८ असार, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो म्यासेजिङ एप ह्वाट्सएपको नेतृत्व परिवर्तन भएको छ । ७ वर्षदेखि ह्वाट्सएपको प्रमुखका रूपमा कार्यरत विल क्याथकार्टले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनको स्थानमा भारतीय फिनटेक कम्पनी ‘क्रेड’का संस्थापक कुनाल शाह नयाँ प्रमुखका रूपमा नियुक्त भएका मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले जनाएका छन् ।
सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै जुकरबर्गले बताएका अनुसार, ह्वाट्सएप छाडेका विल क्याथकार्ट मेटाभित्रै अर्को नयाँ भूमिकामा हुनेछन् । अब उनले मेटाभित्रै कुनै नयाँ प्राेडक्ट बनाउने कामकाे नेतृत्व सुरुवातदेखि नै सम्हाल्नेछन् ।
क्याथकार्टको ७ वर्षे कार्यकालमा ह्वाट्सएपको प्रयोगकर्ता संख्या ३ अर्बभन्दा माथि पुगेको थियो ।
ह्वाट्सएपको नयाँ कमान्ड सम्हाल्न लागेका कुनाल शाह भारतका चर्चित प्रविधि उद्यमी हुन् । उनले स्थापना गरेको ‘क्रेड’ भारतको एक अग्रणी प्रविधि कम्पनी मानिन्छ ।
जुकरबर्गले शाहको व्यावसायिक दक्षता र विश्वबजारकाे बुभाईले ह्वाट्सएपलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
‘विश्वभरका अर्बौँ प्रयाेगकर्ता र लाखौँ व्यवसायहरूका लागि ह्वाट्सएपलाई अझ उत्कृष्ट बनाउन शाहसँग मिलेर काम गर्न उत्सुक छु,’ जुकरबर्गले लेखेका छन् ।
प्रतिक्रिया 4