । पशु बलि अन्त्यका लागि छेडिएको यस बहसमा विभिन्न आध्यात्मिक गुरु, जनस्वास्थ्यविद् लगायतको सहभागिता थियो ।
जनस्वास्थ्यविद् अरुणा उप्रेतीले पशुबलिलाई समाजमा विद्यमान एक हानिकारक अभ्यासका रूपमा चित्रण गर्दै समयानुकूल परिवर्तन आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘उहिले सती प्रथा पनि यस्तै कुरीतिको रुपमा थियो । अहिले त्यो छैन । बलिप्रथा पनि यसरी नै अन्त्य गर्नुपर्नेछ ।’
आध्यात्मिक गुरु रामचन्द्र भण्डारीले बलिको वास्तविक धार्मिक अर्थ ‘त्याग’ भएको स्पष्ट पारे । उनले धर्मग्रन्थहरूमा बलिलाई हिंसासँग नभई आत्मसंयम, त्याग र सकारात्मक परिवर्तनसँग जोडेर व्याख्या गरिएको उल्लेख गर्दै धार्मिक अभ्यासको सही अर्थ बुझ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी आध्यात्मिक गुरुहरुले जीवप्रतिको सम्मान, करुणा र अहिंसाको संस्कृतिलाई समाजमा थप बलियो बनाउन धार्मिक समुदायहरूले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
उनीहरूले धार्मिक विश्वास र सांस्कृतिक अभ्यासलाई समयसापेक्ष रूपमा व्याख्या गर्दै मानवता, सहिष्णुता र जीवमैत्री मूल्यहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
पशुबलि अन्त्यका लागि केवल कानुनी वा प्रशासनिक पहल मात्र पर्याप्त नहुने भन्दै धार्मिक अगुवा, नागरिक समाज, पशु अधिकारकर्मी तथा आम समुदायबीच सहकार्य आवश्यक रहेको बताए । उनीहरूले धर्मको मूल सन्देश करुणा र अहिंसा भएकाले धार्मिक स्थलहरूलाई हिंसामुक्त बनाउने अभियानलाई थप व्यापक बनाइनुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पशुबलि अन्त्य तथा जीवमैत्री समाज निर्माणका लागि जनचेतना अभिवृद्धि, धार्मिक शिक्षाको सही व्याख्या र समुदायस्तरमा संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
कार्यक्रमले पशुप्रति करुणा र अहिंसाको संस्कृतिलाई समाजमा संस्थागत गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ ।
पशुबलि प्रथाको अन्त्य, जीवप्रतिको करुणा र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले स्नेहा’ज केयरले इन्टरफेथ पिस फेडरेशन नेपाल (आईपीएफएन नेपाल) सँगको सहकार्यमा सो कार्यक्रम भएको थियो ।
प्रतिक्रिया 4