News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा करिब ४ हजार प्रतिनिधिको सहभागितामा शुरू भएको छ ।
- बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू पारित भएपछि मात्र नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइनेछ ।
- रास्वपा सांसद हरि ढकालले आफू पहिले केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी पदमा चुनाव लड्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा चलिरहेको छ । स्थापनाको चार वर्ष पनि नपुग्दै सत्ताको समेत अनुभव बटुलेर रास्वपा आफ्नो पहिलो महाधिवेशन गर्दै छ। देश-विदेशबाट करिब ४ हजार प्रतिनिधिहरू यतिबेला चितवनमा भेला भएका छन् र बन्द सत्र सुरु हुने तरखर छ । पार्टीभित्रको आन्तरिक समीकरण, नीति र नेतृत्वको बहस अनि रास्वपाको आगामी कार्यदिशाबारे रास्वपा नेता एवं सांसद हरि ढकालसँग अनलाइनखबरका दिनेश गौतमले गरेको संवाद :
बन्द सत्रको तयारी कहाँ पुग्यो ? अब के-के हुँदै छ ?
अहिले हामी प्रतिनिधिहरूलाई कार्ड वितरण गर्ने प्रक्रियामा छौं। यसका लागि पार्टी र निर्वाचन समितिका साथीहरू लागिरहनु भएको छ। करिब ३ हजार ५०० देखि ३ हजार ८०० जना प्रतिनिधिलाई कार्ड वितरण गर्ने काम आफैंमा अलि जटिल नै छ, तर साथीहरू तीव्र गतिमा खटिनुभएको छ।
पहिलो चरणमा प्रतिनिधि कार्ड वितरण सम्पन्न भएपछि बन्द सत्र औपचारिक रूपमा सुरु हुनेछ। त्यसपछि पार्टी सभापतिज्यूले राजनीतिक प्रतिवेदन, महामन्त्रीज्यूले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षज्यूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। यी प्रतिवेदनहरू अनुमोदन भएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्छ।
महाधिवेशन भन्ने बित्तिकै नीति र नेतृत्वबारे व्यापक बहस हुन्छ। तपाईंले भर्खरै सभापतिज्यूले राजनीतिक दस्तावेज प्रस्तुत गर्ने कुरा गर्नुभयो, त्यो प्रतिवेदन कस्तो बन्दै छ ? केही संकेत गर्न मिल्छ ?
हामीले यसअघि महोत्तरीको जलेश्वर बैठक, काठमाडौंको पहिलो राष्ट्रिय भेला (कमलादी) र गत असोजमा चितवनको सौराहमा दोस्रो राष्ट्रिय भेला सम्पन्न गरिसकेका छौं। पार्टीको नीति र विधान त छँदै छ, तर ती बैठक र भेलाहरूबाट पारित भएका डकुमेन्टहरूको मूल सारसहितको राजनीतिक प्रतिवेदन यस पटक सभापतिज्यूले प्रस्तुत गर्नुहुनेछ।
विगतमा ‘रास्वपाको नीति नै छैन’ अथवा ‘नीति स्पष्ट भएन’ भन्ने जस्ता बहसहरू हुने गर्थे। ती भ्रमहरूलाई हामीले जलेश्वर बैठकदेखि नै क्रमशः चिर्दै आएका छौं। कतिपयले हाम्रा डकुमेन्टहरू अध्ययन नै नगरिकन पनि त्यस्तो टिप्पणी गर्ने गरेका छन्। जलेश्वर, कमलादी र सौराह हुँदै परिमार्जित र स्पष्ट पारिएका विषयहरूको संग्रह नै सभापतिज्यूको प्रतिवेदनमा समेटिएर आउनेछ।
यस पटकको महाधिवेशन रास्वपाका लागि कतिको चुनौतीपूर्ण वा महत्त्वपूर्ण छ ?
यो हाम्रो पहिलो ऐतिहासिक महाधिवेशन हो। इतिहासमै यस्ता घटना विरलै हुन्छन्, संसारभरि नै यस्तो उदाहरण कमै भेटिन्छ। पार्टी स्थापना भएको चार वर्ष पनि नपुग्दै, र यही छोटो अवधिमा मुलुकको करिब दुई-तिहाई बहुमतको सत्ता संचालन गर्नेसम्मको सिट संख्या पुर्याएर हामी महाधिवेशन गर्दै छौं।
पार्टी निर्माणकै चरणमा रहँदा र सत्ताको समेत अनुभव लिँदै गर्दा देशैभरिबाट हाम्रा शुभेच्छुक तथा साथीहरू पार्टीलाई बलियो बनाउन निकै मेहनतका साथ खटिनुभएको छ।
रास्वपाभित्र अन्तरद्वन्द्व छ कि, पुरानै शैलीको गुटबन्दी बन्दै छ कि भन्ने खालका शङ्काहरू थिए। खुला सत्रले त्यसलाई कत्तिको चिर्न सक्यो?
त्यो शङ्का हिजोको खुला सत्रबाट पूर्ण रूपमा ‘क्लियर’ भइसकेको छ। कतिपय मानिसहरू रास्वपाभित्र विवाद भइदिए हुन्थ्यो भनेर त्यही शंकामाथि आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्न (आश गरेर) बसिरहेका थिए। उनीहरूको त्यो आश हिजोबाट समाप्त भएको छ।
यो बन्द सत्र सुरु भएर महाधिवेशन भव्यताका साथ सम्पन्न भएपछि बजारका सारा भ्रमहरू मेटिनेछन्। यस महाधिवेशनले आगामी धेरै दशकसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले तिनै तहको सरकार सञ्चालन गर्न र मुलुक हाँक्न पूर्ण रूपमा सक्षम छ भन्ने बलियो सन्देश दिनेछ। म फेरि जोड दिएर भन्छु— यो महाधिवेशनले रास्वपालाई आगामी दशकौंसम्मका लागि देशको नेतृत्व गर्ने शक्ति बनाउँदै छ।
पार्टीभित्रको आन्तरिक शक्ति र आगामी कार्यदिशालाई लिएर रास्वपाका नेताहरूबीच कस्तो बुझाइ छ?
हाम्रा माननीय मनिष झाजीले अस्ति भर्खरै एउटा निकै महत्त्वपूर्ण भनाइ राख्नुभएको थियो, म त्यसैलाई यहाँ दोहोर्याउन चाहन्छु। उहाँले भन्नुभएको थियो— ‘हामीले फागुनसम्म सम्पत्ति बनाएका थिएनौं, मात्र कमाइ गरेका थियौं। अब यो महाधिवेशन पछाडि हामी त्यो कमाइलाई स्थायी सम्पत्तिमा बदल्छौं।’
यसको अर्थ के हो भने, हामीले फागुनमा जुन सिट सङ्ख्या हासिल गर्यौं र सत्ता सञ्चालनको जुन सामर्थ्य देखायौं, त्यो हाम्रो तात्कालिक ‘कमाइ’ थियो । अब यो महाधिवेशनमार्फत हामी त्यसलाई पार्टीको स्थायी ‘सम्पत्ति’ (संस्थागत जग) बनाउँदै छौं। र, त्यो राजनीतिक सम्पत्ति हामी व्यक्तिगत स्वार्थमा होइन, आम नागरिकको हित, जनअपेक्षा, जनभावना अनि मूलतः देशमा सुशासन र समृद्धिका लागि खर्चिने छौं।
महाधिवेशन लगत्तै पार्टीको भुइँतहको संरचना र आगामी स्थानीय तहको निर्वाचनका लागि रास्वपाको तयारी कसरी अगाडि बढ्छ?
देशैभरि रास्वपाको एउटा बलियो सांगठनिक संरचना ठूलो उभारका साथ निर्माण भएको छ। महाधिवेशन सकिएलगत्तै हामी ती संरचनाहरूमा देशव्यापी रूपमा प्रशिक्षणका कार्यक्रमहरू लैजाने छौं।
पार्टीका तल्लो तहका कमिटीहरूलाई वैचारिक र सांगठनिक रूपमा खारिने अवसर दिइनेछ। किनभने, यो महाधिवेशन लगत्तै हामी पूर्ण तयारीका साथ स्थानीय तहको निर्वाचनमा होमिँदै छौं र त्यसका लागि हाम्रा संरचनाहरूलाई चनाखो र मजबुत बनाउनु नै हाम्रो मुख्य प्राथमिकता हुनेछ।
तपाईंले स्थानीय तहको निर्वाचनको कुरा गर्नुभयो। रास्वपाले अघि सारेको ‘लीडरसिप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ को अवधारणा यस पटकको महाधिवेशनमा कसरी जोडिँदै छ ?
हो, हाम्रो पार्टीको एउटा विशिष्ट अवधारणा छ— ‘लीडरसिप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’। आज महाधिवेशनको बन्द सत्रमा आउनुभएका देशभरिका प्रतिनिधि साथीहरूले यी दुई अवधारणाबारे स्पष्ट जानकारी र खाका लिएर आफ्नो क्षेत्रमा फर्कनुहुनेछ।
समग्रमा भन्दा, यो पहिलो महाधिवेशनले दुईवटा स्पष्ट सन्देश दिँदै छ। पहिलो— सरकार गठन र राजनीतिक समायोजनपछि मिडिया र आम नागरिकमा ‘यिनीहरूभित्र कतै अन्तरद्वन्द्व वा गुटबन्दी त छैन?’ भन्ने जुन आशङ्का थियो, त्यसलाई पूर्ण रूपमा चिर्दै छ। दोस्रो— आगामी धेरै दशकसम्म राज्यसत्ता सञ्चालन गर्न रास्वपा सक्षम छ भन्ने बलियो सन्देश चितवनले दिँदै छ।
बाहिर भ्रम चिरेको दाबी गरिए पनि पार्टीभित्रै सूक्ष्म रूपमा, नदेखिने गरी केही आन्तरिक समूहहरू (गुट) बन्दै छन् कि भन्ने शङ्का अझै मेटिएको छैन नि?
म आफैं पार्टीको सचिवालय सदस्य हुँ, भित्रै छु। तर मलाई त्यस्तो कुनै आभास नै छैन।
हाम्रो समाजमा अचेल ‘षड्यन्त्रवाद’ (कन्स्पिरेसी थ्योरी) का कुराहरू फ्याँकिदिने र समाजलाई भ्रममा राखिरहने प्रवृत्ति बढेको छ, हामी त्यो कुराबाट अलि पर सर्नुपर्छ।
हामी आग्रहपूर्वाग्रह रहित समाज बनाउन चाहन्छौं। मैले अस्ति पनि कतै भनेको थिएँ— हाम्रो समाज सधैं राजनीति मात्रै बहस गर्ने समाज बनेको छ, यसलाई अलि बदल्नुपर्छ। समाजमा प्राज्ञिक बहस, काव्यको बहस र सिर्जनाको बहस हुन सक्ने विवेक चाहिन्छ।
आज हरेक समाचार राजनीतिको मात्र बनिदिँदा एउटा किसानले गरेको सङ्घर्ष र सफलताको कथा ओझेलमा परेको छ।
राजनीतिकै ओभरडोजका कारण यसपालि क्रिकेटको आइपिएल को रौनकसम्म हरायो। हलमा कुन फिल्म चल्दै छ, कसैलाई याद छैन। तपाईंले पछिल्लो पटक कुन किताब पढ्नुभयो वा कुन कविता सुन्नुभयो भनेर फ्याट्ट सोध्दा कसैले भन्न सक्ने स्थिति छैन। राजनीति सामाजिक बहसको केन्द्रबिन्दु बनेर अरू क्षेत्र थिचिएका छन्। हामी यो प्रवृत्तिलाई बदल्न व्यावहारिक अभ्यास गरिरहेका छौं।
रास्वपाले गर्ने त्यस्तो फरक वा सुसंस्कृत अभ्यास कस्तो हो, जसले राजनीति बाहेकका विषयलाई पनि ठाउँ देओस्?
हामीले चुनाव जितिसकेपछि पनि तडकभडकपूर्ण ‘विजय उत्सव’ मनाएनौं। म कसैप्रति कटाक्ष गर्न चाहन्न, तर पुराना दलहरूमा महाधिवेशनका बेला मान्छेको सङ्ख्या देखाउने होडबाजी हुन्थ्यो।
गाउँगाउँमा गाडी पठाएर, अनावश्यक खर्च गरेर मान्छे ओसारिन्थ्यो। तर यसपालि चितवन आफैं आयोजक जिल्ला भएर पनि यहाँको कुनै पनि पालिकामा रास्वपाले मान्छे उतार्न गाडी पठाएन।
यो एउटा सुसंस्कृत राजनीतिक अभ्यासको सुरुआत हो। यो महाधिवेशनले रास्वपालाई एउटा सुसंस्कृत राजनीतिक अभ्यास गर्ने पहिलो दलका रूपमा स्थापित गर्नेछ।
महाधिवेशनको अर्को महत्त्वपूर्ण पाटो नेतृत्व चयन हो। नेतृत्व चयनको प्रक्रियालाई कसरी अगाडि बढाउने तयारी छ?
पार्टी सभापति र वरिष्ठ नेताको सन्दर्भमा लगभग लगभग हिजोकै मञ्चको सन्देश अनुसार सर्वसम्मतिकै वातावरण छ। लोकतन्त्रमा सहमति र निर्वाचन दुवै स्थापित प्रक्रिया हुन्। कतिपयले सहमतिलाई लोकतान्त्रिक प्रक्रिया नै मान्दैनन्, जुन गलत बुझाइ हो।
हामीकहाँ सहमति र लोकतान्त्रिक निर्वाचन दुवै प्रक्रिया सँगसँगै खुला रहन्छन्। यो बन्द सत्रको हलले र देशभरिबाट आउनुभएका प्रतिनिधि साथीहरूले जे रोज्नुहुन्छ, हल त्यही प्रक्रियामा अगाडि बढ्छ। प्रतिनिधि साथीहरूले आफ्नो विवेकको पुँजी यो हलमा खन्याउनुहुनेछ र त्यहीँबाट नेतृत्व चयन हुनेछ।
पार्टीभित्र एउटा अर्को प्रश्न पनि उठिरहेको छ— विभिन्न पार्टी र पृष्ठभूमिबाट समायोजन प्रक्रियामार्फत आएका नेताहरूको स्थान सुरक्षित हुने तर रास्वपा स्थापनाकालदेखिकै ‘संस्थापन पक्ष’ का पुराना साथीहरूबीच चाहिँ पदका लागि बढी प्रतिस्पर्धा हुनुपर्ने अवस्था देखियो नि?
यो प्रश्नका लागि धन्यवाद। यो जिज्ञासा आउनु स्वाभाविक पनि हो। स्थापनाकालदेखि चार वर्षको अवधिमा पार्टी निर्माणमा लागेका साथीहरूको सङ्ख्या स्वभावैले अलि बढी छ।
तर हेर्नुस् त, हाम्रो पार्टीमा कति हार्दिकता छ! यदि प्रतिस्पर्धा धेरै हुँदा समायोजनबाट आएका साथीहरू पछाडि परिन्छ कि भन्ने डर हुन्छ भने, हाम्रा पार्टी सभापतिले सधैं भन्दै आउनुभएको छ— ‘पछाडि परेकाहरूलाई म सधैं अगाडि ल्याउँछु।’
हामीले क्याबिनेट (सरकार) मा जाँदा पनि त्यही अभ्यास गरेर देखायौं। महाधिवेशनमा पनि आशय त्यही नै हो— अलि पछाडि परेका साथीहरूलाई समेटेर अगाडि ल्याउने। यो त निकै सुन्दर र प्राकृतिक कुरा हो। सुरुदेखि लागेका साथीहरूको सङ्ख्या ठूलो भएकाले उहाँहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनु पनि उत्तिकै स्वाभाविक र राम्रो कुरा हो।
यसको मतलब समायोजन प्रक्रियाबाट आउनुभएका साथीहरूलाई पनि कुनै मर्का पर्ने छैन ।
चितवन तपाईंको गृह जिल्ला हो र तपाईं यहीँबाट निर्वाचित संघीय सांसद पनि हुनुहुन्छ। रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनका लागि चितवनलाई नै किन रोज्यो? यसले दिन खोजेको सन्देश के हो?
चितवन रोजिनुका पछाडि केही विशेष र भावनात्मक कारणहरू छन्। पार्टी स्थापना हुनुभन्दा अगाडिदेखि नै चितवनका नागरिक र हाम्रा पार्टी सभापति रवि लामिछानेबीच एउटा गहिरो भावनात्मक सम्बन्ध छ। त्यसैले हामी चितवनलाई हाम्रो पार्टीको ‘भावनात्मक राजधानी’ पनि भन्ने गर्छौं।
अर्को कुरा, हाम्रो नेपाली समाजको सबैभन्दा सुन्दर पक्ष भनेको विविधता भित्रको हार्दिकता हो। चितवन यस्तो सहर हो जहाँ ७७ वटै जिल्लाका नागरिकको बसोबास छ, अर्थात् यो एउटा ‘मिनी नेपाल’ हो।
काठमाडौँ वा अन्य सहर पनि विकल्प हुन सक्थे, तर काठमाडौँमा महाधिवेशन गर्दा ट्राफिक व्यवस्थापनदेखि आम नागरिकलाई हुन सक्ने सास्तीबारे हामी सचेत थियौँ।
हाम्रा कारणले नागरिकलाई दुःख नहोस् भन्नेमा हामी दृढ थियौँ। हिजो खुला सत्र भइरहँदा कतै पनि ट्राफिक जाम वा नागरिकलाई असहजता भएन। गेटमा केही बेर तीनवटा गाडी रोकिएका थिए, त्यसलाई पनि हामीले तत्काल व्यवस्थापन गर्यौँ।
यसका साथै चितवनमा होटल व्यवस्थापन, सुरक्षा र सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँको ‘अतिथि सत्कार’ र हार्दिकता एकदमै गजबको छ। त्यसैले केन्द्रीय कमिटीले पहिलो ऐतिहासिक महाधिवेशन चितवनमै गर्ने निर्णय गरेको हो।
तपाईं चितवनकै लोकप्रिय सांसद र पार्टीको नेता हुनुहुन्छ। महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ? चुनावी प्रक्रियामा तपाईं कहाँ देखिनुहुनेछ?
नेतृत्व चयनको एउटा निश्चित प्रक्रिया हुन्छ। पहिलो चरणमा म खुला तर्फबाटै केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रियामा सामेल हुनेछु। त्यसपछि दोस्रो चरणमा पदाधिकारीका लागि मेरो उम्मेदवारी रहनेछ।
पदाधिकारीमा चाहिँ कुन पदमा उठ्ने सोच बनाउनुभएको छ? अघि तपाईं आफैँ भन्दै हुनुहुन्थ्यो— आफ्नै नजिकका र पुराना साथीहरूबीच पनि ठूलो प्रतिस्पर्धा छ नि!
पद नै यही हो भनेर अहिल्यै मैले खुलाउन मिल्दैन, तर म पदाधिकारीमा अवश्य उठ्नेछु। हो, हामी स्थापनाकालदेखिका साथीहरू धेरै छौँ र प्रतिस्पर्धा पनि ठुलै छ। तर, हामी यो प्रतिस्पर्धालाई ‘हार्दिकताको प्रतिस्पर्धा’ बनाउन चाहन्छौँ। महाधिवेशनमा प्रतिस्पर्धीहरूबीच पनि कति गहिरो हार्दिकता र लोकतान्त्रिक संस्कार हुन सक्छ भन्ने उदाहरण हामी देश र संसारलाई देखाउन चाहन्छौँ।
समायोजनबाट आएका नेताहरूबाहेक अन्य पदहरूमा चाहिँ तपाईंहरू पूर्ण रूपमा लोकतान्त्रिक (चुनावी) विधिबाटै अगाडि बढ्नुहुन्छ, होइन त?
त्यस्तो होइन, समायोजनबाट आउनुभएका साथीहरू पनि यो चुनावी प्रक्रियामा सामेल हुन सक्नुहुन्छ र हुनुपर्छ। निर्वाचन प्रक्रियाले पनि पार्टीभित्र आपसी हार्दिकता र लोकतान्त्रिक भावनालाई थप मजबुत बनाउँछ।
समायोजनबाट आएका साथीहरूमा ‘म अल्पमतमा परेर पछाडि पर्छु कि’ भन्ने भावना कति पनि नआओस् भन्नका लागि हामीले आन्तरिक रूपमा निकै मेहनत र गृहकार्य गरेका छौँ।
बन्द सत्र हलको माहोल हेर्दा देश र विदेशबाट आएका प्रतिनिधिहरूको उत्साह कस्तो देख्नुहुन्छ?
उत्साह एकदमै अभूतपूर्व छ। आज यस हलमा देशभरिबाट र प्रवास (देश बाहिर) बाट समेत गरेर करिब ४,००० को हाराहारीमा नेपालीहरू प्रतिनिधि बनेर आउनुभएको छ। यो उपस्थितिले रास्वपाप्रति आम जनताको भरोसा कति बलियो छ र यो महाधिवेशनले देशको राजनीतिमा कति ठुलो अर्थ राख्छ भन्ने स्पष्ट पार्छ।
चितवनमा अहिले निकै गर्मी पनि छ। यस्तो मौसममा देश-विदेशबाट आएका करिब ४,००० प्रतिनिधिको खाने-बस्ने व्यवस्थापन कसरी भइरहेको छ?
हामीले पूर्वी चितवनको सौराहादेखि लिएर पश्चिम चितवनको भरतपुर र मेघौलीसम्मका होटलहरूमा प्रतिनिधि साथीहरूको बसाइ व्यवस्थापन गरेका छौँ । चितवन आयोजक जिल्ला भएकाले यहाँको स्थानीय वस्तुस्थिति बुझेका साथीहरूलाई नै समेटेर १८ वटा विभिन्न उपसमितिहरू गठन गर्यौँ र व्यवस्थापनको पूर्ण जिम्मेवारी दियौँ।
चितवन अतिथि सत्कारमा सधैँ अब्बल जिल्ला हो। त्यसैले हामीले यहाँका होटल व्यवसायी साथीहरूसँग पनि केही अपेक्षा राखेका थियौँ, जसमा उहाँहरूले पूर्ण साथ दिनुभएको छ।
व्यवसायी साथीहरूले प्रतिनिधिहरूका लागि होटलको कोठामा राम्रो छुट (डिस्काउन्ट) को व्यवस्था गरिदिनुभएको छ। प्रतिनिधिहरूले आफ्नै समन्वयमा कोठाहरू बुक गर्नुभएको हो, जसमा हाम्रो जिल्ला कमिटीले सम्पूर्ण सहजीकरणको भूमिका खेल्यो।
बाहिर मौसम निकै तातो भए पनि होटलहरूमा उचित मूल्यमै एसी कोठाहरूको राम्रो व्यवस्था मिलाइएको छ। मैले पूर्वदेखि पश्चिम चितवनसम्मका विभिन्न होटलमा पुगेर प्रतिनिधि साथीहरूलाई भेटिरहेको छु । उहाँहरू सबैको बसाइ निकै राम्रो, आरामदायी र सुखद छ। चितवनले कसैलाई पनि गुनासो गर्ने ठाउँ दिएको छैन।
प्रतिक्रिया 4