News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको प्रथम महाधिवेशनमा सहभागी नेताहरूले नेपालको माटो सुहाउँदो नीति तर्जुमा र सहमतिका आधारमा सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
- महाधिवेशनका क्रममा पार्टीभित्र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र जेन-जी पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने आवाज उठेको छ ।
- सांसद विश्वराज पोखरेलले जनअपेक्षा अनुसार काम गर्न नसके आगामी निर्वाचनमा जनताले पुराना दलहरूलाई जस्तै सजाय दिन सक्ने बताए ।
रास्वपाको प्रथम महाधिवेशनमा सहभागी भएका सांसद तथा नेताहरूले पार्टीको नीतिगत सुधार र सक्षम नेतृत्व चयनमा जोड दिएका छन्।
अनलाइनखबरसँगको कुराकानीमा उनीहरुले फरक-फरक आयामबाट आफ्ना धारणा राखेका छन्। सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अर्थपूर्ण समावेशिताको मुद्दा उठाएकी छन् । सांसद विश्वराज पोखरेलले जनअपेक्षा पूरा गर्न सुशासन र सर्वसम्मत, उचाइयुक्त नेतृत्वको आवश्यकता औंल्याएका छन् । त्यस्तै, केपी खनालले युवा तथा ‘जेन-जी’ पुस्ताको सशक्त प्रतिनिधित्व र भूगोलको मुद्दालाई अगाडि सारेका छन् । प्रदीप विस्टले माटो सुहाउँदो नीति र सर्वस्वीकार्य नेतृत्वमार्फत पार्टीलाई थप सुदृढ बनाउने सङ्कल्प व्यक्त गरेका छन् ।
को के भन्छन् ?
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई अगाडि बढाउन पार्टीले सोच्नुपर्छ’
भूमिका श्रेष्ठ
हाम्रो पार्टी महाधिवेशनभन्दा अगाडि नै पहिलो पार्टी बनेको भने होइन। अलिकति धेरै मत ल्याएर केही अगाडि बढेको मात्र हो ।
अब नीति, समावेशिता र अर्थपूर्ण सहभागिताको कुरा आउँछ, जसलाई आगामी महाधिवेशनले तय गर्नेछ। आगामी दिनमा पार्टीलाई अझ सुदृढ ढङ्गले अगाडि बढाउन त्यस्तै सक्षम नेतृत्व आउनुपर्छ भन्ने मलाई लाग्छ।
त्यसैले, पार्टीमा योगदान दिएका सक्षम व्यक्ति र टोलीलाई अगाडि ल्याउनुपर्छ भन्ने नै हामी सबैको साझा आवाज र गृहकार्य हो।
पार्टीको आफ्नै सिद्धान्त र वैचारिक दृष्टिकोण हुन सक्छ, त्यसमा पनि सबैको सहभागिता सुनिश्चित हुनैपर्छ। सम्भवतः पार्टीका वरिष्ठ नेताहरूले यस विषयमा सोच्नुभएको पनि होला । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्य र पार्टीको मूल प्रवाहमा ल्याउन तथा उनीहरूको मुद्दालाई अगाडि बढाउन पार्टीले गम्भीरतापूर्वक सोच्न जरुरी छ।
‘हामी चुके अरुलाई जस्तै जनताले सजाय दिन्छन्’
विश्वराज पोखरेल
हिजो नागरिकमाझ पुग्दा जे प्रतिबद्धता व्यक्त गरेर हामीले दुई-तिहाइको मत प्राप्त गर्यौं, त्यसमा हामीले सुशासन, विकास, समृद्धि र रोजगारीका कुरा गरेका थियौं।
ती प्रतिबद्धताहरू हाम्रो घोषणापत्रमा पनि समेटिएका छन् र हामीले जनताका सामु व्यक्त पनि गरेका छौं। अब ती विषयलाई उचित ढङ्गले सम्बोधन गर्ने गरी काम गर्नु अपरिहार्य छ।
यदि हामी यसमा चुक्यौं भने नागरिकहरूले आगामी निर्वाचनमा हामीलाई पनि पुराना दलहरूलाई जस्तै सजाय दिन सक्छन्।
मलाई के लाग्छ भने, यो महाधिवेशनमा कुनै पद वा जिम्मेवारीका लागि समान हैसियत र उचाइ भएका धेरै व्यक्तित्वहरू हुनुहुन्छ भने त्यहाँ प्रतिस्पर्धा हुनु स्वाभाविक र राम्रो कुरा हो।
तर, यदि कुनै एक व्यक्तित्वको उचाइ अरूसँग तुलना नै हुन नसक्ने गरी माथि छ भने, त्यहाँ प्रतिस्पर्धाका नाममा प्रतिस्पर्धा गरिनु हुँदैन; बरु उहाँको नेतृत्वलाई स्वीकार्नुपर्छ।
किनभने हामी पार्टी निर्माण गर्ने वा सरकार चलाउने अवस्थामा मात्र छैनौं, बरु जनताको ठूलो विश्वास, भरोसा र अपेक्षाको भारी काँधमा बोकेर उभिएका छौं।
त्यसैले, नेतृत्व चयन गर्दा सर्वसम्मत, सर्वस्वीकार्य र सबैभन्दा उचाइमा रहेको व्यक्तित्वलाई रोज्यौं भने त्यो पार्टी, देश र नागरिककै हितमा हुनेछ। यसले भोलि जनताको अपेक्षा प्रभावकारी रूपमा सम्बोधन गर्न पनि मद्दत पुग्नेछ।
‘जेजनीको प्रितिनिधित्व हुनुपर्छ’
केपी खनाल
पार्टीलाई जन्म दिने सभापति रवि लामिछानेज्यूको जुन सपना थियो, त्यसलाई बन्द कोठामा कैदी जस्तै बनाएर राखियो। सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि आम जनताले हामीलाई माया गरेर ‘घन्टी’ मा मतदान गर्नुभएको हो। हरेक आमाबुबाको सपना साकार पार्ने र सहिदको सम्मान हुने नीति अब बन्नेछ। यसको नेतृत्व पार्टीका सभापति रवि लामिछानेज्यूले नै गर्नुहुनेछ भने वरिष्ठ नेतामा बालेन शाह रहनुहुनेछ।
केन्द्रीय कमिटीमा युवा तथा ‘जेन-जी’ पुस्ताको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने आवाज उठिरहेको छ। यदि उहाँहरूलाई सुदूरपश्चिमको भूगोलबाट प्रतिनिधित्व गर्ने एउटा ‘जेन-जी’ पुस्ताको व्यक्तिका रूपमा म सक्षम छु र मैले पार्टी सङ्गठनलाई अझ युवामैत्री बनाउन सक्छु भन्ने लाग्छ ।
‘सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ’
प्रदीप विष्ट
नीति भनेको नेपालको माटो सुहाउँदो हुनुपर्छ। यो माटो र आम तीन करोड जनताले जे मागेका छन्, त्यही अनुसारको नीति बनाउने हो। नेतृत्वको कुरा गर्दा, रवि लामिछानेबाहेक अरूको विकल्प छैन। पार्टी उहाँकै नेतृत्वमा अगाडि बढ्छ । देशलाई पनि उहाँले नै हाँक्ने हो र हामी तल्लो तहमा बसेर काम गर्ने हौं । अब आउने केन्द्रीय सदस्य र पदाधिकारी साथीहरूको हकमा भने काम गर्न सक्ने सक्षम मान्छेहरू छानौँ । निर्णय गर्ने त हामीले नै हो। तथापि, सहमतिबाटै सक्षम र छुट्नै नहुने मान्छेहरू नेतृत्वमा आउन् भन्ने मेरो चाहना छ।
हामी हिजोको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र होइनौं, धेरै शक्ति र विचारहरू समायोजन भएर यहाँसम्म आएका छौं र अझै धेरै जोडिने क्रममा छन्। यो अधिवेशनबाट पार्टीलाई बलियो बनाउन मेरो पनि भूमिका रहनेछ । नेतृत्व सकेसम्म सर्वसम्मत होस् भन्ने चाहन्छु । सर्वसम्मत नेतृत्व चयन भयो भने त्यो सर्वस्वीकार्य र गज्जबको हुनेछ। मेरो क्लस्टरबाट आउने नेतृत्वमा मभन्दा योग्य र सक्षम साथीहरू हुनुहुन्छ भन्ने मलाई मनैदेखि लाग्यो भने, म आफैं उम्मेदवार नभएर ती साथीहरूलाई अगाडि बढाउन पनि तयार छु।
प्रतिक्रिया 4