News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका रूपमा जान आवेदन दिएका नेपालीलाई प्रहरी प्रतिवेदन पछि बुझाउन सकिने सहजीकरण गरेको छ ।
- आवेदकले प्रहरी प्रतिवेदनका लागि निवेदन दिएको प्रमाण बुझाई आगामी १४ असारभित्र अन्तिम प्रहरी प्रतिवेदन बुझाउनु पर्नेछ ।
- विभागले २ हजार ३ सय केयरगिभरका लागि आवेदन खुलाएकोमा फाराम भर्ने म्याद आगामी ७ असारसम्म तोकिएको छ ।
५ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का रूपमा रोजगारीमा जान आवेदन दिएका नेपालीलाई प्रहरी प्रतिवेदन पछि बुझाउन सकिने व्यवस्था गरेको छ ।
विभागले सूचना जारी गर्दै आवेदन दिने क्रममा प्रहरी प्रतिवेदन प्राप्त नभएका कारण आवेदन प्रक्रियाबाट वञ्चित हुन सक्ने गुनासो आएपछि यस्तो सहजीकरण गरिएको जनाएको छ ।
सूचना अनुसार आवेदनका लागि आवश्यक अन्य सबै योग्यता र मापदण्ड पूरा गरेका आवेदकले प्रहरी प्रतिवेदनका लागि निवेदन दिएको प्रमाण संलग्न गरी आवेदन दिन सक्नेछन् ।
तर, उनीहरूले आगामी १४ असार राति १२ बजेभित्र ‘विथ नो क्रिमिनल रेकर्ड’ उल्लेख भएको अन्तिम प्रहरी प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने छ ।
विभागले तोकिएको समयभित्र प्रहरी प्रतिवेदन पेस नगर्ने आवेदकको आवेदन स्वत: अयोग्य हुने स्पष्ट गरेको छ ।
इजरायल रोजगारीका लागि आवेदन प्रक्रिया चलिरहेका बेला प्रहरी प्रतिवेदन प्राप्त गर्न ढिलाइ हुने समस्या देखिएपछि विभागले आवेदकलाई सहज हुने गरी यो व्यवस्था गरेको हो । यस व्यवस्थाबाट आवश्यक कागजात संकलन प्रक्रियामा रहेका आवेदकलाई राहत पुग्ने अपेक्षा गरिएको विभागको भनाइ छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रक्रिया अगाडि बढिरहेको छ । विभागले योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ ।
विभागले १३ जेठमा २ हजार ३ सय जना केयरगिभरका लागि आवेदन माग गरेको थियो । ७ असारसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा प्रहरी प्रतिवेदन बनाउन नसक्नेका लागि १४ असारसम्म बुझाउन सकिने विभागले जनाएको हो ।

प्रतिक्रिया 4