News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
- सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना प्रणाली सुधार गर्न १२ महिनाको समय दिइएको छ भने पालना नगरे प्रतिबन्धको सामना गर्नुपर्नेछ ।
- अब प्लेटफर्महरूले बायोमेट्रिक वा एआईमार्फत उमेर प्रमाणित गर्नुपर्नेछ र १५ वर्षमुनिका सञ्चालित खाताहरू निष्क्रिय बनाउनुपर्नेछ ।
८ असार, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेपछि टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट, फेसबुक र एक्स (ट्विटर) लाई आफ्ना प्रणाली सुधार गर्न १२ महिनाको समय दिएको छ ।
तोकिएको मापदण्ड पूरा नगरे ती प्लेटफर्महरूले प्रशासनिक कारबाही तथा आंशिक वा पूर्ण प्रतिबन्धको सामना गर्नुपर्ने गल्फ न्यूजले जनाएको छ ।
यसअघि क्यानडा, फ्रान्स, चेक रिपब्लिक, अष्ट्रेलिया, मलेसिया लगायतका देशले पनि बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएका थिए ।
यूएई मन्त्रिपरिषद्को हालैको निर्णयले सामाजिक सञ्जाल कम्पनीहरूलाई बालबालिकाको उमेर प्रमाणित गर्ने व्यवस्था, लक्षित विज्ञापन बन्द गर्ने तथा बाल सुरक्षा सम्बन्धी कडा मापदण्ड लागू गर्न बाध्य बनाएको छ ।
यसअघि
अब सामाजिक सञ्जाल प्लेटफर्मले के गर्नुपर्छ ?
अब सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर केवल स्वघोषणाका आधारमा स्वीकार गर्न पाउने छैनन् । उनीहरूले सरकारी डिजिटल परिचयपत्र, बायोमेट्रिक प्रमाणीकरण वा कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत उमेर अनुमान गर्ने प्रणाली लागू गर्नुपर्नेछ ।
प्लेटफर्महरूले १५ वर्षमुनिका बालबालिकालाई व्यक्तिगत खाता खोल्न नदिने, उमेर लुकाएर खाता खोल्ने प्रयास पत्ता लगाएर रोक्ने, अभिभावकीय नियन्त्रणका उपकरण उपलब्ध गराउने, बाल सुरक्षा जोखिमको नियमित मूल्यांकन गर्ने तथा पारदर्शिता र प्रतिवेदनसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।
१५ देखि १६ वर्ष उमेर समूहका प्रयोगकर्ताका लागि भने दैनिक प्रयोग समयको सीमा, स्क्रिन टाइम व्यवस्थापन, अपरिचित व्यक्तिसँग सम्पर्कमा रोक, सन्देश आदानप्रदान र लाइभ स्ट्रिमिङमा नियन्त्रण तथा एल्गोरिदममार्फत अत्यधिक सामग्री सिफारिसमा प्रतिबन्ध लगाइनेछ ।
निर्णयमा छुट्टै जरिवाना तालिका उल्लेख नगरिए पनि बालबालिका सुरक्षा सम्बन्धी डिजिटल कानुनी व्यवस्थाअन्तर्गत सम्बन्धित निकायले कारबाही गर्न सक्नेछन् ।
सामाजिक सञ्जाल कम्पनीहरूको अनुगमन तथा नियमनको जिम्मेवारी नेसनल मिडिया अथोरिटी र टेलिकम्युनिकेसन एण्ड डिजिटल गभर्नमेन्ट रेगुलेटरी अथोरिटीलाई दिइएको छ ।
यी निकायहरूले चेतावनी दिने, प्लेटफर्म आंशिक वा पूर्ण रूपमा बन्द गर्ने तथा प्रशासनिक दण्ड लगाउने अधिकार पाउनेछन् ।
पहिलेदेखि रहेका बालबालिकाका खाताको के हुन्छ ?
हाल १५ वर्षमुनिका बालबालिकाले सञ्चालन गरिरहेका सामाजिक सञ्जाल खाताहरू अब अनुमति योग्य मानिने छैनन् । ती खाता बालबालिका वा अभिभावकले होइन, सम्बन्धित प्लेटफर्महरूले आफैं निष्क्रिय बनाउनुपर्नेछ ।
१५ देखि १६ वर्ष उमेर समूहका प्रयोगकर्ताले भने अतिरिक्त सुरक्षात्मक व्यवस्थासहित आफ्नो पहुँच कायम राख्न सक्नेछन् ।
सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई राजपत्रमा निर्णय प्रकाशित भएपछि अधिकतम १२ महिनाको संक्रमणकालीन अवधि दिएको छ ।
अभिभावकको खाताबाट प्रयोग गरे पनि छुट छैन
यूएई सरकारले बालबालिकाले अभिभावकको खाता प्रयोग गरेर नियम छल्ने सम्भावनालाई पनि ध्यानमा राखेको छ ।
निर्णयअनुसार प्लेटफर्महरूले अभिभावक वा संरक्षकको प्रोफाइलमार्फत बालबालिकाले प्रयोग गरिरहेका खाताहरू पनि पहिचान गरी निष्क्रिय बनाउन आवश्यक कदम चाल्नुपर्नेछ ।
त्यसैगरी, १५ वर्षमुनिका बालबालिकाका हकमा अभिभावकको सहमति पनि सामाजिक सञ्जाल प्रयोगको आधार बन्न नसक्ने स्पष्ट गरिएको छ ।
बालबालिका लक्षित विज्ञापनमा रोक
नयाँ नियमले बालबालिकामाथि निगरानीमा आधारित विज्ञापन र व्यवहार विश्लेषण (बिहेभियरल प्रोफाइलिङ) मार्फत लक्षित विज्ञापन गर्न पनि रोक लगाएको छ ।
उमेर प्रमाणीकरणका लागि आवश्यक न्यूनतम जानकारी मात्र संकलन गर्न, त्यसलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न र आवश्यकताभन्दा बढी संवेदनशील जानकारी भण्डारण नगर्न पनि प्लेटफर्महरूलाई निर्देशन दिइएको छ ।
सरकारका अनुसार यो व्यवस्था बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको हो, जसले अनावश्यक डिजिटल निगरानीलाई पनि रोक्नेछ ।
यूएई सरकारले आगामी केही साताभित्र कार्यान्वयनको विस्तृत कार्यविधि तथा कारबाही प्रक्रिया सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4