+
+
Shares

विष्णु पौडेल पक्राउबारे प्रदीप ज्ञवाली– पहिले पक्राउ, अनि अनुसन्धानको अभ्यास गलत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते २०:०६

८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवालीले देशको अनुसन्धान र न्याय निरूपणमा चलिरहेको प्रक्रिया सही नभएका बताएका छन् ।

सोमबार एमाले नेता विष्णु पौडेल पक्राउ परेपछि त्यसतर्फ संकेत गर्दै ज्ञावालीले पहिले पक्राउ गर्ने र त्यसपछि मात्रै अनुसन्धान सुरु गर्ने गलत शृङ्खला लामो समयदेखि चलिरहेको भन्दै असन्तुष्टी पोखेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ज्ञवालीले कानुनी राज्यको स्थापित मान्यता विपरीत पूर्वाग्रह र प्रतिशोधका आधारमा राज्यका निकायहरूले निर्णय गर्न नहुने बताए ।

‘राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने नेकपा (एमाले) को स्थापित मान्यता हो,’ उनले लेखेका छन्, ‘तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ । राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन ।’

पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनुपर्नेमा ज्ञवालीको जोड छ ।

हिजोमात्रै रास्वपा महाधिवेशनमा सहभागी भएका नेता ज्ञवालीले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । उनले सरकार गाडीजस्तै भएको बताउँदै ‘एक्सिलेटर’ मात्रै नहुने र बेला बेलामा ‘ब्रेक’ पनि लगाउन सुझाव दिएका थिए ।

ज्ञवालीको उक्त सुझावमाथि प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी गन्तव्यमा पुगेर मात्रै ब्रेक लाग्ने जवाफ फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?